कर्णाली प्रदेशसभामा आइतबार कार्यव्यवस्था परामर्श समिति गठन भएको छ। कर्णाली प्रदेशसभा सञ्चालन भएको करिब तीन महिनापछि कार्य व्यवस्था समिति गठन भएको हो।
आइतबार बसेको कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको तेह्रौँ बैठकमा बोल्दै सभामुख नन्दा गुरुङले समिति गठन भएको घोषणा गरिन्।
सभामुखको नेतृत्वमा गठन भएको समितिको सदस्यमा सबै दलको प्रतिनिधित्व रहेको छ।
समिति सदस्यमा रणसिंह परियार (नेकपा माओवादी केन्द्र), हिक्मतबहादुर विष्ट (नेपाली कांग्रेस), टेकराज पछाई (नेकपा एमाले), सांसद कल्यानी खड्का (नेकपा एकीकृत समाजवादी), सन्तोशी शाही (राप्रपा) र देवेन्द्रबहादुर शाही (स्वतन्त्र) रहेका छन्।
समितिमा उपसभामुख यशोदा न्यौपाने र आन्तरिक मामिला तथा कानूनीमन्त्री कृष्ण जिसी पदेन सदस्य छन्।
कर्णाली प्रदेशसभा नियमावली २०७९ ले बढीमा ११ जना सदस्य र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका सदस्यहरु समितिमा रहने व्यवस्था गरेको भएता पनि गठित कार्यव्यवस्था समिति भने ९ सदस्यीय बनेको छ।
गठित उक्त समितिले प्रदेशसभाको बैठकमा पेश हुने विषयहरूको प्राथमिकता तथा समयावधिको निर्धारण लगायत बैठकलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्ने र सभामुखले आवश्यक रहेको अन्य विषयमा परामर्श दिने काम गर्दछ।
Shares

प्रतिक्रिया