ad ad

राजनीति


तीन दलबीच संसदीय सुनुवाइ समितिमा सहमति

तीन दलबीच संसदीय सुनुवाइ समितिमा सहमति

बालुवाटारमा बसेको तीन दलको बैठक। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
बैशाख ३१, २०८० आइतबार १२:२४, काठमाडौँ

तीन ठूला दलका नेताहरुको बैठकले संसदीय सुनुवाइ समितिको नेतृत्वमा सहमति जुटाएका छन्। 

आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली  कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकले समितिको नेतृत्वमा सहमति जुटाएका हुन्।

बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले तीन दलले संसदीय सुनुवाइ समितिको नेतृत्वको तय गरेको बताए। तर यसबारे विस्तृत विवरण उनले खुलाएनन्। 

यो बैठकले अन्य संसदीय समितिका सभापतिहरुमा पनि सहमति जुटाएको उनले बताएका छन्। 

‘तीन दलबीच संसदीय सुनुवाइ समिति र अन्य समितिको नेतृत्वमा करिब सहमति जुटेको छ’, उनले नेपालखबरसँग भने, ‘अब कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदीय समितिका सभापतिहरुको नामलाई अन्तिम रुप दिनेछ।’

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि संसदीय सुनुवाइ समितिको नेतृत्व तय गरिएको बताएका छन्। उनका अनुसार अन्य संसदीय समितिका सभापतिहरुको नामको टुंगो आजै बस्ने कार्यव्यवस्था परामर्श समितिले गर्नेछ।

यो बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए। 

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, दलका उननेता सुवास नेम्वाङ र उपाध्यक्ष  विष्णु पौडेल पनि सहभागी थिए।

त्यसैगरी नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सचेतक हितराज पाण्डे पनि बैठकमा सहभागी थिए। 

यसअघि सभामुख देवराज घिमिरेले तीन दिनभित्र संसदीय सुनुवाइ समितिको नेतृत्व टुंग्याउन दलहरूलाई आग्रह गरेका थिए। 

उनले साताअघिको आइतबार बिहान संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसदीय सुनुवाइ समितिसहित संयुक्त समिति तीन दिनभित्र टुंग्याउन दलहरूलाई आग्रह गरेका थिए। तर साता बित्दा पनि दलहरुले सहमति जुटाउन सकेका थिएनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .