नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष एवं पूर्वमन्त्री हिसिला यमीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल सरकार मिलाउन माहिर भएपनि नेतृत्व लिन भने सक्षम हुन नसकिरहेको बताएकी छिन्।
सोमबार काठमाडौंमा आयोजित नेपालमा शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन्।
‘प्रचण्ड जो हुनुहुन्छ, १६ सरकारमध्ये १२ वटा सरकारको नेतृत्व उहाँले गर्नुभएको छ, उहाँले आफ्नो नेतृत्वको सरकार मिलाउन त प्रचण्डै माहिर हुनुहुन्छ,’ यमीले भनिन्, ‘तर सत्ताको नेतृत्व गर्नमा उहाँको पुगेकै छैन।’
उनले शान्ति सम्झौतापछि बनेका १६ सरकारमध्ये नेकपा (माओवादी केन्द्र) १२ वटा सरकारमा सहभागी बनेपनि अपेक्षाकृत रुपमा सत्ताको नेतृत्व लिनभने नसकेको बताइन्।
साथै, शान्ति सम्झौतापछि संक्रमणकालीन न्याय टुंग्याउने विषय किन प्राथमिकतामा परेन भन्दै प्रश्नसमेत उनले गरिनन्। उनले संक्रमणकालीन न्याय सम्बन्धी विषयको टुंगो लगाउन माओवादी र प्रधानमन्त्री दाहालको किन पटकपटक ध्यान नपुगेको हो? भन्दै प्रश्न गरिन्।
उनले प्रधानमन्त्री दाहाल गणितीय वर्चश्वमा रमाएको र राज्य पुनः संरचनासँग सम्बन्धित सत्य निरुपण मेलमिलाप आयोगलाई महत्व नदिएको आरोप लगाइन्।
‘आज यो १२ वर्षको अवधिमा कयौँ माओवादी पार्टीका नेताहरु कोही मन्त्री बने, कोही संघका कोही प्रदेशका मन्त्री बने। कोही मेयर, कोही उपमेयर बने,’ उनले भनिन्, ‘सबै केही न केही पदमा छौँ, हजारौँ मान्छेहरु सभासद भए तर यो विषयमा किन ध्यान गएन। कांग्रेस एमाले लगायतको त ध्यान गएन गएन तर माओवादी पार्टी प्रचण्डको ध्यान किन गएन? किन उहाँ गणितीय वर्चश्वमा रमाउने, किन राज्य पुनः संरचनासँग सम्बन्धित जोडिएको यो आयोगलाई किन उहाँले महत्व दिएन?’
उपाध्यक्ष यमीले नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई ९३ दिनको विपक्षी दलको नेताको सुविधा दिन सरकार तयार भएको तर सत्य निरुपण मेलमिलाप आयोगमा रहेका पुराना कर्मचारीहरुलाई निरन्तरता दिन सरकारसँग पैसा नभएको हो भन्दै प्रश्न समेत गरिन्।
‘मैले सुनेको छु, आयोगमा माआवादीले नै पठाएका सदस्यहरूले हामीलाई उपेक्षित गरे, समय माग्दा हामीलाई समय दिएन, यही पनि अहिले जुन संशोधन विधेयक अघि बढाउनु भन्दाअघि हाम्रो सल्लाह मागेन ? उहाँहरुका यसमा पनि केही आपत्ति छन्, आफ्नै मान्छेलाई किन विश्वास गरेन?’ उनले भनिन्।
Shares

प्रतिक्रिया