ad ad

राजनीति


कांग्रेसले पुनः सरकारको नेतृत्व लिने सम्भावना छ : देउवा

कांग्रेसले पुनः सरकारको नेतृत्व लिने सम्भावना छ : देउवा

नेपालखबर
चैत २८, २०७९ मंगलबार १५:२६, काठमाडौँ

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पुनः आफ्नो पार्टीले सरकारको नेतृत्व लिने दाबी गरेका छन्।

अहिले कांग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै पुनः सरकारको नेतृत्व लिन सक्ने उनले बताए। 

मंगलबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै उनले संयुक्त सरकार भएकाले पार्टीले सोचे अनुसार काम गर्न सक्ने अवस्था नभएको पनि स्पष्ट पारे।

‘आज हाम्रो पार्टी सरकारमा छ। भोली सरकारको नेतृत्व गर्न सक्ने सम्भावना पनि छ। धेरै वर्ष सरकारको नेतृत्व गरेको पनि हो,’ देउवाले भने, ‘तर अझै यो पार्टी एकदमै अहिलेको संविधान अनुसार कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न सकेको छैन। तापनि भोली हामी सबै लागेर नेपाली कांग्रेसलाई बहुमत ल्याउनेतिर हामी सबै लाग्यौं भने, यसमा शिक्षक संघको पनि योगदान भयो भने हाम्रो पार्टीले बहुमत नै ल्याउन सक्ने सम्भावना छ।’

सभापति देउवाले आफ्नो पार्टीले सोचे अनुसार काम गर्नका लागि बहुमत चाहिने भएकाले त्यसका लागि तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन पनि दिए। 

सभापति देउवाले संविधान अनुसार सरकार बनाउनका लागि पनि आफ्नो पार्टीले गठबन्धन बनाएर अघि बढनु परेको पनि दोहोर्‍याए। 

‘अहिले संयुक्त सरकार भएको हुनाले कति कुरामा काम गर्न समस्या हुन्छ। हुनत अहिलेको संविधान अनुसार गठबन्धन अति आवश्यक छ। गठबन्धन नभई सरकार बन्दै बन्दैन,’ देउवाले भने, ‘गठबन्धन सरकारमा हामी सहभागी भएका छौं। त्यसले हाम्रो पार्टीलाई एउटा बल पुर्‍याएको छ अगाडि बढ्न।’

त्यस अवसरमा सभापति देउवाले शिक्षकहरुको उचित सम्मानका लागि आफ्नो पार्टीले आगामी दिनमा काम गर्ने आश्वासन दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .