ad ad

राजनीति


जनमतलाई दरकिनारा गर्दै उपेन्द्रले यसरी फर्काउँदै छन् ‘चतुर खेलाडी’ को पगरी

जनमतलाई दरकिनारा गर्दै उपेन्द्रले यसरी फर्काउँदै छन् ‘चतुर खेलाडी’ को पगरी

नेपालखबर
चैत २१, २०७९ मंगलबार १७:२१, काठमाडौँ

एक भएर चुनाव लड्दासमेत एमाले–माओवादी केन्द्रले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई २०७४ को आम निर्वाचनमा सप्तरी–२ मा रोक्न सकेका थिएनन्। 

तर, त्यही एमालेसँग तालमेल गरी प्रतिस्पर्धा गरेका अध्यक्ष यादव गत निर्वाचनमा सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग लज्जास्पद पराजय भोग्न बाध्य भए। 

२०६४ यता लगातार विजय हासिल गर्दै आएका अध्यक्ष यादव आम निर्वाचन–२०७९ मा पराजित भएपछि राष्ट्रिय राजनीतिमा टिठलाग्दो पात्र बने। राष्ट्रिय मान्यता प्राप्त गरेका दलका अध्यक्षमध्ये पराजित हुनेमा यादव मात्रै थिए।  

तर, त्यो पराजयको एक वर्ष पुग्दानपुग्दै अध्यक्ष यादवले बारा–२ बाट प्रतिनिधि सभा पुग्ने मार्ग सहज बनाइसकेका छन्। सो क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर यादवले आफू प्रतिनिधि सभामा पुग्ने बाटो खोलेका हुन्।

त्यसबाहेक प्रदेश–२ मा जसपाको प्रतिस्पर्धी मधेशी दल जनमत पार्टीलाई सत्ताबाट दरकिनारा गराउनेमा पनि उनले सफलता हासिल गरेका छन्।

चतुर खेलाडी 
नेपाली राजनीतिमा विभिन्न समयमा विभिन्न राजनीतिक पात्रहरुले चतुर खेलाडीको उपमा पाउँदै आएका छन्। पार्टी ३२ सिटमा सीमित हुँदासमेत प्रधानमन्त्री बन्न सकेकाले ‘चतुर नेता’ को पगरी पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शिरमा छ। 

निर्वाचनलगत्तै प्रचण्डलाई प्रधानमन्त्री बनाएर एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस–माओवादीबीचको गठबन्धन टुटाउन सफलता प्राप्त गरेका थिए। त्यससँगै एमालेको सत्तारोहण प्रक्रिया पुनः सुरु भएको थियो। त्यसैले, निर्वाचनपछिका झण्डै दुई महिना ‘चतुर खेलाडी’ को पगरी ओलीको शिरमा रह्यो।  

तर, राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा कांग्रेस सभापति शेरबहादुर देउवा एमाले–माओवादीसहितको गठबन्धन तोड्न सफल भए। त्यो गठबन्धन तोडिएसँगै राष्ट्रपतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भए। 

यो घटनापछि ‘चतुर नेता’ को उपाधि ओलीको शिरबाट देउवाको शिरमा चढ्न आइपुग्यो।  

तर, आमनिर्वाचनपछि अहिलेसम्म आइपुग्दाका गोटीचाल र सफलता हेर्ने हो भने यो उपाधि जसपा अध्यक्ष यादवलाई पनि दिँदा फरक पर्दैन। किनकि उनले निर्वाचनयता पार्टीलाई केही महत्वपूर्ण सफलता दिलाएका छन्। 

जस्तो कि गत आम निर्वाचनमा प्रत्यक्षमा ७ र समानुपातिकमा ५ गरी जसपाले प्रतिनिधि सभामा जम्मा १२ जनालाई मात्र पठाउन सक्यो। अध्यक्ष यादव आफैँ पनि निर्वाचनमा पराजित भए। 

तर, पार्टी नेता रामसहायका लागि अध्यक्ष यादवले उपराष्ट्रपति जस्तो गरिमामय पद सुरक्षित गरिदिए। त्यसपछि उनी आफैँ प्रतिनिधि सभामा पुग्ने मार्गप्रशस्त भएको छ। पार्टी नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि खाली भएको बारा–२ मा उनले उम्मेदवारी दर्ता गराएका छन्। 

मधेश प्रदेशमा पछिल्लो समय जसपाको प्रतिस्पर्धी मधेशवादी दलका रुपमा जनमत पार्टी उदाएको छ। सत्ता गठबन्धनमा रहेर सो पार्टीले सो प्रदेशमा आफ्नो स्थिति थप मजबुत बनाउन खोजेको थियो। तर, उसले चाहेजस्तो मन्त्रालय नपाउने परिस्थिति सिर्जना गर्नमा धेरथोर भूमिका जसपाको पनि रह्यो। 

त्यही कारण जनमत पार्टी सरकारबाट अलग हुन पुगेको छ। र, जनमतको बहिर्गमनसँगै प्रचण्ड नेतृत्वको सरकारमा जसपाको प्रवेश भएको छ।  

हुन त, जनमत पार्टीले सत्ता गठबन्धन परित्याग गरिसकेको छैन। तर, बारा–२ को निर्वाचनको सन्दर्भमा सत्ता गठबन्धनबाट जसपालाई अलग गराउन पनि अध्यक्ष यादव सफल भएका छन्, जहाँ उनी आफैँ जसपाको तर्फबाट प्रतिस्पर्धामा छन्। 

निर्णायक साथ
१० वैशाख (२०८०) मा उपनिर्वाचन हुने तीन निर्वाचन क्षेत्रमध्ये बारा–२ मात्र यस्तो निर्वाचन क्षेत्र हो, जहाँ नेपाली कांग्रेसले आफ्नो उम्मेदवारी दर्ता गराएको छैन। जसपा अध्यक्ष यादवलाई समर्थन गर्दै सो क्षेत्रमा कांग्रेसले आफ्नो उम्मेदवार खडा नगरेको हो। 

स्मरणीय छ, नेपाली कांग्रेस आम निर्वाचन–२०७९ को सबैभन्दा ठूलो दल हो। र, सबैभन्दा ठूलो दलले सो क्षेत्रमा उम्मेदवार खडा नगर्नु आफैँमा आश्चर्यको विषय हो। 

गत आम निर्वाचनमा सो क्षेत्रमा कांग्रेस–माओवादीसहितको गठबन्धनबाट माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहा उम्मेदवार थिए। उपराष्ट्रपति निर्वाचित जसपाका रामसहायप्रसाद यादवसँग उनी झिनो मतले पराजित भए। 

जसपाका यादवले १३ हजार ८ सय २२ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी माओवादीका कुशवाहाले १३ हजार ४ सय ६८ मत प्राप्त गरेका थिए।

त्यो क्षेत्रमा समानुपातिकतर्फ कांग्रेस र माओवादीले प्राप्त गरेको मत हेर्ने हो भने कुशवाहाले प्राप्त गरेको प्रतिस्पर्धी मतमा कांग्रेसको महत्वपूर्ण योगदान थियो भन्ने प्रष्टै देखिन्छ। त्यहाँ समानुपातिकतर्फ माओवादीले ३ हजार २ सय ६५ मत मात्र प्राप्त गर्दा कांग्रेसले ११ हजार १ सय ७९ मत हासिल गरेको थियो।

कांग्रेस मात्र होइन, प्रत्यक्षतर्फको निकटतम प्रतिद्वन्द्वी दल माओवादी केन्द्रको समेत उनले समर्थन प्राप्त गरेका छन्। गत निर्वाचनमा ११ हजार ४३ मत पाएका रामकिशोरप्रसाद यादव र १० हजार ७ सय ५० मत प्राप्त गरेका स्वतन्त्र उम्मेदवार रवीन्द्रप्रसाद यादवको समर्थन पनि उनैलाई देखिन्छ।  

हुन त, सप्तरी–२ मा अध्यक्ष यादवलाई पराजित गरेको जनमत पार्टीले माओवादी उम्मेदवार कुशवाहालाई नै पार्टीमा भित्र्याएर उम्मेदवार बनाएको छ। तर, समानुपातिकतर्फ जसपा एक्लै ठूलो दल रहेको क्षेत्रमा कांग्रेस, माओवादी केन्द्र लगायतका दलको समर्थनपछि यादव थप बलियो बनेका छन्। 

अझ रोचक त, जसपाको परम्परागत प्रतिस्पर्धी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले उपनिर्वाचनमा अध्यक्ष यादवलाई समर्थन गरेको छ। सो क्षेत्रमा प्रतिस्पर्धाको घोषणा गरेका लोसपा नेता राजेन्द्र महतो पछि हटिसकेका छन्।  

उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीसँग सहकार्य गर्ने लिखित समझदारी गरेको लोसपाले मतदानका दिन भने जसपा उम्मेदवार यादवलाई नै मत दिएको थियो। 

बारा–२ मा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पूर्वडीआईजी रमेश खरेल र जनमतबाट कुशवाहा उम्मेदवार हुने कुराले तरङ्ग सिर्जना नगरेको होइन। तर, यसैपनि जसपा बलियो रहेको निर्वाचन क्षेत्रमा अध्यक्ष यादवले जसरी कांग्रेस, माओवादी, लोसपासहितको दलहरुको समर्थन हासिल गरेका छन्, त्यसले उनलाई सो निर्वाचन क्षेत्रमा थप बलियो बनाएको छ। 

अध्यक्ष यादवका लागि यस्तो सकारात्मक परिस्थितिको सिर्जना पक्कै पनि उनको सानोतिनो गोटीचाल र राजनीतिक चतुर्याइँबाट भएको होइन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .