ad ad

राजनीति


निर्वाचनअघि नै आफैँ मन्त्री बन्ने रविको प्रयास, प्रचण्डसँग राखे दुई सर्त

निर्वाचनअघि नै आफैँ मन्त्री बन्ने रविको प्रयास, प्रचण्डसँग राखे दुई सर्त

रवि लामिछानेले प्रचण्डसँग चितवन २ को उपचुनावमा आफुलाई सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनाउनु पर्ने शर्त राखेका छन्


सागर न्यौपाने
चैत १५, २०७९ बुधबार १८:१९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रचण्डसँग चितवन २ को उपचुनावमा आफूलाई सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनाउनु पर्ने सर्त राखेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन रविले दुई सर्त राखेको खुलेको हो।

रास्वपाका एक सांसदले नेपालखबरलाई बताएअनुसार सभापति रवि लामिछानेले गैरसांसदकै हैसियतमा मन्त्री बन्न पाउनुपर्ने र चितवन क्षेत्र नम्बर २ को उपचुनावमा आफुलाई सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनाउनु पर्ने सर्त अघि सारेका छन्।

‘हाम्रो पार्टीले तीनवटा मन्त्रालयमा दाबी गरेको छ,’ रास्वपाका ती सांसदले नेपालखबरसँग भने, ‘रविजीलाई अहिले नै मन्त्री बनाउनुपर्ने बनाउनु पर्ने र उपनिर्वाचनमा चितवन २ मा सत्तापक्षको साझा उम्मेदवार बनाउनुपर्ने सर्त राख्नुभएछ।’

प्रतिनिधिसभामा अहिले रास्वपाका १९ सांसद छन्। रास्वपाले चितवन २, तनहुँ १ र बारा २ को उपनिर्वाचनमा एकल उम्मेदवारी दिने निर्णय गरिसकेको छ।   

प्रधानमन्त्री प्रचण्ड मन्त्रिमण्डल विस्तारका लागि गठबन्धन दलसँग छलफलमै छन्। मन्त्रिपरिषद विस्तारका लागि तीन दिनदेखि १० दलको बैठक बसिरहेको छ। 

यहीबेला रास्वपा सभापति लामिछाने पनि सक्रिय छन्। अहिलेसम्म गठबन्धन बैठकमा रास्वपा सहभागी भएको छैन।

रास्वपाले उपप्रधान र गृहमन्त्रालयमा दाबी गरेको छ। तर, उक्त मन्त्रालयमा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई ल्याउने प्रधानमन्त्रीको तयारी छ। उनी अहिले भौतिक मन्त्रालयमा छन्।

‘पहिले पाएको मन्त्रालयमा पनि दाबी गरिएको छ तर, रास्वपाले गृह पाउने सम्भावना छैन,’ ती सांसदले थपे।

सभापति रवि आफैँले मन्त्री बन्नेगरी योजना बनाएपछि पार्टीका अन्य सांसदहरु असन्तुष्ट बनेका छन्।

‘सभापतिजीले आफैँलाई सेन्टरमा राख्दा पार्टी कमजोर हुने देखियो भन्ने अरु नेताहरुमा परेको छ,’ उनले थपे,‘नेताहरु असन्तुष्ट भए पनि सभापतिको कदमविरुद्ध बोल्न सक्नुभएको छैन ।’

प्रधानमन्त्रीले मंगलबार बसेको सत्ता गठबन्धन बैठकमा रास्वपा सरकारमा सहभागी हुने भन्दै ब्रिफिङ गरेका थिए।

रास्वपाका ती सांसदले सभापतिले प्रधानमन्त्री प्रचण्डलाई मंगलबार सिंहदरबारमा भेटेर आफ्नै नेतृत्वमा सरकारमा जाने अडान लिएको खुलाए।

‘गठबन्धन बैठकअगाडि प्रधानमन्त्रीलाई सिंहदरबारमा पुगेर सभापतिजीले भेट गर्नुभएको थियो। म सरकारमा आउँछु, वातावरण मिलाइदिनुपर्‍यो,’ रविको भनाइ उद्धृत गर्दै ती सांसदले नेपालखबरसँग भने, ‘प्रधानमन्त्रीजीले चुनावअगाडि नआउनुस् अरु साथीलाई पठाउनु भए निकै राम्रो हुन्छ भन्नु भएछ।’

तर, रविले थपे, ‘अरुको नेतृत्वमा पठाएर हुँदैन, मै आउनुपर्छ।’

रविको प्रस्तावबारे प्रचण्डले १० दलको बैठकमा ब्रिफिङ गरेका थिए।

‘रविजीले सरकारमा आफ्नै नेतृत्वमा सहभागी हुन्छु, वातावरण बनाइदिनुपर्‍यो भन्नुभयो, तपाईँहरुको धारणा के छ?’, प्रचण्डले बैठकमा राखे।

केही नेताहरुले प्रधानमन्त्रीको अधिकार क्षेत्रमा पर्ने विषय भएकोले तपाईंले निर्णय गर्दा हुन्छ भन्ने जवाफ दिए। केही दलका नेताले भने प्रचण्डलाई सचेत गराउँदै सोधेका थिए–‘रविजीलाई अहिले सरकारमा ल्याउँदा भोलि सरकार छोडेर एमालेसँग मिले के हुन्छ?’

त्यसपछि प्रधानमन्त्रीले उपनिर्वाचनअघि रविकै नेतृत्वमा सरकारमा नल्याउने तर, अरु नेताहरु जसलाई पठाए पनि हुन्छ भन्ने पक्षमा आफू रहेको बताएको गठबन्धनका एक नेताले जानकारी दिए। 

रास्वपाका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले अहिलेसम्म मन्त्रालयको टुंगो नलागेको दाबी गरे।

‘सरकारमा जान कुरा मिलेको छैन, हामीले साविकको मन्त्रालय मागेका छौँ,’ ढकालले भने, ‘पहिलाको सहमतिको निरन्तरता हुनुपर्ने हाम्रो अडान कायमै छ, तर अहिलेसम्म क्लियर भइसकेको छैन।’

रास्वपाबाट यो गठबन्धनमा मन्त्री बन्न उपसभापति डोलप्रसाद अर्याल, विराजभक्त महर्जन, सोविता गौतम, मनिष झा र सन्तोष परियार चर्चामा छन्। 

यसअघि एमाले–माओवादीसहित ७ दलीय गठबन्धनमा शिक्षामन्त्री बनेका शिशिर खनाललाई पनि फेरि क्याबिनेटमा पठाउनुपर्ने आवाज पार्टीभित्र उठेको छ।

‘मन्त्री बन्ने चर्चामा रहे पनि सभापति रविजीले आफ्नै चाहनाले निर्णय गर्नुभएको छैन,’ एक पदाधिकारीले भने, ‘उस्तै परे उहाँले उपनिर्वाचन जितेर आफ्नै नेतृत्वमा सरकारमा जाने निर्णय गर्न बेर छैन।’

तर, रास्वपाको केन्द्रीय समिति र संसदीय दलमा यसपटक यो विषयले प्रवेश पाउनेछ।

नागरिकता प्रकरणले सभापति लामिछानेको सांसद पद गत माघ १३ गते गुमेको थियो। 

त्यसबेला पनि रविले गैरसांसदका रुपमा फेरि उपप्रधानसहित गृह मन्त्रालय ताकेका थिए। तर उनी राहदानीसम्बन्धी विवादमा पनि जोडिएकाले प्रधानमन्त्री सकारात्मक हुन सकेनन्। 

प्रधानमन्त्री प्रचण्ड उनको योजनामा सहमत नभएपछि २२ माघमा रास्वपाले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएको थियो। 

चितवन २ बाट जितेका उनको पद गुमेपछि वैशाख १० गते उपनिर्वाचनको मिति तोकिएको छ। उनी त्यहीँबाट दोहोरिने तयारीमा छन्।

उपनिर्वाचनका लागि उम्मेदवार उठाउने विषयमा छलफल गर्न कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बिहीबार बस्दैछ। त्यही बैठकले तनहुँ १ र चितवन २ को उम्मेदवारबारे निर्णय लिने नेताहरुले बताएका छन्। 

नेकपा एमाले र माओवादी केन्द्रसहित ७ दलीय गठबन्धनबाट ११ पुसमा उनी उपप्रधान र गृहमन्त्री बनेका थिए।

त्यसबेला माओवादीको भागमा परेको गृह रास्वपालाई दिइएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीको योजनाअनुसार गृहमा रविले दाबी गरेको आरोप पनि लागेको थियो।

तर, एमालेले सरकार छोड्नुअघि नै रास्वपा बाहिरिएको थियो।

सरकार छोडे पनि समर्थन कायमै राखेको रास्वपाले ६ फागुनमा प्रधानमन्त्री प्रचण्डलाई फेरि विश्वासको मत दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .