ad ad

राजनीति


देश दौडाहाको तयारीमा कांग्रेसको तेस्रो पुस्ता

देश दौडाहाको तयारीमा कांग्रेसको तेस्रो पुस्ता

केशव सावद
बैशाख २२, २०८० शुक्रबार ९:२, काठमाडौँ

नेपाली कांग्रेसमा पार्टी सुधार र रुपान्तरणको बहस चर्किदै जाँदा तेस्रो पुस्ताका नेताहरु देश दौडाहाको तयारीमा जुटेका छन्। पार्टी सुधार र रुपान्तरणका लागि नेतृत्वलाई दबाब दिन उनीहरु लिखित दस्तावेजसहित देश दौडाहाको तयारीमा लागेका हुन्। 

देशका प्रमुख सहरहरुमा कार्यक्रम गर्ने गरी तेस्रो पुस्ताका नेताहरु संघीय राजधानी काठमाडौँमा लिखित दस्तावेजको एजेन्डा तयार गरिरहेका छन्। पार्टी सुधार र रुपान्तरणका लागि देश दौडाहाको तयारी स्वरुप उनीहरुले दुई चरणको छलफल सम्पन्न गरिसकेका छन्। 

देश दौडाहाको तयारीका लागि दुई चरणको छलफल सम्पन्न भइसकेको र शुक्रबार फेरि छलफल गरेर कार्यक्रमलाई अन्तिम रुप दिइने युवा नेता गुरुराज घिमिरेले जानकारी दिए। 

केन्द्रीय सदस्य मधु आचार्यसँगै युवा नेताहरु गुरुराज घिमिरे, भुपेन्द्रजंग शाही, रञ्जित कर्ण, सुवास पोखरेल, विनोद कायस्थलगायतका नेताहरुले लिखित दस्तावेजका लागि एजेन्डाहरु तयार पारिरहेका छन्। घिमिरेले शुक्रबार बस्ने बैठकमा नेताहरुले तयार पारेका एजेन्डाहरुमाथि छलफल गरेर लिखित दस्तावेज तयार गरिने बताए। 

‘कसरी अघि बढ्ने भनेर लिखित दस्तावेज तयार गरेर जाने हो,’ उनले भने, ‘भोलि (शुक्रबार) बसेर साथीहरुले तयार गरेका प्रस्तावहरु कम्पाइल गरेर दस्तावेज बनाउँछौँ।’

केन्द्रीय सदस्य आचार्यले पनि लिखित दस्तावेजको खाका बनाएर देशव्यापी अभियानमा जाने बताए।
 
‘पार्टी सुधारका लागि एजेन्डा बनाउने प्रक्रियामा छौँ,’ उनले भने, ‘खाका तयार भइसकेपछि देशव्यापी जान्छौँ।’ 

तेस्रो पुस्ताका नेताहरुले आगामी जेठ १५ गतेसम्म देशका २० देखि २५ सहरहरुमा पुग्ने लक्ष्यका साथ देश दौडाहाको कार्यतालिका तयार गरिने बताएका छन्। देश दौडाहा सुरु गर्ने र सम्पन्न गर्ने कार्यतालिका अहिले नै निश्चित भने भइसकेको उनीहरुको भनाइ छ। 

यद्यपि, एक दिन दुई सहर भ्याउने गरी देश दौडाहाको कार्यतालिका बनाइने नेताहरुको तयारी छ। 

‘कहिलेबाट सुरु गर्ने भनेर टुंगो त भइसकेको छैन। तर, जेठ १५ सम्म भ्याइसक्ने लक्ष्य छ। त्यसपछि त वर्षा सुरु हुन्छ,’ नेता घिमिरे भन्छन्, ‘ठूला सहरहरुका २०–२५ ठाउँमा कार्यक्रम गर्छौँ। एकै दिन दुई ठाउँमा भ्याउने गरी तयारी गर्छौँ।’ 

लिखित दस्तावेजको गृहकार्य गरिरहेका केन्द्रीय सदस्य आचार्य पनि सातै प्रदेशहरुका कार्यक्रम गरिने बताउँछन्। उनले प्रदेशहरुका कार्यक्रम सम्पन्न गरेर केन्द्रमा पनि पार्टी सुधार र रुपान्तरणका लागि कार्यक्रम आयोजना गरिने बताए। 

देश दौहाडा अभियान कस्तो हुन्छ? आचार्य भन्छन्, ‘७ प्रदेशका केही सहरहरुमा कार्यक्रम हुन्छ। त्यसपछि केन्द्रमा पनि गर्छौँ। त्यसलाई नेतृत्वले कसरी लिन्छ, त्यसैबाट अभियानलाई कस्तो स्वरुप दिने भन्ने निर्णय गर्छौँ।’ 

देश दौडाहाको तयारीमा जुटेका नेताहरु इतर समूहनिकट मानिन्छन्। तर उनीहरुले पार्टी सुदृढीकरणका लागि सुरु गरिने अभियानमा पार्टीका सबै समूहका नेताहरु समेटिने बताएका छन्। 

‘हाम्रो अभियान गुट निरपेक्ष अभियान हो। कसैलाई सिध्याउन र कसैलाई बनाउनका लागि हाम्रो अभियान होइन,’ नेता घिमिरे भन्छन्, ‘यसमा सबैलाई जोड्न खोजेका छौँ। तेस्रो पुस्ताका हामीहरु पार्टी मजबुत बनाउन गुट–उपगुट नभनेर एकजुट भएर जान्छौँ।’ 

युवा नेताहरु पार्टी सुधार र रुपान्तरणका लागि टालटुले अवस्थाले नहुने भन्दै आधा दर्जन विषयमा केन्द्रित भएर एजेन्डा बनाइरहेका छन्। उनीहरु पार्टीको क्रियाशील सदस्यता प्रणाली, आन्तरिक र बाह्य निर्वाचन प्रणाली परिमार्जन गर्नुपर्ने, प्रत्यक्ष प्रणालीबाट नेता चयन गर्नुपर्ने, सम्बन्धित तहका क्रियाशील सदस्यहरुले नै उम्मेदवार छान्नु पर्ने विषयमा केन्द्रित भएर पार्टी रुपान्तरणको प्रस्तावहरु तयार गरिरहेका छन्। 

‘सामान्य औषधि उपचारले समाधान हुने अवस्था देखिँदैन। व्यापक लोकतान्त्रिकीकरणको बाटोमा लैजानु पर्छ,’ केन्द्रीय सदस्य आचार्य भन्छन्, ‘यसलाई हामीले रुपान्तरणकै चरण मानेका छौँ। ५–६ सेक्टरमा प्राथमिकता दिएर छलफल अगाडि बढाउने काम भइरहेको छ।’

यसअघि संस्थापन इतर समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालाले वैशाख दोस्रो साता गृहनगर विराटनगर पुगेर १४ औँ महाधिवेशनअघिको आफ्नो देशव्यापी अभियान ब्युँताउने घोषणा गरेका थिए।  

उक्त अभियान अन्तर्गत नेता कोइरालाले जिल्ला, निर्वाचन क्षेत्र र गाउँ–गाउँ पुगेर जनताका कुरा सुन्ने र पार्टीका नेता–कार्यकर्तासँग संवाद गर्ने बताइएको छ। उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जनतासँग कांग्रेस जोड्ने मूल लक्ष्यका साथ देशव्यापी अभियान विराटनगरबाट सुरू गरिएको बताएका छन्। 

कोइरालाको सचिवालयले जनतासँग कांग्रेस जोड्ने अभियानलाई १४ औँ महाधिवेशनअघि नेता कोइरालाले गरेको देशव्यापी अभियानकै निरन्तरता भनेको छ। 

‘पहिले जसरी जुन तहमा पुगेर नेता–कार्यकर्ताहरुको सल्लाह, सुझाव लिनुहुन्थ्यो। फेरि त्यसैगरी सरसल्लाह लिने भन्ने कुरा हो,’ थपलिया भन्छन्।  

नेता कोइरालाले पार्टीको १३ औँ महाधिवेशनलगत्तै देशव्यापी अभियान सुरू गरेका थिए। उक्त अभियानअन्तर्गत उनी ६९ जिल्लाहरुमा पटक–पटक पुगेका थिए। पार्टीका अन्य नेताहरुका साथ ती जिल्लाहरुमा पुगेर कोइरालाले जनता र कांग्रेसका नेता–कार्यकर्ताहरूसँग छलफल, अन्तक्र्रिया गरेका थिए।

मूलधारका दलहरु झस्किने गरी उपनिर्वाचनको नतिजा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा गएपछि कांग्रेसमा सुधार र रुपान्तरणको बहस सुरु भएको छ। पार्टीबाट राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलको गृह क्षेत्रमा अकल्पनीय पराजय बेहोर्न परेपछि कांग्रेसमा नेताहरुले रुपान्तरणको बहस सुरु गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .