ad ad

राजनीति


कांग्रेसलाई जनतासँग जोड्ने भन्दै शेखरले ब्युँताए महाधिवेशनअघिको देशव्यापी अभियान

कांग्रेसलाई जनतासँग जोड्ने भन्दै शेखरले ब्युँताए महाधिवेशनअघिको देशव्यापी अभियान

केशव सावद
बैशाख १८, २०८० सोमबार १६:१, काठमाडौँ

नेपाली कांग्रेसमा रुपान्तरणको बहस चर्किंदै जाँदा संस्थापन इतर समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालाले देशव्यापी अभियान सुरु गरेका छन्। कांग्रेसलाई जनतासँग जोड्ने लक्ष्यका साथ उनले गृहनगर विराटनगरबाट देशव्यापी अभियान सुरु गरेका हुन्। 

अभियान अन्तर्गत नेता कोइरालाले जिल्ला, निर्वाचन क्षेत्र र गाउँ–गाउँ पुगेर जनताका कुरा सुन्ने र पार्टीका नेता–कार्यकर्तासँग संवाद गर्ने बताइएको छ। उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जनतासँग कांग्रेस जोड्ने मूल लक्ष्यका साथ देशव्यापी अभियान विराटनगरबाट सुरू गरिएको बताए। खाका बनाएरै अभियानको सुरुवात भने नगरिएको उनको भनाइ छ। 

‘यसको मूल लक्ष्य भनेकै जनतासँग पार्टी जोडिनु पर्यो भन्ने हो,’ थपलिया भन्छन्, ‘तर, खाका नै बनाएर अभियान गर्न लागिएको भने होइन।’

कोइरालाको सचिवालयले जनतासँग कांग्रेस जोड्ने अभियानलाई १४ औँ महाधिवेशनअघि नेता कोइरालाले गरेको देशव्यापी अभियानकै निरन्तरता भनेको छ। 

‘पहिले जसरी जुन तहमा पुगेर नेता–कार्यकर्ताहरुको सल्लाह, सुझाव लिनुहुन्थ्यो। फेरि त्यसैगरी सरसल्लाह लिने भन्ने कुरा हो,’ थपलियाले भने। 

नेता गुरुराज घिमिरेका अनुसार कोइरालाले जिल्लाहरुमा पुगेर पार्टीका विभिन्न तहका नेता, भ्रातृ तथा शुभेच्छुक संगठनका नेता, व्यावसायिक र पेसागत क्षेत्रका मानिसहरुसँगै गाउँ–गाउँमा पुगेर पार्टीका क्रियाशील सदस्यहरुसँग भेटघाट गर्ने गर्दछन्। 

‘महाधिवेशनअघिको अभियानमा उहाँ पार्टीका विभिन्न तहका साथीहरु, भ्रातृ र शुभेच्छुक संगठनका साथीहरु, गैरराजनीतिक क्षेत्र जस्तै व्यावसायिक, पेसागत क्षेत्रका व्यक्तिहरु, गाउँ पुगेर क्रियाशील सदस्यहरुसम्म भेट्नु हुन्थ्यो,’ अघिल्लो अभियानमा कोइरालासँगै जिल्लाहरु पुगेका नेता घिमिरे भन्छन्।  

नेता कोइरालाले पार्टीको १३ औँ महाधिवेशनलगत्तै देशव्यापी अभियान सुरू गरेका थिए। उक्त अभियानअन्तर्गत उनी ६९ जिल्लाहरुमा पटक–पटक पुगेका थिए। पार्टीका अन्य नेताहरुका साथ ती जिल्लाहरुमा पुगेर कोइरालाले जनता र कांग्रेसका नेता–कार्यकर्ताहरूसँग छलफल, अन्तर्क्रिया गरेका थिए।

नेता कोइराला जनताका माझमा पुगेर जनताको चाहनाअनुसार पार्टीलाई अगाडि बढाउन आफूले देशव्यापी अभियान सुरु गरेको बताए। 

‘जसरी मैले पहिला गरेको थिएँ त्यसै गरेर फेरि अभियान सुरु गरेको हो,’ उनको भनाइ छ, ‘अब हामीले के भन्ने होइन, साथीहरुले के भन्नुहुन्छ त्यसअनुसार जानु पर्छ। जनताको माझमा हामी पुगेर जनताले के खोजेको छ, त्यो कुरा हामीले लिएर अगाडि पुग्नु पर्छ। अब हामीले माथिबाट थोपरेर हुन्न।’ 

१३ औँ महाधिवेशनलगत्तै सुरु भएर १४ औँ महाधिवशेनसम्म चलेको उक्त अभियानअन्र्तगत उनी हिमाली जिल्लाहरु मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, मुगु, बाजुरा, बझाङ र दार्चुला भने प्रतिकूल मौसमका कारण पुग्न सकेका थिएनन्।

‘त्यो बेला हिउँ परेका कारण हिमाली जिल्लाहरु जान सम्भव भएन। अब ७७ वटै जिल्ला पुग्ने, जनताका कुरा सुन्ने, तल्लो तहका कार्यकर्ताका कुरा सुन्ने, सल्लाह–सुझाव लिने काम हुन्छ,’ थपलियाले भने। 

उपनिर्वाचनपछि सुरु गरिएको अभियानमा नेता कोइरालाले पार्टीका दुवै समूहका नेताहरु साथमा लैजाने मनस्थिति बनाएका छन्। अभियानका क्रममा संस्थापन निकट र संस्थापन इतर निकट भनेर नेताहरुमाथि विभेद नगर्ने मनस्थितिमा नेता कोइराला देखिन्छन्। 

‘यो अभियान भनेको पार्टी बचाउने कुरो हो। स्वार्थको कुरो होइन नि। भागबण्डा गरेर झगडा गर्न पनि भोलि पार्टी चाहिएला नि,’ कोइरालानिकट नेता भन्छन्, ‘अभियानमा आफ्नो समूहका मात्रै नभएर समूहबाहिर रहेका नेताहरु पनि साथमा लिएर हिँड्नु हुन्छ।’ 

अघिल्लो अभियानका क्रममा कोइराला विभिन्न जिल्लाहरुमा दोहोरिएर पुगेका थिए। यस पटकको अभियानमा पनि त्यही प्रकृतिको जिल्ला भ्रमण हुने सम्भावना रहेको उनको सचिवालयको भनाइ छ। 

‘पहिला त एउटै जिल्लामा २–३ देखि १२–१४ पटक पुगेका थियौँ। यस पटक पहिलाको जस्तो समय त छैन,’ स्वकीय सचिव थपलिया भन्छन्, ‘काठमाडौँको परिस्थिति पनि हेर्नु पर्यो। समीकरण मिलाउनु पर्यो। समय, परिस्थिति हेरेर बढीभन्दा बढी जिल्लाहरुमा पुग्छौैँ।’ 

नेता कोइराला आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नेगरी कांग्रेसलाई मजबुत बनाउनु पर्ने बताउँदै आएको छ। पार्टी संगठनलाई मजबुत बनाएर स्थानीय, प्रदेश र संघीय निर्वाचन एक्लै लड्ने गरी अगाडि बढ्नु जरुरी रहेको उनको भनाइ छ।

गृहनगर विराटनगरमा गत शुक्रबार आयोजित कार्यक्रममा कोइरालाले जनता र पार्टीका कार्यकर्तासँग जोडिने प्रण गर्दै जनताका प्रत्येक सुखदुःखमा साथमा रहेर कांग्रेसलाई पुरानो अवस्थामा ल्याउने दाबी नै गरेका थिए। 

कार्यक्रममा उनले उपनिर्वाचनले कांग्रेसलाई धेरै पाठ सिकाएको उल्लेख गर्दै पार्टीका कमीकमजोरीलाई सुधार गर्दै लाग्नुपर्ने आवश्यकता पनि औँल्याएका थिए।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .