नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पनि पक्राउ परेपछि राजनीतिक दलका नेताहरूबाट विभिन्न प्रतिक्रिया आइरहेका छन्।
यसै क्रममा नेकपा एमालेका नेता विष्णु रिजालले कडा टिप्पणी गरेका छन्।
खाँण पक्राउपछि बुधबार एमाले नेता रिजालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘जुन देशमा गृहमन्त्री र गृहसचिव नै मानव तस्करीमा लाग्छन्, प्रधानमन्त्री/मन्त्रीका पत्नी नै तस्करीमा लाग्छन्, यसभन्दा धिक्कार केलाई भन्ने होला?’
सोही प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई आजै एमालेले पार्टीको सचिव पदबाट निलम्बन गरेको छ।
एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख रिजालले देशकै अनुहारमा कालो पोतिने नक्कली शरणार्थी प्रकरणमा संलग्न जोसुकै भए पनि कारबाही गरिनुपर्ने बताएका छन्।
उनी भन्छन्, ‘कानुनले बाटो लिनबाट कसैले रोक्नुहुन्न। देशको अनुहारमा पोतिएको कलंक पखाल्दा जो जो पर्छन्, प्रहरीले निर्वाध छानबिन गर्नुपर्छ।’
Shares

प्रतिक्रिया