नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले देशको संस्कृति र राष्ट्रियतामाथि अतिक्रमण भइरहेको बताएका छन्।
आइतवार नेकपा(एकीकृत समाजवादी)ले आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धी, चुनौति र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै सम्मानित नेता खनालले देशको संस्कृति माथि अन्तर्राष्ट्रिय क्षेत्रबाट अतिक्रमण भइरहेको बताएका हुन्। उनले देशमा सांस्कृतिक संकट गहिरिदै गएको बताए।
उनले पछिल्लो समय कुनै निश्चित धर्मको नाममा ठूला–ठूला भवनहरु बनेको भन्दै आश्चर्य प्रकट गरे। त्यसैगरी देशको राष्ट्रियता पनि संकटमा परिरहेको उनले बताए।
सम्मानित नेता खनालले विदेशी सैनिकहरु नेपाल आएर नेपाली सैनिकलाई प्रशिक्षण दिइरहेका भन्दै त्यसको आवश्यकतामाथि प्रश्न उठाए। उनले विदेशी सेनालाई नेपालमा ल्याउन कसले प्रोत्साहन गरिरहेको छ भनि प्रश्न गरे।
उनले भने, ‘राष्ट्रियतामाथि व्यापक अतिक्रमण भइरहेको छ। विदेशीहरुका सैनिक टुकडीहरु यहाँ महिना महिनामा आएर नेपाली सेनालाई प्रशिक्षण दिन्छन्। कति जरुरतको कुरा हो त्यो? कति छलफल गरेर हामी यो काम गराइरहेका छौँ? हाम्रो नेतृत्वले कति गम्भिरतापूर्वक यि कुरालाई लिइरहेको छ? मेरा प्रश्नहरु छन्। यो जरुरत हो कि होइन? आजसम्म पनि नेपाली सेना त छ त। नेपाली सेनाले देश त बचाएरै राखेको छ। अनेकन महाशक्तिहरुका टुकडी यहाँ ल्याउनुपर्ने आवश्यकता किन परिरहेको छ? के ले यिनीहरुलाई यस्तो प्रोत्साहन गरिरहेको छ?’
उनले देशको समस्याहरु समाधान गर्नका लागि विचार मिल्ने वामपन्थी शक्तिहरु एकतावद्ध हुनुपर्ने बताए।
Shares

प्रतिक्रिया