नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार बनेको दुई महिना पुग्दा नपुग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुटु प्रत्यारोपणतिर लागेको टिप्पणी गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले सो कुरा बताएका हुन्।
‘नेकपा एमालेको पहलमा राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरुको प्रस्तावमा नियुक्त हुनुभएका प्रधानमन्त्रीज्यू, भलै दुई महिना पुग्दा नपुग्दै सरकारको मुटु प्रत्यारोपणतिर लाग्नुभयो,’ ओलीले अघि भने, ‘मुटु प्रत्यारोपण भइसकेको भएपनि नेतृत्व उहाँकै भएकाले नीति तथा कार्यक्रमको समर्थन गर्ने विशाल हृदयका साथ मैले दस्तावेजको प्रस्तुती सुनेँ र पढेँ पनि।’
तर, सरकारले नीति तथा कार्यक्रममा पूर्ण रुपमा चुकेको भन्दै उनले कुनै आधार नै नभएको बताए।
‘हामी जनप्रतिनिधिमार्फत नेपाली जनतासमक्ष नेपाल र जनताको हितका लागि सरकारले गर्ने सर्वाधिक महत्वका उल्लेखनीय कार्यको घोषणा यस दस्तावेजमा समेटिएको हुनुपर्छ,’ ओलीले भने, ‘सरकारले यस अवधिमा मुख्य रुपमा के काम गर्यो। कसरी गर्छ? के उपलब्धी हासिल गर्छ? आम जनताको जीवनस्तरमा कस्तो असर पर्छ? नीति कार्यक्रमले कस्तो योगदान पुर्याउँछ? यस्ता कुराहरुको संकल्प गरिएको हुन्छ र हुनुपर्छ।’
आम जनताले तत्कालिन रुपमा यसै दस्तावेजका आधारमा सरकारलाई हेरेको हुने उनले बताए।
Shares

प्रतिक्रिया