राजनीति


निजामती सेवा ऐन छिट्टै संसदमा पेश गर्ने तयारीमा छौं : मन्त्री शर्मा

निजामती सेवा ऐन छिट्टै संसदमा पेश गर्ने तयारीमा छौं : मन्त्री शर्मा

नेपालखबर
बैशाख ४, २०८० सोमबार १६:४७, काठमाडौँ

नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार संघीय निजामती सेवा ऐन छिट्टै संसदमा पेश गर्ने तयारीमा रहेको बताएकी छिन्।

सोमबार राष्ट्रियसभा बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०६७/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्यांकन प्रतिवेदन २०७९ माथिको छलफलमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री शर्माले सो कुरा बताएकी हुन्। 

उनले सरकारले पनि सो ऐनलाई अत्यन्तै प्राथमिकतामा राखेर अघि बढाएको र अहिले त्यो कानुन मन्त्रालयमा छलफलको अन्तिम चरणको रहेको जानकारी गराइन्। 

‘संघीय निजामती सेवा ऐन सरकारवालाहरुसँग छलफल भएर अहिले कानुन मन्त्रालयमा छलफलका लागि पुगेको छ। यो ऐनको बारेमा जुन माननीयजीहरुले कुरा उठाउनु भएको छ,’ शर्माले भनिन्, ‘त्यो चाँही सरकारको पनि अत्यन्तै ठूलो प्राथमिकताको विषय हो। र, सरकारले अत्यन्तै प्राथमिकतामा राखेर अन्तिम चरणमा पुर्‍याएको छ।’ 

मन्त्री शर्माले कर्मचारीहरुको सरुवालाई व्यवस्थित बनाउने गरी सो ऐनमा आवश्यक व्यवस्था मिलाउन पनि सांसदहरुलाई आग्रह गरिन्। 

‘माननीयजीहरुको बीचमा भन्दा अहिले यो कानुन मन्त्रालयका पुगेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट त्यहाँ पुगेको हो। र, कानुन मन्त्रालयमा यो अन्तिम चरणमा छ,’ मन्त्री शर्माले भनिन्, ‘यसलाई क्याविनेटमा आएर हामी छिटो भन्दा छिटो यो ऐनलाई संसदमा प्रस्तुत गर्ने तयारीमा छौं हामी। र, कर्मचारीको छिटो छिटो सरुवा भन्ने कुरा पनि यहाँ उठेको छ।’

उनले कर्मचारीको सरुवाको विषय व्यवस्थित नभएको स्विकार गर्दै अव बन्ने संघीय निजामती सेवा ऐनले त्यसलाई व्यवस्थित बनाउने विश्वास समेत व्यक्त गरिन्। 

‘विगतदेखि कर्मचारीहरुको सरुवा ठिक ढंगले हुन नसक्दा यी विषय संघीय निजामती सेवा ऐनमा आउनुपर्ने विषय हो। हामीले सो ऐन पास गर्दैगर्दाखेरीमा कर्मचारीको सरुवालाई व्यवस्थापन गर्नुपर्ने हुन्छ,’ मन्त्री शर्माले भनिन्, छयो ऐन बनाउन सो विषयलाई यो सम्मानित सदनले विशेष ध्यान दिनेछ भन्ने कुरा पनि राख्न चाहन्छु।’

मन्त्री शर्माले कर्मचारीहरुको समय तोकेर सुरुवाको मापदण्ड बनाउन सके उनीहरू छिटो छिटो सरुवा हुने समस्या समाधान हुने तर्क समेत गरिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .