नक्कली भुटानी शरणार्थी बनाई ठगी प्रकरणमा आफ्नै पार्टीका ठूला नेताहरूलाई अभियाेग लागिरहेका बेला नेकपा एमालेका नेताद्वय विष्णु रिमाल र सूर्य थापाले घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउन नहुनेमा जोड दिएका छन्।
उक्त प्रकरणमा एमाले उपाध्यक्ष रामबहादुर थापा गृहमन्त्री भएका बेला सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई र एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई प्रहरीले पक्राउ गरिसकेको छ भने टोपबहादुरलाई पनि पक्राउ गर्न प्रहरीले खोजिरहेको छ।
यस्तै तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक र इन्द्रजितका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ। उनीहरू हाल फरार छन्।
यही बीच एमालेका उपमहासचिव रिमाल र केन्द्रीय सदस्य सूर्य थापाले निर्दाेष फस्न नहुने र दोषी उम्किन नहुने धारणा राखेका हुन्।
‘भुटानी शरणार्थी प्रकरणमा होस् वा अन्य कुनै, कानुनभन्दा माथि कोही हुँदैनन्। उन्मुक्ति कसैलाई पनि हुनुहुन्न’, एमाले उपमहासचिव रिमालले बिहीबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘निर्दोष नफसुन्, कोही दोषी नउम्किउन्।’

यस्तै एमाले केन्द्रीय सदस्य थापा लेख्छन्, ‘व्यक्ति कसैको मुख नहेरी भन्नैपर्छ– गैरकानुनी काम गर्ने, गराउने र संलग्न हुने सबै अपराधीहरू हुन्। यसमा निर्दोष कसैलाई फसाउनु हुँदैन र कोही पनि अपराधीले उन्मुक्ति पाउनु हुँदैन।’

एमालेका उपाध्यक्ष रामबहादुर थापा र सचिव टाेपबहादुर रायमाझी दुवै पूर्वमाओवादी हुन्।
Shares

प्रतिक्रिया