ad ad

राजनीति


प्रदीपलाई मन्त्री बनाउन गगन र विश्वको प्रस्ताव, रोक्न देउवाले फाले राज्यमन्त्रीको कार्ड

युवा चाहिने भन्दै सिटौला पनि लबिङमा
प्रदीपलाई मन्त्री बनाउन गगन र विश्वको प्रस्ताव, रोक्न देउवाले फाले राज्यमन्त्रीको कार्ड

फाइल तस्बिर


केशव सावद
चैत १५, २०७९ बुधबार १४:४१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चैत ६ गते संसदबाट दोस्रो पटक विश्वासको मत लिने तयारीमा थिए। 

संसद बैठक चल्दै गर्दा नेपाली कांग्रेसका महामन्त्री गगन थापा छेवैमा रहेको चमेना गृहबाहिर चार जना पत्रकारहरुसँग राजनीतिक कुराकानी गरिरहेका थिए। 

नेपाली राजनीतिमा चर्चामा आइरहने उनी गफिएको देखेपछि अरु पत्रकार मिसिन आइपुगे। पत्रकारहरुको हुल बाँधिएपछि उनले कुरा मोडे, हाँसोठट्टा सुरु भयो। 

हाँसोठट्टाबीच महामन्त्री थापासँग एकजनाले सोधे, ‘दाइ अब के मन्त्री बन्ने? उनले जवाफ दिइगए, ‘कहाँ मन्त्री हुनु यार। मन्त्रीभन्दा ठूलो महामन्त्री छँदैछु नि!’ सबै गलल हाँसे। 

केहीबेरमै कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल चमेनागृहबाट बाहिरिँदै पत्रकारबीच रहेका महामन्त्री थापा भएको ठाउँमा पुग्छन्। उनी आउनेबित्तिकै थापाले भने, ‘ल स्वास्थ्यमन्त्रीजी आइपुग्नुभयो।’ 

पौडेललाई नमस्कार र हात मिलाउने अधिकांश पत्रकारहरुले अग्रिम शुभकामना भन्दै खुशी व्यक्त गरे। उनले हाँस्दै भनेका थिए– महामन्त्रीजीले यसो भन्नुहुँदो रहेछ र त तपाईं स्वास्थ्यमन्त्री बन्दै हो भनेर पत्रकार साथीहरुको फोन आउँदो रहेछ। 

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुअगाडिदेखि सांसद पौडेललाई मन्त्री बनाउन लबिङमा देखिएका महामन्त्री थापाले औपचारिक रुपमै सभापति शेरबहादुर देउवासमक्ष नाम सिफारिस गरिसकेका छन्। 

थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले चैत १३ गते धुम्बाराही पुगेर पौडेललाई मन्त्री बनाउनुपर्ने प्रस्ताव सभापति देउवासमक्ष राखेका हुन्। महामन्त्रीद्वयसँगनिकट एक नेताका अनुसार उनीहरुले पौडेललाई स्वास्थ्यमन्त्री बनाउन प्रस्ताव गरेका हुन्। 

ती नेताका अनुसार महामन्त्रीद्वयले सभापति देउवासँग भनेका छन्, ‘सरकारमा जाँदा युवाले आशा गरेका अनुहार देखिने स्थिति बनाउनु पर्छ। प्रदीपलाई स्वास्थ्यमन्त्री बनाउनुस्। उनले राम्रो काम गर्न सक्छन्। हामी पनि सघाउँछौँ।’

महामन्त्री थापा र शर्माले नयाँ पुस्ताले आश गरेका अनुहार सरकारमा पठाउँदा पार्टीको हितमा हुने बताएको पनि ती नेताको भनाइ छ। ‘उहाँहरु (महामन्त्रीद्वय) ले आफूहरु दुवैले मन्त्री नबन्ने भनिसकेको र युवाले पत्याउने अनुहारका रुपमा प्रदीपजीलाई मन्त्री बनाउँदा पार्टीका लागि राम्रो हुने कुरा राख्नुभएको छ,’ उनले भने। 

ती नेताले समग्रमा मन्त्रिपरिषद्मा पठाउने अनुहारहरु समावेशी हुनुपर्ने र सांसद पौडेल छुट्न नहुनेसम्मको आग्रह सभापति देउवासमक्ष गरेको पनि जानकारी दिए। देउवाले जवाफमा आफू मन्त्रिपरिषद्मा पठाउने नाम चयनका लागि समस्यामा रहेको गुनासो गरेको बताइएको छ। 

महामन्त्री थापा र पौडेल

‘दुवै महामन्त्रीले प्रस्ताव गर्नुभयो। जवाफमा सभापतिले फेरि–फेरि गरौँला नि, म समस्यामा छु। जो पनि आउँछ, मन्त्री माग्छ। कस–कसलाई दिने। हामीले मन्त्री पाउने संख्या धेरै छैन भन्नुभयो,’ महामन्त्रीद्वय थापा–शर्मा र देउवाबीचको कुराकानीबारे केन्द्रीय सदस्यसमेत रहेका ती नेताले भने। 

तर, धुम्बाराहीनिकट स्रोतले भने महामन्त्रीद्वयसँग सभापति देउवाले सांसद पौडेललाई राज्यमन्त्री बन्न भनेको दाबी गरेको छ। यद्यपि, इतर समूहका ती केन्द्रीय सदस्य यस्तो प्रस्ताव नआएको बताउँछन्। 

काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद पौडेललाई मन्त्री बनाउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि जोडबल गरिरहेका छन्। उनले सभापति देउवालाई भेटेरै पौडेललाई मन्त्री बनाउन प्रस्ताव गरेका छन्। 

सिटौलाले ‘पब्लिक इमेज’ भएका र दुवै महामन्त्रीले सिफारिस गरेका पौडेललाई मन्त्री बनाउँदा पार्टीले युवालाई अवसर दिएको सन्देश जानेसमेत बताएका छन्। 

‘तनहुँमा टिकट दिनुभएन। काठमाडौँ आएर एमालेका वरिष्ठ नेतालाई हराउँदै सांसद बनेका छन्। पब्लिकल्ली पनि राम्रो छ। फेरि महामन्त्रीहरुले सिफारिस नै गरेका छन्,’ सिटौलाले देउवासमक्ष राखेको कुरा उद्धृत गर्दै पौडेलनिकट एक नेता भन्छन्, ‘पार्टीले युवालाई अवसर दिएको देखिनुपर्छ। प्रदीप जस्ता नेतालाई रिवार्ड गर्नुपर्छ।’  

नेता सिटौलाले सभापति देउवासमक्ष पार्टीबारे चिन्ता व्यक्त गर्दै पार्टीको भविष्यका लागि पनि युवा पुस्ता नेतृत्वमा आउनुपर्नेमा जोड दिएका बताइएको छ। 

‘म त सानै ठाउँबाट संगठन गरेर दुःख गरेर आएको मान्छे, मलाई त पार्टीको चिन्ता छ,’ सिटौलानिकट स्रोतले देउवासँगको कुराकानीबारे जानकारी दिँदै भने, ‘पार्टीको भविष्यका लागि यस्ता मान्छे नेतृत्वमा आउनुपर्छ। प्रदीप जस्ता युवालाई अघि सार्दा पार्टीलाई नै फाइदा गर्छ। तपाईंले उनलाई मन्त्री किन बनाउनुहुन्न?’

पार्टीको १४ औँ महाधिवेशनमा नेता पौडेल सभापति देउवाको समूहबाट महामन्त्रीका उम्मेदवार थिए। तर, गत पुस ६ गते सम्पन्न संसदीय दलको निर्वाचनमा उनी महामन्त्री थापाको पक्षमा उभिएका थिए। पौडेल समूह छाडेर इतर समूहको पक्षमा उभिएपछि देउवा उनीसँग रिसाएका छन्। 

तर, पौडेलनिकटस्थ सभापति देउवासँग सम्बन्ध राम्रै रहेको दाबी गर्छन्। ती निकटस्थका अनुसार केही दिनअघि संसद भवनमा दुवै नेताबीच मन्त्रिपरिषद् विस्तारबारे कुराकानी भएको थियो। 

‘अस्ति संसद भवनमा सभापति र प्रदीप दाइबीच कुराकानी भएको थियो। उहाँलाई मन्त्री बनाउन सभापति पोजेटिभ नै हुनुहुन्छ,’ उनले भने, ‘सरकारमा जानेहरुको नामबारे छलफल भइरहेको छ, अहिले होला, अर्कोपल्ट होला, उमेर छँदै छ नि भन्नुभएको छ।’     

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .