ad ad

राजनीति


गुरु घिमिरेले भने : १७ महिना कुर्दा पनि कांग्रेसमा सुधारको कुनै गुञ्जायस देखिएन

गुरु घिमिरेले भने : १७ महिना कुर्दा पनि कांग्रेसमा सुधारको कुनै गुञ्जायस देखिएन

फाइल तस्बिर


नेपालखबर
जेठ २, २०८० मंगलबार १६:५०, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले नेतृत्वले पार्टीलाई सुधार्ने कुनै सम्भावना नदेखेपछि बाहिरको विकल्प रोजिएको बताएका छन्। 

कांग्रेस रुपान्तरण अभियानको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यसो भनेका हुन्। 

उनले केन्द्रीय कार्य समितिमा कुरा राख्दा पनि सुधारको कुनै सम्भावना नदेखिएपछि अब आफैं अभियान थालिएको पनि बताए। 

‘केन्द्रीय कार्यसमितिमा कुरा नराखेर किन बाहिरबाट अभियान सुरु गरेको कुरा उठेको छ। कतिपय बेला परम्परागत सम्भावनाबाट सुधार हुँदैन। त्यही भएर हामी बाहिरबाट सुधारको खोजीमा लागेका हौँ’, उनले भने, ‘बेलायतमा पनि राष्ट्रिय आवश्यकता भनेर राजालाई मृत्युदण्ड दिएका थिए। यसरी नै पार्टी चलिरहने हो भने आन्तरिक जीवन लथालिङ्ग हुन्छ। त्यहीकारण अब हामीले बाहिरबाट सुधार अभियान थाल्दैछौँ।’

कांग्रेसले पटक पटक निर्वाचन हार्दा पनि नेतृत्वले नचेतेको उनको भनाइ थियो। ‘हामीले पटक पटक निर्वाचन हारिरहेका छौँ। ०६४ मा हार्‍यौँ, ०७४ मा पनि हार्‍यौँ’, घिमिरेले भने, ‘अहिले गठबन्धन नगरेको भए कांग्रेसको हालत के हुन्थ्यो? त्यो पर्दापछाडि छ।’

केन्द्रीय कार्यसमितिले सुधारका उपाय नखोजेपछि आफूहरुको कदम बाध्यतावश आएको उनले बताए। ‘केन्द्रीय कार्य समितिले सुधारको कुनै गुञ्जायस देखाएन। केन्द्रीय कार्य समितिबाट पार्टीका सुधारका कुनै कार्यक्रम आएनन्’, उनले भने, ‘हामीले १७ महिना कुर्‍यौँ। तर नेतृत्वले पार्टी सुधारका लागि कुनै पहल नगर्ने बुझेपछि हामी यो अभियानमा लागेका हौँ।’ 

देशभरका कांग्रेस कार्यकर्ताको आग्रहपछि यो अभियान थालिएको उनको भनाइ छ। ‘देशभरका साथीहरुले केही गर्नुपर्‍यो भनेपछि हामीले यो कदम चालेका हौँ’, उनले थपे, ‘नेतृत्वलाई कुर्दा कुर्दा अब उपाय नलागेपछि हामी यो निर्णयमा पुग्यौँ। यसबाट अब पार्टीमा सुधार हुन्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .