ad ad

राजनीति


गिरिजासँग नजिकिएर उदाएका खाँण यसरी बनेका थिए देउवाको विश्वासपात्र

गिरिजासँग नजिकिएर उदाएका खाँण यसरी बनेका थिए देउवाको विश्वासपात्र

फाइल फोटो


केशव सावद
बैशाख २७, २०८० बुधबार १८:२, काठमाडौँ

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। चाबहिलको मैजुबहालस्थित निवासबाट उनलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो।  

काठमाडौं जिल्ला अदालतले खाँणलाई चार दिन म्याद थप गरेर हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। महान्यायाधिवक्ता दीनमणि पोखरेलले पूर्वगृहमन्त्री खाँणलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन चार दिनको म्याद लिइएको जानकारी दिए।

जिल्ला प्रहरी परिसर काठमाडौंले ५ घण्टा लामो बयानपछि खाँणलाई स्वास्थ्य परीक्षणका लागि तीनकुनेस्थित कान्तिपुर अस्पताल लगेको थियो। त्यसपछि उनलाई जिल्ला अदालत लगेको थियो। खाँणसँगै उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले म्याद थपको अनुमति लिएको छ।

तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री खाँणकै निर्देशनमा आफूले काम गरेको बयान दिएपछि प्रहरीले उनलाई मैजुबहालबाट नियन्त्रणमा लिएको थियो। उनलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा राखेको छ। 

उपराष्ट्रपति कार्यालयमा कार्यरत रहेका सचिव पाण्डेलाई प्रहरीले वैशाख २० गते काठमाडौंकै पेप्सीकोलाबाट पक्राउ गरेको थियो। खाँण गृहमन्त्री र पाण्डे गृहसचिव हुँदा कार्यदलको प्रतिवेदन नै हेरफेर गरिएको बताइएको छ। 

कार्यदलका संयोजक र सदस्यले सोमबार बयानका क्रममा गृह मन्त्रालयले प्रहरीलाई पठाएको प्रतिवेदन आफूहरूले तयार गरेको नभई अर्कै भएको बयान दिएका थिए। कार्यदलका संयोजक बालकृष्ण पन्थी तथा सदस्यद्वय गणेश केसी र दीपकप्रसाद न्यौपानेसँग प्रहरीले आइतबारदेखि बयान लिन सुरु गरेको थियो। 

कांग्रेसका प्रभावशाली नेताहरुमध्ये पर्ने खाँण सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिँदै आएका नेता हुन्। उनको पक्राउले कांग्रेसको संस्थापन समूहमा धक्का लागेको छ। प्रहरीले उनलाई हिरासतमा लिएर गर्ने अनुसन्धानबाट अभियोग प्रमाणित नभए पनि खाँणको राजनीतिक जीवनमा भने प्रश्नहरु उठिराख्ने निश्चितप्रायः छ। 

पार्टी संगठनदेखि भ्रातृ संगठनहरुमा बलियो प्रभाव भएका नेता खाँणले १४ औँ महाधिवेशनअघि आफूलाई सभापति शेरबहादुर देउवाको उत्तराधिकारीका रुपमा प्रस्तुत गर्दै आएका थिए। तर, आफ्नै जिल्लाको प्रदेश सभा क्षेत्रीय अधिवेशनमा देखिएको कमजोर नतिजाले महामन्त्रीमा जितेर देउवाको उत्तराधिकारी बन्ने उनको चाहनामा धक्का पुगेको थियो।

खाँण बहालवाल गृहमन्त्री रहेकै अवस्थामा गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा रुपन्देही–३ बाट प्रतिनिधि सभा निर्वाचनमा समेत पराजित हुन पुगेका थिए। उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहराले २ हजार बढी मतले पराजित गरिदिएका थिए। 

राप्रपा नेता बोहरा ३६ हजार ७१७ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा तत्कालीन गृहमन्त्री खाँणले ३४ हजार ३६ मत प्राप्त गरेका थिए। 

२०७४ को निर्वाचनमा भने उनी समानुपातिक प्रणालीमार्फत् प्रतिनिधि सभा सदस्य बनेका थिए। खाँण २०७८ असारदेखि २०७९ पुससम्म गृहमन्त्रीको जिम्मेवारीमा थिए। त्यसअघि २०७० को संविधान सभा निर्वाचनमा खाँण रूपन्देही–३ बाटै निर्वाचित निर्वाचित भएका थिए। उनी २०७३ को पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद्मा रक्षामन्त्री थिए।

२०७४ को निर्वाचनमा समानुपातिकतर्फ सांसद रहेका खाँणलाई संसदीय दलको नेता रहेका सभापति देउवाले प्रमुख सचेतक बनाएका थिए। 

उनी २०३३ सालमा कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीतिमा संगठित भएका थिए। उनी नेविसंघ रुपन्देहीको जिल्ला अध्यक्ष हुँदै २०३९ सालमा नेविसंघको केन्द्रीय समिति सदस्य बनेका थिए। 

२०४३ सालमा त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति रहिसकेका खाँण २०४४ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष भएका थिए। उनी नेविसंघको छैटौँ केन्द्रीय अध्यक्ष हुन्। नेविसंघको अध्यक्षको हैसियतमा उनले २०४६ को जनआन्दोलनमा विद्यार्थीको नेतृत्व गरेका थिए। 

खाँणअघि बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, विमलेन्द्र निधि, शेरबहादुर देउवा र विपिन कोइरालाले नेविसंघको नेतृत्व सम्हालेका थिए। उनीपछि नेविसंघको नेतृत्व हाल परराष्ट्रमन्त्री रहेका कांग्रेस केन्द्रीय सदस्य एनपी साउदको काँधमा आएको थियो। 

२०५४ मा कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको अध्यक्ष बनेका खाँण २०५६ सालदेखि हालसम्म कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य रहँदै आएका छन्। २०४८ को संसदीय निर्वाचनमा रूपन्देही–३ बाट विजयी खाँण २०५१ को आमनिर्वाचनमा पनि उम्मेदवार थिए। 

सुरुमा गिरिजाप्रसाद कोइरालासँग निकट रहेर नेविसंघ र तरुण दलमा केन्द्रीय अध्यक्ष बनेका खाँणले २०५८ सालमा कांग्रेस विभाजन हुँदा देउवालाई साथ दिएका थिए। त्यसयता नेता खाँणले सभापति देउवाको साथ छाडेका छैनन्। 

पार्टी एकतापछि प्रकाशमान सिंहलगायतका नेताहरुले साथ छाड्दा कमजोर बने पनि उनी देउवा समूहमै रहने नेतामा पर्दछन्। देउवा २०७२ सालमा सम्पन्न कांग्रेसको १३ औँ महाविधेशनबाट सभापतिमा निर्वाचित भएपछि खाँण शक्तिशाली बनेका थिए। सभापति देउवाले उनलाई शिक्षा राज्यमन्त्री, सिँचाइमन्त्री, रक्षामन्त्री र गृहमन्त्री बनाइसकेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .