ad ad

राजनीति


एमाले सांसद कोइरीलाई निलम्बन गर्ने तयारी

एमाले सांसद कोइरीलाई निलम्बन गर्ने तयारी

फाइल तस्बिर


नेपालखबर
बैशाख १८, २०८० सोमबार १४:५७, काठमाडौँ

दोस्रोपटक प्रहरीको पत्र पाएपछि सभामुखले हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरीलाई निलम्बन गर्ने प्रक्रिया अघि बढाउने भएका छन्। 

प्रहरीले आइतबार सभामुख देवराज घिमिरेलाई कोइरी पक्राउमा सहयोग गर्न माग गर्दै पत्र पठाएको थियो।

हत्याका अभियुक्त रहेका कोइरी लामो समय संसद्‌मा अनुपस्थित छन्।

आगामी अधिवेशन सुरु हुनुअगाडि नै कोइरी निलम्बन गर्ने तयारी भइरहेको हो। संसद् नबसेको अवस्थामा सभामुखले निलम्बनको सूचना टाँस गर्न सक्नेछन्। 

सभामुख निकट स्रोतका अनुसार कोइरीको सांसद पद निलम्बनको प्रक्रिया अघि बढाउने तयारी छ।

‘प्रहरीको पत्र आएपछि अब फरार माननीय सदस्यलाई निलम्बन गर्न सजिलो भएको छ,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘यसअघि नियमावलीमा निलम्बन गर्ने व्यवस्था थिएन, अब फरार रहेकै अवस्थामा निलम्बन गर्न सकिन्छ। माननीय सांसद कोइरी दसपटक भन्दा बढी समयदेखि संसद्‌मा उपस्थिति हुनुहुन्न।’

‘उहाँ प्रहरीको फरार सूचीमा रहेकैले निलम्बनको प्रक्रिया अगाडि बढ्नेछ, अर्काे संसद अधिवेशन सुरु हुनुअगाडि नै त्यो प्रक्रिया अघि बढाउने तयारी छ,’ स्रोतले थप्यो।

सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले प्रहरीले पठाएको पत्र सभामुखले अध्ययन गरिरहेको जानकारी दिए।

कोइरीले उपचारमा रहेको भन्दै बिदा स्वीकृत गर्न संसद् सचिवालयमा पत्र पठाए।

वैशाख १५ गते बसेको संसद् बैठकमा सभामुख घिमिरेले कोइरी उपचारमा रहेको भन्दै अनुपस्थितको बिदा स्वीकृत गराउन खोजेका थिए।

तर, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उनी फरार अपराधी भएकाले बिदा दिन नसक्ने अडान लिएपछि संसद् बैठक अवरुद्ध भएको थियो।

सोही दिन सभामुखले कोइरीको उपचार बिदा दिने प्रस्ताव अस्वीकृत भएको घोषणा गर्दै कोइरीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि संसद् बैठक पुन: सञ्चालन भई संसद् अधिवेशन अन्त्य गरिएको थियो। 

के हो घटना ?
महोत्तरी १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कोइरीविरुद्ध सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या गरेको अभियोग छ। 

मधेश आन्दोलनका बेला २०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो। उक्त घटनामा संलग्न अभियोग लागेका कोइरीसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा चलेको थियो। 

उच्च अदालत जनकपुरले उनलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो। 

जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ मा १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि कोइरी छुटेका थिए। जनकपुर उच्च अदालतले २०७७ मंसिर १९ मा जिल्लाको आदेश उल्ट्याउँदै कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो। उक्त आदेशपछि कोइरी फरार भएका थिए। फरार रहेकै अवस्थामा उनले गत मंसिरमा प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .