ad ad

राजनीति


यस्तो छ बालकृष्ण खाँणले प्रहरीलाई दिएको बयान

कागजातहरु के-के पेश भए मलाई अहिले सम्झना भएन
यस्तो छ बालकृष्ण खाँणले प्रहरीलाई दिएको बयान

उजिर कार्की
जेठ ९, २०८० मंगलबार १७:४४, काठमाडौँ

नक्कली भुटानी शरणार्थी बनाउन भूमिका खेलेर नेपालीको करोेडौं रकम ठगी गरेको आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तत्कालिन गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषद्‌मा के के कागजात पेश भएको आफूलाई थाहा नभएको बताएका छन्।

उनले प्रहरीलाई दिएको बयानमा भनेका छन् :
‘कागजातहरु के–के पेश भए मलाई अहिले सम्झना भएन। नेपाल सरकार कार्य सम्पादन नियामावलीले मन्त्री, सचिव र अन्य पदाधिकारीहरुको कार्य क्षेत्र तोकेको छ। मन्त्रीले आफ्ना केही अधिकार सचिवलाई समेत प्रत्यायोजन गरिएको हुन्छ। तसर्थ मन्त्रालयको अभिलेखहरुको सुरक्षा गर्ने जिम्मेवारी समेत तोकिएको छ, एउटै प्रतिवेदनको एउटै विषयमा फरक व्यहोरा हुन सक्तैन।’

उनको बयान

प्रतिवादीहरुमध्ये टेक नारायण पाण्डे नेपाल सरकारको सचिव भएको कारण चिनेको हुँ, नरेन्द्र केसी मेरो निजी सचिव थिए, टोपबहादुर रायमाझी संविधान सभा सदस्य, प्रतिनिधी सभा सदस्य र पूर्वमन्त्री समेत भएकोले चिनजान छ। म मिति २०७८ साल असार महिनाको २९ गतेदेखि मिति २०७९ पौष महिनासम्म गृहमन्त्रीको रुपमा कामकाज गरेको हुँ। म गृहमन्त्री रहँदा संविधान र कानूनको अधिनमा रही देशमा शान्ति सुरक्षा अमनचयन कायम गर्ने लगायत मन्त्रीले गर्नुपर्ने काम ईमान्दारीपूर्वक सम्पादन गरेको हुँ।

बरामद कालो रङको डायरीमा लेखिएको अंक र अक्षर मेरो हो। सो बाहेक अन्य थप २ वटा कालो रङ, एउटा खैरो रङको डायरी र सम्पत्ति विवरण भरिएका पाना –३८ समेत मेरो हो।
भुटानी शरणार्थी सम्बन्धी समस्याको स्थायी र दीर्घकालिन समाधानको उपायहरू पहिल्याउन बनेको बालकृष्ण पन्थीको संयोजकत्वमा गठित कार्यदलले पेश गरेको प्रतिवेदन सोही कार्यदलका साथै सम्बन्धित निकाय र महाशाखालाई जानकारी होला।

गृहमन्त्रालयको चनं ८४३ मिति २०८०।१।२६ गतेको पत्र साथ प्राप्त कागजातहरू हेर्दा मिति २०७६/०७/०१ मा समितिले प्रस्तुत गरेको उपरोक्त प्रतिवेदनमा संयोजक बालकृष्ण पन्थी, विज्ञ गणेशबहादुर केसी रहेको २ जनाले दस्तखत गरेको प्रतिवेदनमा, तत्कालिन मन्त्रीले तत्कालीन सचिवको नाममा प्रतिवेदनको अध्ययन तथा कार्यान्वयन अगाडि बढाउन हुन भनी तोक लगाई अगाडि बढाएको देखिन्छ, भुटानी शरणार्थी समस्या स्थायी समाधानका उपायहरू पहिल्याउन गठित पूर्वसह सचिव बालकृष्ण पन्थीको संयोजकत्वको कार्यदलले दिएको प्रतिवेदन तत्कालिन गृह मन्त्रीको पालामा लिने कार्य भएको।

भुटानी शरणार्थी समस्या स्थायी सामाधानका उपायहरू पहिल्याउन गठित कार्यदलले दिएको प्रतिवेदन उपर थप छलफल भए पश्चात गरिएका निर्णयहरु कार्यान्वयनका लागि नेपाल सरकार, मन्त्रिपरिषद समक्ष प्रस्ताव पेश गर्न म बाट मिति २०७८।०८।१२ मा स्वीकृत दिई सो प्रस्ताव मन्त्रिपरिषदमा पेश भएको हो।

नेपाल सरकार कार्य सम्पादन नियामावली अनुसार सम्बन्धित विभागले प्रस्ताव उठाउने, सचिवले प्रस्ताव प्रस्तुत गर्छन्, मन्त्रीले सदर गर्ने र मन्त्रिपरिषदले प्रस्ताव पारित गर्ने गरिएको छ। भुटानी शरणार्थी सम्बन्धी समस्या समाधानको उपायहरुको सम्बन्धमा प्रस्ताव मन्त्रिपरिषदमा पेश भयो। कागजातहरु के–के पेश भए मलाई अहिले सम्झना भएन। नेपाल सरकार कार्य सम्पादन नियामावलीले मन्त्री, सचिव र अन्य पदाधिकारीहरुको कार्य क्षेत्र तोकेको छ। मन्त्रीले आफ्ना केही अधिकार सचिवलाई समेत प्रत्यायोजन गरिएको हुन्छ। तसर्थ मन्त्रालयको अभिलेखहरुको सुरक्षा गर्ने जिम्मेवारी समेत तोकिएको छ, एउटै प्रतिवेदनको एउटै विषयमा फरक व्यहोरा हुन सक्तैन। मन्त्रालयको कागज पत्र, प्रतिवेदन, सम्झौता लगायत विभिन्न अभिलेख राख्ने निकाय छुट्याइएको हुन्छ, यो मन्त्रालयको प्रशासनिक जिम्मेवारी हो।

पूर्ववर्ति सरकारले भुटानी शरणार्थी समस्या स्थायी सामाधानका उपायहरू पहिल्याउन गठित कार्यदलको प्रतिवेदन तत्कालीन गृहमन्त्रीले बुझी कार्यान्वयनका लागि अगाडि बढाएको अवस्थामा भुटानी शरणार्थी सम्बन्धी समस्या र समाधानको उपाय सम्बन्धमा मन्त्रिपरिषदमा उक्त समयमा नै प्रस्ताव प्रस्तुत गरेको हो। उक्त प्रस्तावलाई नै निरन्तरता दिएको हो। म गृहमन्त्री भएपछी देशमा शान्ति सुव्यवस्था र अमनचयनका लागि गृहमन्त्रालयका उच्च पदाधिकारी र जिम्मेवार अधिकृतहरुलाई निर्देशन दिँदै आएको सर्वविदितै छ।

यसै सन्दर्भमा भुटानी वा तिब्बती शरणार्थीहरुले गतिविधी नगरुन भनी त्यसका लागी पनि निर्देशन दिँदै आएको हूँ।

शरणार्थीहरुलाई मानवीय प्रबन्ध गर्नु सरकारको दायित्व हो, पछिल्लो पटक भुटानी शरणार्थीहरुलाई अन्तर्राष्ट्रिय दातृ निकायहरुले सहयोग रोकेको अवस्थामालाई जीवन जिउन असहज भएकोले त्यसलाई ध्यानमा राखेर शरणार्थीहरुले पनि सरकारी वा सामुदायिक विद्यालयहरुमा पढ्न पाउने, आधारभूत स्वास्थ्य सेवाको अवसर प्रधान गर्नुका साथै सरकारी अस्पतालमा उचारको सुविधा प्रदान गर्ने, प्रचलित कानूनको अधिनमा रही कानूनको पालना गर्ने गरी स्थानीय तहको स्वीकृतमा सामान्य व्यापार व्यावसाय गर्नुका साथै कृषिजन्य उत्पादन गर्न सामुहिक खेतीका लागी जग्गा लिजको प्रबन्ध गर्ने लगायतका व्यवस्था गरी उनीहरुको जीवन जीउन सहज बनाउन मन्त्रिपरिषदले भुटानी शरणार्थी सम्बन्धी समस्या र समाधानको उपायहरुको सम्बन्धमा प्रस्ताव पास गरिएको हो।

यो प्रस्ताव भुटानी शरणार्थीहरुको व्यवस्थापनका लागी असल मनसायले गरिएको हो। शरणार्थीका नाममा अवान्छनीय गतिविधी रोक्नका साथै कसैलाई पनि भ्रममा नपर्न मन्त्रालयले विभिन्न समयमा परिपत्र समेत गरेको थियो।

यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय, शरणार्थी समन्वय ईकाई बेलडाँगी झापाबाट मिति २०७८/०८/०३ गते भुटानी शरणार्थी शिविर बेलडाँगीका सम्पूर्ण शिविरबासीहरुलाई सूचना निकाली जानकारी समेत गराइएको, यसै गरी समय-समयमा निर्देशनहरु पठाई रहेको हो। भुटानी शरणार्थीको नाममा नेपालीहरूलाई मिसाई भुटानी शरणार्थी बनाई तेस्रो देश पठाई दिन्छौँ भनी रकम लिएको भन्ने आरोपमा मेरो संलग्नता छैन, मेरो मोबाइल फ्याक्ट्री रिसेट कसरी भयो मलाई थाहा भएन।

म गृहमन्त्रीको ओहोदामा हुँदा तथा मन्त्रीको ओहोदामा नहुँदा समेत नेपालको छवी उच्च राख्ने काम गरेको छु। कोभिडको समयमा भुटानी शरणार्थी तथा तिब्बतियन शरणार्थी समेतलाई भ्याक्सिन लगाउन नेपाली नागरिकता हुनुपर्ने अवस्थामा समेत मैले पहल गरी निजहरुलाई भ्याक्सिन लगाउने कार्य गरेको हुँ। जसको अन्तर्राष्ट्रिय समुदायले समेत प्रशंसा गरेका थिए। गैह्र भुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्य ठिक होइन, मैले सो कार्य सोच्न पनि सक्तिन भनी प्रतिवादी बालकृष्ण खाँणले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान कागज।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .