राजनीति


रास्वपा सांसद ढाकाकुमारको पद रिक्त, सभामुखले संसदमा पढेर सुनाउने

रास्वपा सांसद ढाकाकुमारको पद रिक्त, सभामुखले संसदमा पढेर सुनाउने

फाइल तस्बिर


नेपालखबर
बैशाख १२, २०८० मंगलबार १४:६, काठमाडौँ

दुर्गा प्रसाईसँग २ करोड रुपैयाँ घुस प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठको पद मंगलबारदेखि खाली भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको परिपत्र अनुसार सभामुख देवराज घिमिरेले मंगलबार बसेको संसद बैठकमा श्रेष्ठको सांसद पद खाली भएको सूचना पढेर सुनाउँदैछन्।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले ढाकाको सांसद पद रिक्त रहने निर्णय भइसकेको बताए। 'सभामुखले निर्णय गरिसक्नु भएको छ। संसद बैठकको कार्यसूचीमा पनि चढिसकेको छ', उनले भने, 'आजबाट रास्वपाको एक सांसद पद रिक्त भयो।'

अहिले प्रतिनिधिसभा बैठक चलिरहेको छ। संसदमा आकष्मिक समय, शून्य, विशेष समयपछि मन्त्रीले बोल्नेछन्। त्यसपछि सभामुखले सांसद पद रिक्त भएको सूचना पढेर सुनाउनेछन्। 

संसदको अधिवेशन चलिरहेकाले ढाकाको सांसद पद खाली भएको सूचना सभामुखले पढ्नेछन्। संसद नचलेको बेला भने सूचना टाँसेर जानकारी दिने गरिएको छ।

यससँगै अब रास्वपाबाट आदिवासी जनजाति क्लस्टरको सूचीमा दोस्रो नम्बरमा रहेकी विन्दबासिनी कंसाकार सांसदमा निर्वाचित हुने भएकी छन्। 

रास्वपाले यसअघि नै ढाकाकुमारलाई पार्टीको साधारण सदस्य र सांसदबाट हटाउने निर्णयसहित संसद सचिवालयलाई पत्र पठाएको थियो।

रास्वपाको उक्त निर्णयविरुद्ध सांसद श्रेष्ठले पार्टीको पुनरावेदन कमिटीमा अपील गरिसकेका थिए।

राजनीतिक दलसम्बन्धी ऐनको दफा १८ मा सांसदलाई अनुशासनात्मक कारबाही गर्न सक्ने व्यवस्था छ। रास्वपाले यही व्यवस्थालाई टेकेर श्रेष्ठलाई कारबाही गरेको थियो। 

यो दफाको उपदफा १ मा भनिएको छ, ‘विधानविपरीत काम गर्ने वा दलको आचारसंहिता पालना नगर्ने सदस्य वा पदाधिकारीलाई विधानमा व्यवस्था भए बमोजिम दलले अनुशासनात्मक कारबाही गर्न सक्नेछ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad