ad ad

राजनीति


खालिस्तानी कमाण्डर अमृतपाल सिंह कसरी भए आत्मसमर्पणका लागि तयार?

खालिस्तानी कमाण्डर अमृतपाल सिंह कसरी भए आत्मसमर्पणका लागि तयार?

गोकुल जोशी
बैशाख १०, २०८० आइतबार २०:३२, कञ्चनपुर

‘वारिस पञ्जाव दे’ का प्रमुख खालिस्तानी समर्थक अमृतपाल सिंहले आइतबार बिहान भारतीय प्रहरीको नियन्त्रणमा आए।

भारतले एक महिनादेखि खोजी गरिरहेकाका सिंहलाई पञ्जावस्थित मोगा जिल्लाको रोडे गाउँको गुरुद्धाराबाट नियन्त्रणमा लिइएको हो। 

प्रहरीले सिंहलाई बठिंडाबाट प्लेनमा असम ल्याएर डिब्रूगढ कारागारमा राखेको छ। भारतीय प्रहरीले पक्राउ गरेको दाबीसहित सिंह आफैले आत्मसमर्पण गरेको समाचार बाहिरिएका छन्। 

१८ मार्चदेखि फरार उनलाई खोज्न भारतले सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन गरेको थियो। पञ्जावसँगै हरियाणा, उत्तर प्रदेश, राजस्थान, उत्तराखण्ड सहित नेपाल प्रवेश गर्ने नाकामा भारतीय सुरक्षा संयन्त्र एक महिनादेखि तीव्र रुपमा सक्रिय थियो। तर सिंहलाई पक्राउ गर्न भने सकेको थिएन। 

भारतको टाउको दुखाइ बनिरहेका सिंह भागेर नेपालमा लुकेको भनेर पक्राउ गर्न सहयोगका लागि भारतीय दूतावासले अनुरोध गरेको थियो।

सिंहको खोजीका लागि भारतीय सुरक्षाकर्मी अनाधिकृत रुपमा नेपाल प्रवेश गरेको भन्दै प्रतिनिधि सभामै सांसदहरुले यस विषयमा प्रश्न समेत उठाएका थिए। 

भारतले ठूलो बल लगाउँदा पनि खालिस्तानी कमाण्डर सिंहलाई समात्न असफल भएको थियो। फरार भएको ३६ दिनपछि आफैले आत्मसमर्पण गरेपछि भारतीय प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

भारतीय सञ्चार माध्यमका अनुसार अमृतपाल शनिबार राति मोगाको रोडे गाउँ पुगेका थिए। त्यहाँका आफ्ना समर्थकहरुको शक्ति प्रदर्शन सहित आत्मसमर्पण गर्ने सूचनापछि प्रहरी रोडे पुगेको थियो।

सिंहका समर्थकको भीड जम्मा हुँदा माहोल बिग्रिने भन्दै लिजाहा पञ्जावको प्रहरी टोली सादा पोशाकमा त्यहाँ पुगेको हो। 

अमृतपाल सिंह खोजीको कारण 
सिंह पञ्जाव राज्यस्थित अमृतसर जिल्लाको जल्लुपुर खेडा गाउँका बासिन्दा हुन्। उनले केही समय दुबईमा काम गरेका थिए। त्यहाँबाट भारत फिरेपछि खालिस्तानी समर्थक दीप सिद्धुको संगठन ‘वारिस पंजाब दे’ मा जोडिएका हुन्। 

दीप सिद्धुको हालै सड़क दुर्घटनामा मृत्यु भएको थियो। किसान आन्दोलनको बेला दिल्लीको लालकिल्लामा भएको हिंसात्मक घटनाको आरोप पनि उनीमाथि लागेको थियो।

इन्डिया टुडेको एक रिपोर्ट अनुसार सिद्धु खालिस्तान अभियान सञ्चालन गर्ने जर्नेल सिंह भिंडरावालेको समर्थक थिए।

खालिस्तानी समर्थक अमृतपाल सिंह पनि अलग सिख राज्यको माग गर्दै आइरहेका छन्। उनी सिख धर्मको प्रचारका लागि अमृत सञ्चार अभियान चलाउँछन्।

उनले पहिलो अमृत प्रचार अभियान राजस्थानको श्रीगंगानगरबाट सुरु गरेका थिए। धेरै स्थानमा आयोजित कार्यक्रममा अमृत ग्रहण गर्नेको संख्या सयौँ थियो। उनीहरु अमृत ग्रहणपछि खालसा सिखको हिस्सा बनेका थिए।

धेरैलाई सिंहले खालसा सिख बनाए। यसबीचमा उनले नसाविरोधी अभियान पनि चलाइरहेका थिए।

सिंहविरुद्ध २३ फेब्रुरीमा आफ्ना समर्थकको रिहाइका लागि पञ्जावको अजनाला चौकीमा आक्रमणको आरोपसहित कयौँ मुद्दा रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। 

सिंहसहित पाँच जना खालिस्तानी समर्थकको नाममा पञ्जाब प्रहरीले वारेन्ट जारी गरेपछि उनीहरु फरार थिए। 

आत्मसमर्पण अघि प्रवचन
पञ्जावलाई छुट्टै खालिस्तान राज्य बनाउनु पर्ने माग चर्काइरहेका सिंहले आत्मसमर्पण गर्नुअघि रोडे गाउँकै गुरुद्धारामा प्रवचन दिएका थिए।

गिरफ्तारी अन्त नभएर सुरुवात भएको बताउँदै उनले झुट्टा मुद्दाको सामना गर्ने बताएका थिए। 

यसअघि सिंहका काका, चालकसहित केही निकस्थहरु पक्राउ परेका थिए। उनकी श्रीमतीले केही दिन पहिले लण्डन गइरहेकी उनकी पत्नी किरणदीप कौरलाई विमानस्थलमा रोकेर तीन घण्टा सोधपुछ गरेको थियो।

कसरी भए आत्मसमर्पणका लागि तयार?
सिंह फरार भएपछि पञ्जावमा सरकारले मोबाइल इन्टरनेट सेवा नै बन्द गरेको थियो। विभिन्न ठाउँमा देखा परिरहेका सिंह भारतीय प्रहरी चक्मा दिँदै भागिरहेका थिए। उनले आत्मसमर्पणका लागि तीन सर्त अघि सारेका थिए। 

प्रहरी हिरासतमा कुटपिट नगर्न, पन्जावकै जेलमा राख्ने व्यवस्था मिलाउन र आत्मसमर्पणलाई पक्राउ नभन्न उनले सर्त राखेका थिए। 

सिंहले १४ अप्रिलमा आत्मसमर्पण गर्न चाहेको भारतीय प्रहरीलाई उदृत गर्दै सञ्चार माध्यमले उल्लेख गरेका छन्। 

भटिंडाको तलवंडी साबोस्थित तख्त श्री दमदमा साहिबमा आएर आत्मसमर्पण गर्ने उनको शर्त थियो। इन्टेलिजेन्स र पञ्जाब पुलिसले यो कुरा थाहा पाउने बित्तिकै अमृतपाललाई दमदमा साहिब पुग्नबाट रोक्नको लागि सुरक्षा कडा पारियो। त्यसपछि उनी रोडे पुगेपछि प्रहरीले समातेको हो। 

अमृतपाल सिंहका मिडिया हेर्ने पापलप्रित सिंह यसअघि पक्राउ परेका थिए। अमर उजालाका अनुसार सिंहकी पत्नी किरणदीपलाई लण्डन जानबाट रोक्नु, कागजात नियन्त्रणमा लिएर सोधपुछ, विश्वास पात्र पापलप्रित पक्राउपछि एक्लिएपछि उनी आत्मसमर्पणका लागि पग्लिएका थिए।

अमृतपाल फरार भएपछि उनको गाउँ जल्लुपुर खेडामा प्रहरीको कडा निगरानी थियो। सादा पोसाकमा रहेका प्रहरीले अमृतपालको परिवार र उनका नजिकका व्यक्तिलाई निगरानी गरिरहेको थियो। 

प्रहरीको चौतर्फी घेराबन्दीपछि दबाबमा आएर सिंहले आत्मसमर्पणको कदम चालेको अमर उजालाले लेखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .