ad ad

राजनीति


बारा २ उपनिर्वाचन : मंसिरमा पराजित तीनैजना वैशाखमा भिड्दै

बारा २ उपनिर्वाचन : मंसिरमा पराजित तीनैजना वैशाखमा भिड्दै

फाइल तस्बिर


नेपालखबर
चैत १६, २०७९ बिहिबार १३:२०, काठमाडौँ

बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा रोचक प्रतिस्पर्धा हुने भएको छ।

संघीय सरकारका लागि बनेको १० दलीय सत्ता गठबन्धनबाटै मंसिर ४ को निर्वाचनमा पराजित तीन नेताबीच बारा २ को उपनिर्वाचनमा भिडन्त हुन लागेको हो ।

अहिलेसम्म बारा २ को उपनिर्वाचनका लागि जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका उम्मेदवार करिब पक्का भएको छ।

जसपाबाट अध्यक्ष उपेन्द्र यादव, लोसपाबाट वरिष्ठ नेता राजेन्द्र महतो र जनमतबाट बुधबार मात्रै माओवादी छाडेका नेता शिवचन्द्र कुशवाहा भिड्ने निश्चित भएको हो। 

उपेन्द्र यादव 


मंसिर ४ को निर्वाचनमा सप्तरी क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतसँग भिडेका थिए उपेन्द्र यादव।

तराई-मधेशको राजनीतिमा आफ्नो बलियो पकड रहेको बताउँदै आएका यादवलाई राउतले दोब्बरभन्दा बढी मतले हराएका थिए।

पटक पटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएका राउत दोस्रो चोटी सप्तरी २ मा उठ्दा राउतसँग लज्जास्पद हार भोगे। 

३५ हजार ४२ मत ल्याएर राउत विजयी हुँदा यादवले सप्तरी २ मा १६ हजार ९७९ मत मात्रै ल्याउन सके। राउतले त्यसबेला यादवभन्दा १८ हजार ६३ मत धेरै ल्याएका थिए। 

भर्खरै खोलिएको पार्टी अध्यक्षसँग नमिठो हार भोगेदेखि नै यादव संसदमा फर्किने विकल्प खोजिरहेका थिए।

मंसिरको चुनावमा एमालेसँग तालमेल गरेका यादवले त्यही खोजीका क्रममा फागुन २५ मा भएको राष्ट्रपति निर्वाचनमा कांग्रेस र माओवादीसँग सहकार्य गरे।

बारा २ बाट निर्वाचित जसपाका सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउने योजनासहित उनले एमाले नेतृत्वमा पुस १० गते बनेको गठबन्धन छाडेर कांग्रेस-माओवादीसँग मिल्न पुगे।

राष्ट्रपतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई सघाएको जसपाले चैत ३ गते भएको उपराष्ट्रपति निर्वाचनमा ९ दलको साथ लिएर रामसहायलाई उपराष्ट्रपति बनाउन सफल भयो। 

रामसहाय उपराष्ट्रपति भएसँगै उपेन्द्र सप्तरी छाडेर पश्चिमतिर बारा आउन तम्तयार थिए। यसअघि मोरङ र सुनसरीबाट पनि चुनाव लडिसकेका उनी २०७४ मा कोशी तर्दै सप्तरी आएका थिए। २०७४ मा उनले सुनसरी ४ कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई छाडिदिएका थिए। 

तर सप्तरी २ बाट दोहोरिँदा सीके राउतले नराम्ररी हार चखाए। राउतसँगको हारले संसदीय राजनीतिमा धक्का ब्यहोरेका उनी वैशाख १० उपनिर्वाचनमा बारा आउँदा पनि गठबन्धन दलबाटै प्रतिस्पर्धी पाउने पक्का भएको छ।

सजिलै चुनाव जित्ने योजना बनाएका यादवलाई अब शिवचन्द्र कुशवाहा र राजेन्द्र महतोको टक्कर सामना गर्नुपर्ने भएको छ।

राजेन्द्र महतो


लोसपा वरिष्ठ नेता महतोलाई पार्टीको बिहीबार बसेको कार्यकारिणी बैठकले बारा २ मा उठाउने निर्णय गरिसकेको छ।

मंसिर ४ को निर्वाचनअघि उपेन्द्र यादव नेतृत्वको जसपा पाँच दलीय गठबन्धन छाड्दै एमालेसँग तालमेलमा गएपछि लोसपा बालुवाटार छिरेको थियो।

अन्तिम समयमा पाँच दलसँग मिलेको लोसपाका अन्य नेतालाई गठबन्धनले सघायो। तर सर्लाही क्षेत्र नम्बर २ मा उक्त गठबन्धनबाटै दुई जना उम्मेदवार भए।

एकजना थिए नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यावद। जसले मा‌ओवादी केन्द्रको हँसिया हथौडा लिएर चुनाव लडेका थिए। 

अर्का थिए लोसपा वरिष्ठ नेता महतो। गठबन्धनबाटै दुई नेता उठेपछि पाँच दलले यादलाई सघायो भने महतो एक्लै परे। मित्रवत प्रतिस्पर्धा गर्ने भने पनि पाँच दलले यादवलाई सघाउँदा महतोले हार भोगे।

२०७४ मा धनुषा ३ बाट उठेर कांग्रेस नेता विमलेन्द्र निधिलाई हराएका महतो गत मंसिरम सर्लाही फर्किँदा नराम्ररी पराजित भए। 

त्यसबेला सर्लाही २ महतोलाई नेपाल समाजवादी पार्टीका राय यादवले २ हजार भन्दा धेरै मतले हराए। 

मधेश आन्दोलनबाट चर्चाको शिखरमा पुगेका उनले २०७४ को निर्वाचनमा चर्को मधेशवादको नारा दिँदै निधिलाई हराएका थिए। तर मंसिरमा गृहजिल्ला फर्किएर हार्न पुगेका महतो पनि वैशाख १० उपनिर्वाचनमा उपेन्द्र यादवसँग भिड्न बारा पुग्ने पक्का भएको छ। 

शिवचन्द्र कुशवाहा


२०६४ सालको निर्वाचनमा एकीकृत माओवादीबाट संविधानसभामा निर्वाचित शिवचन्द्र कुशवाहाले २०७० सालमा सद्‍भावना पार्टी रोजे।

बारा २ बाट २०७० सालको संविधानसभा निर्वाचनमा माओवादीले टिकट नदिएपछि उनी राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमा प्रवेश गरेका थिए।

उनलाई त्यसबेला सद्भावनाका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले पार्टी प्रवेश गराउँदै बारा जिल्ला अध्यक्ष पनि बनाएका थिए।

तर उनी त्यसपछि फेरि माओवादीमै फर्किएका थिए। उनले गत मंसिर ४ को निर्वाचनमा बारा २ बाट पाँच दलीय गठबन्धनको साथमा माओवादीबाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गरे।

तर पाँच दलको साथ मिल्दा पनि एमालेसँग मिलेर उठेका जसपा नेता रामसहायप्रसाद यादवसँग उनी झिनो मतले पराजित भए।

मंसिरमा माओवादीबाट उठेर हारेपछि पार्टी फेरिरहने पृष्ठभूमिका उनले बुधबारदेखि जनमत पार्टीको यात्रा थालेका छन्। 

रोचक के भएको छ भने २०७० मा सद्भावना पार्टीमा आफूलाई प्रवेश गराएका राजेन्द्र महतोसँग उनले वैशाख १० को उपनिर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने भएको छ।

अर्कातिर रामसहायलाई उपराष्ट्रपति बनाउन सफल जसपा अध्यक्ष उपेन्द्र यादव पनि उनका अर्का प्रतिस्पर्धी हुन्। 

मंसिर ४ को निर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जसपाका रामसहायप्रसाद यादव १३ हजार आठ सय २२ मतसहित विजयी भएका थिए। 

उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार चार सय ६८ मत ल्याएका थिए।  कुशवाहा केवल तीन सय ५४ मतले हारेका थिए। 

बारा २ मा जसपासँग असन्तुष्टि जनाउँदै खरायो चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका रामकिशोरप्रसाद यादवले ११ हजार ४३ मत ल्याएका थिए। तर उनी उपेन्द्र यादव बारा २ मा आउने भएसँगै अहिले जसपामै फर्किसकेका छन्। 

पार्टी फेरिरहने कुशवाहा बुधबारदेखि डा. सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेर वैशाख १० को उपनिर्वाचनमा भिड्न तयार भएका छन्। 

जसपाका अध्यक्ष यादवलाई नेपाली कांग्रेस र उनको पूर्वपार्टी माओवादीलेसमेत सघाउने अवस्थामा उनी जनमतबाट एक्लै चुनाव जित्ने चुनौतीसहित नयाँ पार्टीमा लागेका हुन्। 

यादवहरुको बलियो मत रहेको बारा २ मा उपेन्द्र यादव र राजेन्द्र महतोसमेत मैदानमा उत्रिँदा कुशवाहालाई सहज भने हुने छैन। 

उता नेकपा एमालेले पनि त्यहाँका लागि उम्मेदवार तय गरेको छैन। कांग्रेसले जसपालाई सघाउने सम्भावना भए पनि आफैं उम्मेदवारी दिने नदिने कुराको निर्णय चैत १९ मा मात्रै गर्ने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .