ad ad

राजनीति


कार्यकर्तालाई देउवाको आश्वासन : खाँणबारे धेरै चिन्ता नलिनू, पुलिसले मात्रै दोषी बनाएर हुँदैन

कार्यकर्तालाई देउवाको आश्वासन : खाँणबारे धेरै चिन्ता नलिनू, पुलिसले मात्रै दोषी बनाएर हुँदैन

फाइल तस्बिर


केशव सावद
जेठ ९, २०८० मंगलबार १८:६, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यकर्तालाई नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेता बालकृष्ण खाँणबारे धेरै चिन्ता नगर्न भनेका छन्।

धुम्बाराही पुगेका भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङसहितको टोलीलाई उनले खाँणबारे धेरै चिन्ता गर्नुनपर्ने बताए।

भेटमा सहभागी एक युवाले सभापति देउवाले पूर्वगृहमन्त्रीसमेत रहेका नेता खाँणबारे चिन्ता नलिन भनेको जानकारी दिए। ‘हामी आज (मंगलबार) धुम्बाराही गएका थियौँ। बालकृष्ण दाइबारे छोटो कुराकानी भएको थियो,’ उनले नेपालखबरसँग भने, ‘तपाईंहरू धेरै चिन्ता नगर्नू। मिडियाले, पुलिसले दोषी बनाएर मात्रै हुँदैन।’ 

कसैलाई पनि बिना प्रमाण दोषी बनाउन नमिल्ने सभापति देउवाको भनाइ थियो।  ‘कसैलाई पनि बिना प्रमाण दोषी बनाउन कहाँ पाइन्छ?,’ उनको भनाइ उद्धृत गर्दै ती नेताले भने। पूर्वगृहमन्त्री खाँणबारे सभापति देउवासँग छलफल गर्न अध्यक्ष गुरुङसँगै संघ र प्रदेशका केही पूर्वसांसद, तरुण दलमा आवद्ध युवा नेताहरू धुम्बाराही पुगेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंले शरणार्थी प्रकरणमा करोडौँ ठगी गरेको आरोपमा समातिएका पूर्वगृहमन्त्री खाँणसहित १६ जना र अन्य फरारविरुद्ध पाँचवटा कसुरमा मुद्दा चलाउने गरी सोमबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ। 

अनुसन्धान प्रतिवेदनमा पक्राउ परेका १६ जना र फरार अन्य १६ जनाविरुद्ध ठगी, सम्पत्ति शुद्धीकरण, संगठित अपराध, राष्ट्रिय हितविपरीतको कसुरमा मुद्दा चलाउनु पर्ने उल्लेख छ। 

पूर्वगृहमन्त्री खाँणसहित सार्वजनिक पद धारण गरेका व्यक्तिहरूलाई भ्रष्टाचार मुद्दा पनि चलाउने गरी प्रतिवेदन सरकारी वकिलसमक्ष पेस गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

उक्त मुद्दा चलाउनु पर्नेमा खाँणसँगै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का पूर्वसुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत रहेका छन्। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा वैशाख २७ गते बिहान पूर्वगृहमन्त्री खाँण पक्राउ परेका थिए। उनलाई प्रहरीले चाबहिलको मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो।  

तत्कालीन गृहसचिव पाण्डेले पूर्वगृहमन्त्री खाँणकै निर्देशनमा आफूले काम गरेको बयान दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। उपराष्ट्रपति कार्यालयमा कार्यरत रहेका सचिव पाण्डेलाई प्रहरीले वैशाख २० गते काठमाडौंकै पेप्सीकोलाबाट पक्राउ गरेको थियो। 

खाँण गृहमन्त्री र पाण्डे गृहसचिव हुँदा कार्यदलको प्रतिवेदन नै हेरफेर गरिएको बताइएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणसहित १६ जना पक्राउ परिसकेका छन्। पक्राउ पुर्जी जारी भएका प्रतीक थापा र निरज राई फरार छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणले कांग्रेसभित्र ध्रुवीकरण बढेको छ। पूर्वगृहमन्त्री खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि कांग्रेस दुई धारमा विभाजित देखिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि खाँणलाई पार्टीले केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने र गर्न नहुने पक्षमा कांग्रेस नेताहरू विभक्त देखिएका हुन्। 

खाँणलाई पदबाट निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने अधिकांश कार्यकर्ताको चाहना भए पनि नेतृत्वमा रहेका र नेतृत्वमा रहिसकेका बहुसंख्यक नेताहरू भने अनुसन्धान परिपक्व हुँदासम्म निलम्बनका लागि हतार गर्न नहुने पक्षमा उभिएका छन्। 

पदाधिकारी र पूर्वपदाधिकारी बैठकहरूमा सहभागी हुँदै आएका नेताहरूमध्ये उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा केन्द्रीय सदस्यबाट खाँणलाई निलम्बन गर्नुपर्ने पक्षमा जोडबल गर्दै आएका छन्। 

खाँण पक्राउ परिसकेपछि सभापति देउवाको निवासमा बसेका पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सहभागी भएका अन्य नेताहरू भने खाँणलाई निलम्बन गर्न नहुने अडानमा देखिएका थिए। 

तत्काल निलम्बन गर्न नहुने पक्षमा रहेकाहरूको तर्क छ–भ्रष्टाचारको आरोप मात्रै लागेकालाई निलम्बन गर्ने परम्परा कांग्रेसमा छैन। यसकारण केन्द्रीय सदस्य खाँणलाई अदालतको अन्तिम फैसला नआउँदासम्म निलम्बन गरिनुहुन्न।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .