ad ad

राजनीति


प्रचण्डसँग सीमा समस्यामा वार्ता गर्न मोदी अनिच्छुक, ईपीजी प्रतिवेदनमा हुँदैछ छलफल

प्रचण्डसँग सीमा समस्यामा वार्ता गर्न मोदी अनिच्छुक, ईपीजी प्रतिवेदनमा हुँदैछ छलफल

पूर्ण बस्नेत
जेठ १७, २०८० बुधबार १८:४०, नयाँ दिल्ली

भारत भ्रमणमा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सीमा समस्याबारे छलफल गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको टिम अनिच्छुक देखिएको छ।

दिल्लीमा भारत सरकार निकट भारतीय जनता पार्टीका केही नेता, सुरक्षा विज्ञ र नेपाल–भारत मामिला विज्ञहरूको बुझाइमा तत्काल कुनै निष्कर्षमा पुग्न नसकिने भएकाले सीमा समस्याबारे छलफल गर्न प्रधानमन्त्री मोदीको टिम अनिच्छुक भएको हो। 

करिब दुई वर्षअघि संसदले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको भूभाग समेटेर नेपालको नयाँ नक्सा जारी गरेपछि भारत यसबारे छलफल गर्नै अनिच्छुक देखिँदै आएको छ। प्रधानमन्त्री दाहालका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले भारतीय पक्ष सीमा समस्याबारे छलफल गर्न अनिच्छुक रहेको स्वीकार गरे। 

प्रधानमन्त्रीस्तरमा दिल्लीमा हुने छलफलहरूमा सीमा समस्याले प्रवेश नै नपाउने धेरैको बुझाइ छ। तर करिब पाँच वर्षदेखि ‘होल्ड’ मा राखिएको इमिनेन्ट पर्सन्स ग्रुप (ईपीजी) को प्रतिवेदनबारे छलफल गर्न भने भारत सरकार तयार देखिएको छ। 

भारतको विदेश मन्त्रालय निकट उच्च स्रोतहरूका अनुसार सीमा समस्याबारे छलफल गर्न नसकिने जानकारी पहिले नै काठमाडौंलाई गराएपछि ‘औपचारिक छलफल नगर्ने’ सहमतिमै प्रधानमन्त्री दाहालको भारत भ्रमण आयोजना गरिएको हो।

चार दिने भारत भ्रमणको क्रममा बुधबार दिउँसो दिल्ली आइपुगेका प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहीबार ११ बजे हैदरावाद हाउसमा दुई पक्षीय वार्ता हुँदैछ। 

बुधबार साँझ साढे ५ बजे प्रधानमन्त्री दाहाल बसेको होटल मौर्यमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनय मोहन क्वात्राले भेटवार्ता गरेका छन्। 

‘तत्काल कुनै समाधान ननिस्कने भएकाले अहिले मोदी र दाहालबीच प्रधानमन्त्री तहमा सीमा समस्याबारे छलफल हुँदैन,’ नेपाल–भारत सम्बन्धबारे भारतीय विज्ञ डा निहार नायकले दिल्लीमा बुधबार भने, ‘तर ईपीजी प्रतिवेदनबारे भने छलफल हुन्छ।’

भारतीय जनता पार्टीका एक नेताका अनुसार तत्काल कुनै निष्कर्षमा पुग्न नसकिने भन्दै प्रधानमन्त्री तहमा सीमा समस्याबारे छलफल गर्दा उपलब्धी नदेखिने भएकाले मोदीको टिमका विज्ञहरूले अहिले यस विषयमा प्रवेश नै नगर्न सुझाव दिएका छन्।

भारतीय पक्षले सीमा समस्यामा अहिले छलफल गरेर सहमति जुटेपनि त्यो नेपालको संसदबाट दुई तिहाइ बहुमतले पास हुने अवस्था नरहेको तर्क अगाडि सारेको छ।

‘अहिले छलफल गरेर सीमा समस्यामा हामी सहमतिमा पुगेपनि नेपालको संसदबाट पास हुने अवस्था छैन,’ भाजपाका एक नेताको भनाइ छ, ‘अहिलेको गठबन्धनसँग दुई तिहाइ बहुमत छैन, प्रमुख विपक्षी दल एमालेले साथ दिने अवस्था छैन।’   

दिल्ली सीमा समस्यामा प्रवेश गर्न नै अनिच्छुक देखिएका बेला काठमाडौंमा भने यही विषयलाई यो भ्रमणको प्रमुख एजेण्डाजस्तो बनाइएको छ। एमाले अध्यक्ष केपी ओलीले ‘नेपालको भूमी फिर्ता ल्याउन पहल नगर्ने भए भारत भ्रमण किन गर्ने’ भनेर प्रश्न उठाएका छन्।

त्यसैले नेपाली पक्षले भने औपचारिक वार्तामा सीमा समस्या प्रवेश नगरे पनि अनौपचारिक कुराकानीमा यो विषय उठाउने तयारी गरेको छ। 

प्रधानमन्त्री दाहालका राजनीतिक सल्लाहकार गजुरेलले दुई देशबीच सीमा समस्या एउटा प्रमुख एजेण्डा रहेकाले अनौपचारिक छलफल हुने दाबी गरे। 

‘भारतीय नेताहरुले हामीलाई भन्ने गरेका छन् कि अब तपाईंहरु कालापानी क्षेत्रबाट पछि फर्कन सक्ने अवस्था छैन। हामी पनि सम्झौता गर्न सक्दैनौँ’, गजुरेलले दिल्लीमा भने, ‘भारतीय पक्ष नेपालको संसदबाट अहिले पास हुन सक्दैन भन्ने तर्क गर्दै सीमा समस्यामा छलफल गर्न अनिच्छुक देखिएको छ। तर प्रधानमन्त्रीको भ्रमणमा यो एउटा मुख्य एजेण्डा भएकाले अनौपचारिक रुपमा भएपनि छलफल त हुन्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .