राजनीति


जब ढाकाकुमारले सभामुखलाई भेटेर भने : म संसद बैठकमा जान्छु

जब ढाकाकुमारले सभामुखलाई भेटेर भने : म संसद बैठकमा जान्छु

फाइल तस्बिर


नेपालखबर
बैशाख ३, २०८० आइतबार १९:५६, काठमाडौँ

दुर्गा प्रसाईसँग २ करोड रुपैयाँ मोलमोलाई गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित ढाकाकुमार श्रेष्ठ आइतवार संसद सचिवालय पुगे।

नातेदारसहित तीनजना सहयोगीसहित संसद सचिवालयस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा पुगेका उनले आफूमाथि अन्याय भएको गुनासो पोखे।

यसअघिको जस्तै ढाकाले सभाखुमसँग पनि प्रसाईसँग भएको भनिएको उक्त अडियो आफ्नो नभएको जिकिर गरे।

'उहाँले सभामुखसँग मलाई अन्याय पर्‍यो भन्ने गुनासो राख्नु भयो', उनीसँगै सिंहदरबार पुगेका एकजना सहयोगीले भने, 'उहाँले यसअघि बाहिर भन्नु भएको थियो। प्रसाईसँगको अडियो मेरो होइन भन्ने दलिल नै उहाँले पेश गर्नु भयो।'

ढाकाले आफू अन्यायमा परेको बताउँदै राष्ट्रिय स्वन्त्र पार्टी संसदीय दलको तर्फबाट नेता डोलप्रसाद अर्यालले कारबाहीका लागि लेखेको पत्र कार्यान्वयन नगर्न पनि आग्रह गरेका थिए।

'म अन्यायमा परेको छु, उहाँले दलको पत्र कार्यान्वयन नगर्नू भन्नु भयो', ती सहयोगीले भने, 'उहाँले आफूमाथिको आरोप कुनै कोणबाट पुष्टि नहुने तर्क पनि राख्नु भयो।'

उनले त्यसक्रममा आफूलाई संसद बैठकमा जाऊँ जाऊँ लागेको कुरा पनि सभामुसँग राखे।

'मलाई त संसद जाऊँ जाऊँ जस्तो लाग्यो सम्माननीय!', उनले सभामुखसँग भने, 'मलाई भएको कारबाहीको आरोप पुष्टि हुने आधार पनि छैन, तपाईंले मलाई सहयोग गरिदिनुपर्यो, संसदमा जान मन लाग्यो।'

ढाकाको उक्त कुरापछि सभामुखले कारबाहीको टुंगो भइनसकेको अवस्थामा संसदको लोगो नफुकालेकाले संसदमा जाने नजाने व्यक्तिगत विषय भएको जवाफ दिएका थिए। 

'संसदमा जाने नजाने तपाईंको कुरा हो, अहिले पनि लोगो लगाएरै हिँड्नु भएको छ', सभामुखले ढाकालाई भनेका थिए, 'तर यसो गर्दा तपाईं र पार्टी (रास्वपा) बीचको सम्बन्धमा आउन सक्ने समस्या बारे पनि ख्याल राख्नु होला।' 

सभामुखले ढाकाको इच्छाबारे जवाफ दिए पनि संसद जाने नजानेबारे केही निर्णय दिएनन्। 

घिमिरेले रास्वपाले ढाकालाई संसदबाट हटाउन पठाएको पत्रबारे अहिले अध्ययन भइरहेको पनि बताएका थिए। 

'रास्वपाले पठाएको पत्रबारे अहिले अध्ययन भइरहेको छ', सभामुखको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भनेको छ, 'राजनीतिक दलसम्बन्धी कानुनअनुसार प्रक्रिया पूरा भए नभएको निर्णय केही दिनमा हुन सक्छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .