नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम नेपालको संसदमा प्रतिगामी, राजावादी तथा वैदेशिक शक्तिबाट परिचालित हुनेहरु हावी भएको बताएका छन्।
राष्ट्रिय जनमोर्चा दाङले मंगलबार आयोजना गरेको पत्रकार भेटघाटका क्रममा महामन्त्री सिंहले यस्तो बताएका हुन्।
महामन्त्री सिंहले अहिले मुलुक चौतर्फी घेराबन्दीमा परिरहेको बताए।
‘सदनमा समेत राजावादी, प्रतिगमनकारी र वैदेशिक शक्तिको योजनामा परिचालित दल वा व्यक्तिहरू हाबी हुँदै गइरहेकाले अहिले मुलुक चौतर्फी घेराबन्दीमा परिरहेको छ’ सिंहले भने, ‘सरकारले भ्रष्टाचारको सवालमा केही गर्ने प्रयास गरिरहे पनि उक्त कदममा ब्रेक लगाउन बाह्य शक्तिकेन्द्रको चलखेलसमेत सुरु हुन थालेको छ।’
सिंहले गणतन्त्र, धर्मनिरपेक्षतालगायतका अधिकारलाई मास्ने गरी प्रतिगमनकारी शक्तिहरू सदन र सडकमा शक्ति केन्द्रित गर्दै राजतन्त्र ब्युँताउने प्रयासमा लागिरहेकाले प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताए।
‘राजतन्त्र पक्षधर शक्तिहरूदेखि अहिले भारतीय साम्राज्यवाद र अमेरिकी साम्राज्यवादसम्मले नेपालमा प्रत्यक्ष हस्तक्षेप गर्दै मुलुकको स्वाधीनतासँगै जनताका प्राप्त उपलब्धिलाई मास्ने खेलमा लागेका छन्’ उनले भने।
उनले मुलुकको स्वाधीनता र प्राप्त उपलब्धिको रक्षाका लागि वर्तमान सरकार दरो गरी उभिनुपर्ने बताए।
कार्यक्रममा राजमो लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापा र प्रगतिशील पत्रकार संघका केन्द्रीय सचिवालय सदस्य तथा दाङ जिल्ला अध्यक्ष महेश रिजालको आतिथ्य रहेको थियो।
कार्यक्रमको सञ्चालन राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले गरेका थिए।
Shares

प्रतिक्रिया