ad ad

राजनीति


जलवायु परिवर्तनको असरबारे स्थानीयमा पर्याप्त जानकारी छैन : उपसभामुख

जलवायु परिवर्तनको असरबारे स्थानीयमा पर्याप्त जानकारी छैन : उपसभामुख

नेपालखबर
बैशाख २३, २०८० शनिबार २०:५८, काठमाडौँ

जलवायु परिवर्तनले स्थानीयमा पारेको असरबारे जानकारी लिन उपसभामुख इन्दिरा रानामगर, सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लसहितको टोली डोल्पाको फोक्सुण्डो क्षेत्रमा पुगेको छ।

टोलीले दुनैहुँदै शे-फोक्सुण्डो ताल क्षेत्र पुगी स्थानीयसँग भेटघाट र अन्तक्रिया गरेको छ।

शे फोक्सुण्डो गाउँपालिकाका पदाधिकारी, स्थानीय समुदायबीच भएको अन्तक्र्रिया उपसभामुख रानामगरले जलवायु परिवर्तनले बाढी पहिरो गएको, कृषि र पर्यटनमा प्रत्यक्ष असर पुर्‍याएको बारे स्थानीयमा त्यसबारे पर्याप्त जानकारी नभएको बताइन्।

‘जलवायु परिवर्तनले यस क्षेत्रमा ठूलो समस्या पारेको छ। प्रकृतिको संरक्षण हुन सकेको छैन। त्यसले पर्यटनलाई प्रभावित बनाएको छ। यसलाई रोक्न सबैको सहकार्य जरुरी छ’, उनले भनिन्।

वातवरणीय न्यायको क्षेत्रमा काम गर्दै आएको साथसाथै फाउण्डेशनले शुक्रबार फोक्सुण्डो ताल परिसरमा आयोजना गरेको कार्यक्रममा रानामगरले भनिन्।

कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले प्रकृतिको संरक्षित हुने अधिकार रहेको र यसबारे अदालतले यसबारे विभिन्न निर्णय गरेको बताइन्।

‘प्रकृतिको पनि आत्मसम्मान हुन्छ। त्यहाँका समुदाय, जातजातिको भावना अनुसार संरक्षित हुने अधिकार हुन्छ। यो विषय पनि जलवायु न्यायसँग जोडिएको छ, नेपालको हिमाल, ताल जोगाउनु नेपालीका लागि मात्र नभै विश्व समुदायको लागि आवश्यक छ’, उनले भनिन्। 

न्यायाधीश मल्लले सरकारले विशेषरुपमा यसतर्फ ध्यान दिनुपर्ने बताइन्।

राष्ट्रियसभाका सांसद एवं पूर्वपरराष्ट्र मन्त्री डा विमला राई पौडेलले डोल्पा यात्राबाट जलवायु परिवर्तनले फोक्सुण्डोसहितका क्षेत्रमा परेको प्रत्यक्ष असर बुझ्ने अवसर मिलेको बताइन्। उनले यसबारे संसदमा आवाज उठाउने बताइन्।

शे फुक्सुण्डो गाउँपालिकाका अध्यक्ष दावा सन्दुक गुरुङ, वडा न ८ का वडा अध्यक्ष निमा लामालगायतले केन्द्रबाट आएको टोलीसमक्ष ताल संरक्षण गर्नुपर्ने, जग्गाको मुआब्जा पाउनुपर्ने, पदयात्रा व्यवस्थित बनाउनुपर्ने, पहिरोलगायत जोखिम न्यूनिकरणमा राज्यले ध्यान दिनुपर्नेलगायतको मागसहित ज्ञापनपत्र पेश गरेको थियो। 

वन मन्त्रालय, शे फुक्सुण्डो गाउँपालिका, नेपाल टेलिकम, नेपाल, दूरसञ्चार प्राधिकरण, डब्ल्यूडब्ल्यूएफसहितको सहकार्य र समन्वयमा भएको कार्यक्रममा स्थानीयले जलवायु परिवर्तनका असर र समस्या राखेका थिए। 

आयोजक संस्था साथसाथैका अध्यक्ष प्रजिता कार्कीले स्थानीय जनताले भोग्नुपरेका समस्यालाई सुझावका रुपमा लिई सरोकारवाला निकायको ध्यानाकर्षण गराउने र यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .