ad ad

राजनीति


मतदान केन्द्र अवलोकन गर्दै रविले भने– मंसिर ४ को चुनावमा भन्दा बढी मत पाउँछु

मतदान केन्द्र अवलोकन गर्दै रविले भने– मंसिर ४ को चुनावमा भन्दा बढी मत पाउँछु

नेपालखबर
बैशाख १०, २०८० आइतबार १०:३३, चितवन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले मंसिर ४ को चुनावमा भन्दा आजको उपनिर्वाचनमा आफूले बढी मत प्राप्त गर्ने दाबी गरेका छन्। 

चितवन २ मा विभिन्न मतदान केन्द्रको अवलोकन गर्दै हिँडेका लामिछानेले मतदातामा उत्साह पाएको भन्दै अघिल्लो पटकको भन्दा धेरै मत आउनेमा ढुक्क रहेको दाबी गरेका हुन्। 

‘मेरो हृदयले आजको दिन निकै शुभ दिन मानेको छ, उनले भने’, ‘आज बिहानदेखि म मतदान केन्द्रहरुमा पुग्दा मतदाताहरुमा निकै उत्साह देखेको छु। मतदाताहरु कति संख्यामा हुन्छन् भन्ने अहिले नै भन्न सक्ने अवस्था छैन। तर जति मत खस्छ, लाग्छ- रास्वपाकै पक्षमा खस्छ। हामी आफ्नो एजेन्डा, आफ्नो उम्मेदवार र आफ्नो चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका छौं।’ 

विभिन्न राजनीतिक दलहरुले चुनावमा हराउन फन्डा बनाइरहेको भन्दै रास्वपाले कुनै पार्टीसँग पनि गठबन्धन नगरेको उनले बताए।

गत मंसिर ४ को प्रतिनिधिसभा चुनावमा ४९ हजार २६१ मतका साथ लामिछाने विजयी भएका थिए। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले हराएका थिए। 

गृहमन्त्रीसमेत बनिसकेका लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएपछि सबै पदबाट बर्खास्त भएका थिए। सोही कारण चितवन २ मा अहिले उपनिर्वाचन भइरहेको हो। 

प्रक्रियाबमोजिम पुनः नागरिकता लिएर रवि उपचुनावमा पनि उम्मेदवार बनेका हुन्। 

चितवन २ मा मुख्य रूपमा रास्वपा सभापति रवि, नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेबीच प्रतिस्पर्धा हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .