ad ad

राजनीति


चितवनमा कांग्रेस र एमालेको लज्जास्पद हार, मंसिरको मत पनि जोगाउन सकेनन्

चितवनमा कांग्रेस र एमालेको लज्जास्पद हार, मंसिरको मत पनि जोगाउन सकेनन्

नेपालखबर
बैशाख १२, २०८० मंगलबार १५:३३, काठमाडौँ

प्रतिनिधि सभाको उपनिर्वाचन भएको चितवन २ मा नेपाली कांग्रेस र नेकपा एमालेले पाँच महिना अघि पाएको मत समेत जोगाउन असफल भएका छन्।

४ मंसिरको चुनावमा कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३ मत ल्याएका थिए। यस्तै, एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६६७ मत पाएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ४९ हजार २६४ मत पाइ विजयी भएका थिए। 

तर, नागरिकता प्रकरणले रविको सांसद पद गएपछि आइतबार उप चुनाव भएको थियो।

उपचुनावमा कांग्रेस र एमालेको मत झन् घटेको छ।

मंगलबार सार्वजनिक अन्तिम परिणाम अनुसार रास्वपाका रविले ५४ हजार १७६ मत पाई शानदार जित निकालेका छन्।

तर, कांग्रेसले पाँच महिनाअघि पाएको मत पनि जोगाउन सकेन। कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ११२१४ मत मात्र पाए। उनी पाँच दलीय गठबन्धनका साझा उम्मेदवार थिए।

गत ४ मंसिरमा पाएको भन्दा कांग्रेसले ३ हजार ७६९ मत कम पाएको छ।

कांग्रेसले युवा र स्थानीय उम्मेदवार जीतनारायणलाई जिताउन महामन्त्री विश्वप्रकाश शर्मालाई चुनावी कमाण्डर बनाएर खटाएको थियो। 
तर, पाँच महिनाभित्रै भएको अर्काे चुनावमा कांग्रेस चितवनमा कमजोर देखियो।

जबकी, यसपटक चितवन कांग्रेस एक ढिक्का भएर चुनावमा होमिएको थियो।

यस्तै, एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत मात्र पाए। एमालेले पनि अघिल्लो पटक भन्दा ३ हजार ७३१ कम मत पाएको छ।

एमालेले यसपटक संगठन सुदृढीकरणका लागि दुई महिने अभियान चलाएको थियो।

एमालेका प्रभावशाली नेताहरु उपाध्यक्ष विष्णु पौडेल, स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, देवी ज्ञवाली र पोलिटब्युरो सदस्य गोकुल बास्कोटा चितवनमै खटिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .