ad ad

राजनीति


सांसद श्रेष्ठको अडिओ प्रकरण : रास्वपाले संसदमा माग्यो माफी (भिडिओसहित)

सांसद श्रेष्ठको अडिओ प्रकरण : रास्वपाले संसदमा माग्यो माफी (भिडिओसहित)

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियार।


नेपालखबर
चैत २७, २०७९ सोमबार १४:३३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठले टेलिफोनमार्फत रकम मागेको प्रकरणमा माफी मागेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सञ्चारमाध्यमबाट सार्वजनिक भएको टेलिफोन संवादलाई रास्वपाले गम्भीर रुपमा लिएको जानकारी गराएका छन्। 

‘सभामुखमार्फत माननीय प्रतिनिधिसभा सदस्यका कारणले तपाईंहरुमा परेको चोटप्रति माफी चाहन्छौं,’ सोमबारको बैठकमा सचेतक परियारले भने, ‘यो सम्मानीत संसदको गरिमा बनाउने रास्वपाको यो अभियानमा हामी अक्षुण रहनेछौं र  यो घटनाले हामीलाई कतिपनि विचलित गराउँदैन भन्नेमा हामी विश्वास दिलाउँछौं।’

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड घुस मागेको अडिओ सार्वजनिक भएपछि उनलाई पार्टीले निलम्बन गरेको छ। सो प्रकरणमा छानबिन गर्नका लागि बनेको समितिले ३ दिनभित्र सत्यतथ्य ब्रिफ्रिङ गर्ने पनि उनले सदनलाई जानकारी दिए। 

‘यो छानबिन नसकिने बेलासम्म सांसद तथा पार्टीका साधारण सदस्यका हैसियतले समेत कुनैपनि काम कारबाही नगराउन समेत निर्देशन दिएको छ,’ परियारले भने।

भिडिओ:

संसदमा परियारले राखेको भनाई जस्ताको तस्तैः
रास्वपाको समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद ढाकाकुमार श्रेष्ठको हालै सञ्चारमाध्यमबाट सार्वजनिक भएको टेलिफोन संवादलाई हाम्रो पार्टीले गम्भीर रुपमा लिएको छ। उक्त टेलिफोनवार्ता सार्वजनिक भएसँगै हाम्रो पार्टीले उक्त सम्बन्धमा सत्यतथ्य छानबिन गरी ३ दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन आयोग तथा आचरण समितिलाई निर्देशन दिएको छ। यो छानबिन नसकिने बेलासम्म सांसद तथा पार्टीका साधारण सदस्यका हैसियतले समेत कुनैपनि काम कारबाही नगराउन समेत निर्देशन दिएको छ। 

हामी यहाँ बैठक बसिरहँदा सम्भवतः उहाँको स्पष्टिकरण आइसकेको होला। छानबिनको प्रक्रिया अघि बढ्यो होला भन्ने सभामुखसमक्ष जानकारी राख्न चाहन्छु। 

रास्वपा भ्रष्टाचार र सुशासनलाई आफ्नो प्रमुख अभियान ठान्दछ। रास्वपा लोकतन्त्र र संविधानवाद र विधिलाई मान्दछ। यसो भनिरहँदा भ्रष्टाचारीको कुनै जाति र वर्ग हुँदैन भन्ने हामीलाई लाग्छ। यसलाई रास्वपाले गम्भीर रुपमा लिएको छ। नेपालको राजनीतिमा यस्ता घटना पहिलो भने होइन। यस्ता घटना विगतमा पनि भएका छन्। तर ती सबैको सत्यतथ्य छानबिन भयो भने लोकतन्त्रप्रतिको प्रतिवद्धता अझै प्रतिवद्ध हुन्छ। 

सभामुखमार्फत माननीय प्रतिनिधिसभा सदस्यका कारणले तपाईंहरुमा परेको चोटप्रति माफी चाहन्छौं। यो सम्मानीत संसदको गरिमा बनाउने रास्वपाको यो अभियानमा हामी अक्षुण रहनेछौं र  यो घटनाले हामीलाई कतिपनि विचलित गराउँदैन भन्नेमा हामी विश्वास दिलाउँछौं। संसदीय दलभित्र रहेका राष्ट्रिय पार्टीहरू यस्ता घटनाबाट पर रहनुपर्छ र लोकतन्त्रलाई अझै सुढृढ  बनाउनपर्छ। रास्वपाका तर्फबाट संसदको गरिमामा पर्न गएको मानमर्दनलाई क्षमाप्राथि भन्दै मेरो यो कुरा टुंग्याउँछु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .