ad ad

राजनीति


सरकारको आलोचना गर्दै गगनले भने : प्रचण्ड प्रधानमन्त्री जस्तो हुन सकेनन्

सरकारको आलोचना गर्दै गगनले भने : प्रचण्ड प्रधानमन्त्री जस्तो हुन सकेनन्

फाइल तस्बिर


नेपालखबर
चैत २४, २०७९ शुक्रबार १५:८, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको आलोचना गरेका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयका क्रममा बोल्दै महामन्त्री थापाले प्रचण्ड गठबन्धन दलको साझा प्रधानमन्त्री हुन नसकेको टिप्पणी गरे।

प्रचण्डको उद्घाटन, शिलान्यास र भाषण मोहतिर कटाक्ष गर्दै उनले प्रधानमन्त्रीलाई फुर्सद नै फुर्सद रहेको पनि उल्लेख गरे।

'हाम्रो प्रधानमन्त्रीलाई किन यति फुर्सद छ? उद्घाटन, शिलान्यास र भाषणमा समय ब्यतित गरिरहनु भएको छ', उनले भने, 'म चकित परिरहेको छु।'

उनले प्रचण्ड गठबन्धन दलको प्रधानमन्त्री भएकाले एक्लै हिँड्न खोज्नु ठिक नहुने पनि बताए। 'प्रधानमन्त्रीले टिम चलाउने हो एक्लै हिँड्ने होइन। प्रधानमन्त्रीका लागि सबैभन्दा महत्वपूर्ण प्रधानमन्त्रीको कार्यालय हो', उनले थपे, 'प्रधानमन्त्रीले योबेला सबैभन्दा चुस्त टिम बनाउनुपर्छ। टिमलाई चलाएर अघि बढ्नुपर्छ। तर अहिलेसम्म त्यस्तो देखिएन।'

उनले अवकाश हुन ३ महिना मात्रै बाँकी छँदा सञ्चार मन्त्रालयका सचिव डा. बैकुन्ठ अर्याललाई सरकारले जगेडामा राखेकोप्रति पनि आपत्ति प्रकट गरे।

'सेवानिवृत्त हुन लागेको कर्मचारीलाई थन्क्याइयो', उनले भने, 'अवकाशमा जान केही महिना बाँकी भएको कर्मचारीलाई यसरी जगेडामा पठाउनु कति उचित हो?'

उनले प्रचण्डलाई गठबन्धनको नेता भएर बस्ने समय छोट्याउन पनि भने। 'प्रधानमन्त्रीले गठबन्धनको नेताका रुपमा बैठक बस्ने समय छोट्याउनुपर्छ', उनले भने, 'उहाँले आफ्नो दलको नेता हुने कुरा बिर्सिए हुन्छ। प्रधानमन्त्री त प्रधानमन्त्री जस्तो हुनुपर्यो तर त्यस्तो हुन सकेको छैन।'

उनले गठबन्धन सरकार बनेको चार महिना पुग्न लाग्दा पनि जनताको निराशा कम नभएको बताए। 'जनता यति धेरै निराश छन्, आत्तिएका छन्', उनले भने, 'तर सरकारले उत्साहित बनाउन सकेन, भरोसा दिलाउन सकेन।'

उनले साझा न्यूनतम कार्यक्रम आइसकेकाले प्रधानमन्त्रीले अब ६ महिना मात्रै समय छ भनेर काम गर्नुपर्ने बताए।

'प्रधानमन्त्रीले अब मसँग ६ महिना मात्रै समय छ भनेर काम गर्नुपर्छ', उनले भने, 'साझा न्यूनतम कार्यक्रमको नतिजा आगामी असोजमा यही संसदमा सुनाउने गरी तयारी थाल्नुपर्छ।'

उनले मिटरब्याजीसहितविरुद्ध सरकार निर्मम हुनुपर्ने पनि बताए। 'बोलेर हुँदैन प्रधानमन्त्री एक्सन प्रधान हुनुपर्छ। साझा न्यूनतम कार्यक्रम आयो अब सरकारले गति लिनुपर्छ', उनले भने, 'नियत र निर्णय ठीक भयो भने मात्रै नतिजा आउँछ। हामी सरकार सफल भएको देख्न चाहन्छौँ। कतिपयले यो व्यवस्था असफल होस् भन्ने चाहेका छन्। त्यसैले प्रधानमन्त्रीले काममा केन्द्रित हुनुपर्यो।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .