राजनीति


रास्वपा सांसद झाको चुनौती : मन्त्री बन्न नेतृत्वले पैसा लिएको प्रमाणित गर्नुस्

रास्वपा सांसद झाको चुनौती : मन्त्री बन्न नेतृत्वले पैसा लिएको प्रमाणित गर्नुस्

रास्वपा सांसद मनिष झा र पार्टी सभापति रवि लामिछाने। तस्बिर : नेपालखबर


नेपालखबर
चैत २७, २०७९ सोमबार १८:४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मन्त्री बनाउन पार्टी नेतृत्वले रकम लिने गरेको भन्ने भनाईप्रति विश्वास गर्न नसकिने बताएका छन्। 

पार्टीका सभापति रवि लामिछानेले करोडौं रुपैयाँ लिएर मन्त्री बनाउने गरेको चर्चा भईरहेका बेला सांसद झाले उक्त भनाइलाई आफूले विश्वास गर्न नसक्ने बताए। 

सोमवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहका जिज्ञासाको जवाफ दिने क्रममा उनले पार्टी सभापति लामिछानेले मन्त्री बनाउन रकम असुलेको पुष्टि गरेको देखाउन चुनौती दिए। 

नेपाली कांग्रेसमा आवद्धहरुले ट्विटरमा पार्टी नेतृत्वले शिक्षामन्त्री बनाउन ८ करोड लिएको भनेर लेखेको आफूले पनि देखेको उनले बताए। तर सांसद झाले पुष्टि गरेर देखाउनुपर्ने चुनौती दिए। 

उनले नेतृत्वले पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठसँग मन्त्री बनाउन साढे २ करोड मागेको भन्ने कुरा पनि सत्य नभएको जिकिर गए।

मन्त्री बनाउन पार्टी नेतृत्वलाई २ करोड दिनुपर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो आइतवार (हिजो) सार्वजनिक भएपछि पार्टीका सांसद श्रेष्ठ निलम्वित छन्। 

सांसद झाले भने पार्टी नेतृत्वबाट त्यस्तो काम नभएको, बरु आरोप लगाउने कांग्रेसभित्र भने त्यस्तो हुने गरेको प्रमाण आफूहरुसँग रहेको दाबी गरे। 

‘मैले त्यो साढे २ करोड रुपैयाँ नेतृत्वले मागेको थियो भन्ने कुरामा विश्वास गर्दिन। त्यसको कसैले प्रश्न उठाउँदैछ। मैले पनि ट्विटरमा केही कांग्रेसीजनले लेखेको देखेँ ८ करोड रुपैयाँ शिक्षामन्त्री बन्न माग्यो भनेर। तर त्यसमा म विश्वास गर्दिनँ', उनले भने, 'त्यो स्टाटस लेखेर चुनावका बेलामा स्टन्ट गर्ने हो भने कति दाइभाउजुले के–के लिए भन्ने कुरा हामीलाई पनि थाहा छ नि। हामीले प्रमाण पेस गरेपछि कारबाही गर्छ त्यो दलले? म चुनौती गर्न चाहन्छु। कति पटक हामीले सुनेका छौँ नि। सुनेर पनि ढाकछोप गर्न खोजेको होइन र?’

सांसद झाले विवादमा परेपछि निलम्बनमा परेका सांसद श्रेष्ठसँग पार्टीले सम्बन्धविच्छेद गरेको पनि स्पष्ट पारे।

छानबिनका लागि पार्टीका सदस्यहरुलाई प्रभाव पार्न सक्ने भन्दै आफूहरुले निलम्बित सांसद श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेर छानवीनको प्रक्रियालाई अघि बढाउनु परेको पनि उनले बताए। 

आरोप पुष्टि भए निलम्बित सांसद श्रेष्ठमाथि कारबाही हुने उनले दाबी गरे।

‘हिजो देखि नै हाम्रो पार्टीको सञ्चार माध्यामहरुमा, सामाजिक सञ्जालहरुमा रहेको हरेक समूहबाट उहाँलाई आउट गरिसक्यौँ। उहाँले हामी कसैसँग पनि संवाद नगरोस्। त्यहाँ आफ्नो स्पष्टीकरण दिने प्रयास गरेर उहाँले हामीलाई प्रभावमा पार्न नसकोस् भनेर,’ उनले भने, ‘साथै हाम्रो पार्टीको संसदीय दलको नेताले उहाँसँग कुनै पनि किसिमको संवाद नगर्न पनि किनकी हाम्रो अनुशासन समिति गठन भईसकेपछि उहाँले हामीसँग व्यक्तिगत रुपमा संसद र छलफल गर्नु राम्रो अभ्यास देखिँदैन। अर्को कुरा नेपाली राजनीतिमा यो पहिलो घटना होइन नि। हामीले अर्को टेप प्रकरण वा साउन्ड क्लिप सुनेका थियौं। त्यो व्यक्ति पछि आएर सम्माननीयसमेत हुनुभयो।’ 

सांसद झाले निलम्बित सांसद श्रेष्ठलाई जोगाएर आफूहरुले मतदाताको मतमाथि विश्वासघात नगर्ने पनि पटकपटक दोहोर्‍याए।

‘त्यही सुनेका थियौ–जो आएर माननीय पनि हुनु भयो। तर हाम्रो त हेर्नुस्न, सञ्चार माध्याममा त्यो बारेमा समाचार आउनु भन्दा अगाडि नै हामीले निलम्बन गरिसकेका थियौं। कि यो आशंका छ,’ उनले भने, ‘निलम्बन गरिएको मतलव नै हामीले तपाईहरुको वा हाम्रा मतदाताहरुको विश्वासको सम्मान गरेको हो नि। हामीले ढाकछोप गर्न कसैले पनि खोजेका छैनौं। अहिले पनि मेरो अभिमत ढाका श्रेष्ठप्रतिको समर्थन होइन। यो एउटा प्रक्रियाप्रतिको विश्वास हो।’

व्यवसायी प्रसाईसँगको अडियो प्रकरण सार्वजनिक भएलगत्तै आइतबार (हिजो) सांसद श्रेष्ठलाई निलम्बन गरी ७२ घण्टा भित्र छानबिन गरी आरोप पुष्टि भए कारबाही गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad