ad ad

राजनीति


यसरी पदमुक्त हुन सक्छन् घुस बार्गेनिङ गर्ने रास्वपाका सांसद श्रेष्ठ

यसरी पदमुक्त हुन सक्छन् घुस बार्गेनिङ गर्ने रास्वपाका सांसद श्रेष्ठ

नेपालखबर
चैत २७, २०७९ सोमबार १७:१९, काठमाडौँ

घुस बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठको पद धरापमा परेको छ। अडिओ सार्वजनिक भएकै दिन रास्वपाले यो प्रकरण छानबिनको जिम्मा अनुशासन तथा आचरण समितिलाई दिएको उपसभापति डोलप्रसाद आर्यालले बताए। 

रास्वपा सांसद श्रेष्ठले मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंसँग २ करोड घुस मागेको अडिओ आइतबार सार्वजनिक भएको थियो। 

सांसद श्रेष्ठलाई रास्वपाले २४ घण्टे स्पष्टीकरण सोधिसकेको छ। उनको स्पष्टीकरणपछि थप कारबाहीबारे निर्णय लिने उपसभापति अर्यालले बताए। 

‘हामीले अहिले यो विषयमा छानबिन गर्ने जिम्मा अनुशासन समितिलाई दिएका छौं। अनुशासन समितिको प्रतिवेदनपछि अर्को कदमबारे निर्णय हुन्छ। अहिलेलाई म यत्ति भन्न सक्छु, तीन दिनभित्रमा अनुशासन समितिले प्रतिवेदन बुझाउँछ,’ अर्यालले नेपालखबरसँग भने। 

छानबिन पूरा नभएसम्म सांसद वा पार्टीको साधारण सदस्यको हैसियतले पनि काम नगर्न श्रेष्ठलाई रास्वपाको निर्देशन छ। 

यो घटना छानबिनका लागि संसदीय समिति बनाउन संसदमा आवाज उठेको छ। नेपाली कांग्रेसका उपसभापति एवम् सांसद धनराज गुरुङले सोमबारको संसद् बैठकमा बोल्दै संसदीय समिति बनाएर घटनाको निष्पक्ष छानविन गर्नु पर्ने माग गरेका छन्। 

यो प्रकरणमा अरु पनि जोडिएको संकेत अडिओमा छ। घुस माग्ने सांसद श्रेष्ठले रास्वपाको कोर टिमलाई आफू मन्त्री बन्नका लागि २ करोड रुपैयाँ बुझाउनु पर्ने बताएका छन्। आफैँले नभई कोर टिमको सल्लाह अनुसार आफूले रकम माग गरेको उनको आवाज छ। 

कांग्रेस उपसभापति गुरुङले यसमा जोडिएका अरुलाई पनि कारबाहीको दायरामा ल्याउन पर्ने बताएका छन्। तर त्यसअघि नै सार्वजनिक कार्यक्रममा बोल्दै उक्त पार्टीका सांसद रवि लामिछानेले ती सांसदलाई कारबाही गर्न नसके आफूलाई गढीमाइमा ‘बलि दिन’ भनेका छन्। 

अडिओ सार्वजनिक भएपछि श्रेष्ठले त्यो आफ्नो आवाज नभएको प्रतिक्रिया दिएका छन्। उनले आफूलाई फसाउन षड्यन्त्र गरिएको बताएका छन्। आफ्नो मोबाइलबाट अरु कसैले कुरा गरेको हुनसक्ने उनको प्रतिक्रिया छ। 

अब सांसद श्रेष्ठले आफैँ राजीनामा दिन वा उनलाई पार्टीले कारबाही गरेर निकाल्न सक्छ।

के छ ऐनमा व्यवस्था? 
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ मा दल त्याग गरेको मानिनेसम्बन्धी व्यवस्था छ। यही व्यवस्थामा दलले कारबाही गर्न सक्ने विषय पनि उल्लेख छ। 

कुनै पनि सांसदले दलको सदस्यबाट लिखित रुपमा राजीनामा दिएमा सांसद पद पनि सोही मितिबाट रिक्त हुनेछ। यस्तै अर्को दलको सदस्यता लिएका वा अर्को दल गठन गरेमा पनि सांसदबाट हट्नेछन्। 

यस्तै दलको केन्द्रीय समितिले त्यस्तो सदस्यलाई यस दफाको अधीनमा रही सम्बन्धित दलबाट निष्कासन गर्न सक्नेछ र त्यसरी कुनै सदस्य निष्कासन भएमा त्यस्तो सदस्य सम्बन्धित दलबाट समेत निष्कासन भएको मानिनेछ। 

तर दलले निष्कासन गर्नुअघि सम्बन्धित दलको केन्द्रीय समितिले त्यस्तो सदस्यलाई आफ्नो् सफाइ पेस गर्ने मौका दिनुपर्नेछ र त्यस्तो प्रयोजनको लागि सम्बन्धित दलले जाँचबुझ समिति गठन गर्न सक्नेछ। 

सफाइ प्राप्त भएपछि सम्बन्धित दलको केन्द्रीय समितिले त्यस्तो सदस्यले पेस गरेको सफाइ सन्तोषजनक भएको वा नभएको निर्णय गर्नुपर्नेछ। सफाइ सन्तोषजनक नभएमा विधानमा व्यवस्था भए बमोजिम दलको केन्द्रीय समितिले कारण र आधार खुलाइ त्यस्तो सदस्यलाई दलको सदस्यबाट निष्कासन गर्न सक्नेछ। 

सम्बन्धित दलले कुनै पनि सांसदलाई कारबाही गरिएको जानकारी संसदलाई गराउनु पर्नेछ। संसद् सचिवालयले त्यस्तो जानकारी निर्वाचन आयोगमा पठाउने छ। 

समानुपातिक सांसदको हकमा रिक्त भएको स्थानमा रोलक्रममा रहेको अर्को व्यक्तिलाई सांसद बनाउने निर्णय आयोगले गर्नेछ। तर निर्वाचित सांसदको हकमा भने उपनिर्वाचन हुनेछ। 

रास्वपाका सांसद श्रेष्ठले तत्काल राजीनामा नदिएमा यी प्रक्रिया पूरा गरेर रास्वपाले उनलाई सांसदबाट हटाउन सक्नेछ। 

सम्बन्धित समाचार :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .