प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिँदैछन्।
नेकपा एमालेले गत फागुन १५ गते समर्थन फिर्ता गरेपछि उनले नेपाली कांग्रेससहितको पुरानै गठबन्धनमा फर्किएर १० दलीय मोर्चा बनाएपछि विश्वासको मत लिन लागेका हुन्।
पुस १० मा बनेको सात दलीय गठबन्धन छाडेर नेपाली कांग्रेससँगै प्रचण्डले सहयात्रा थाल्दा एमाले संघदेखि प्रदेशसम्म तीन महिनामै प्रतिपक्षमा पुग्ने अवस्था आएको छ।
संघीय संसदमा आइतबारदेखि नै प्रतिपक्षी बेन्चमा अर्थात सभामुखको देव्रेतर्फको आशनमा बसिसकेको एमालेको पनि विश्वासको मत पाउने संकेत प्रधानमन्त्री प्रचण्डले गरेका छन्।
आइतबार संसद बैठकबाट बाहिरिने क्रममा उनले सबै सांसदबाट विश्वासको मत पाउने विश्वास व्यक्त गरे।
यसअघि ९९ दशमलव २५ प्रतिशत सांसदको विश्वासको मत पाएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सोमबार शतप्रतिशत सांसदको विश्वासको मत पाउने दाबी गरेका हुन्।
एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसमेत सरकारबाट बाहिरिएपनि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट ती दलको पनि मत पाउने बताए।

हालसम्म उनलाई कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने औपचारिक रुपमा निर्णय गरिसकेका छन्। अन्य दलले पनि सोमबार बिहानसम्म निर्णय लिइसक्नेछ।
प्रचण्डको यो भनाइलाई लिएर एमालेका नेताहरुले भने कटाक्ष गरेका छन्। उनीहरुले प्रचण्डले कांग्रेस जस्तो दक्षिणन्थी शक्तिसँग मिलेर कम्युनिष्ट शक्तिहरुलाई छिन्नभिन्न गर्ने काममा लागेकाले विश्वासको मत दिने कुरै नहुने बताएका छन्।
प्रचण्डको उक्त दाबीबीच नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले नेपालखबरसँग कुरा गर्दै आफूले पहिले नै प्रतिपक्षमा रहने स्पष्ट पारिसकेको उल्लेख गरे।
‘हामीले त अस्तिनै निर्णय गरिसकेका छौँ प्रष्टसँग। सभामुखलाई र संसद सचिवालयलाई खबर गरिसक्यौँ प्रमुख प्रतिपक्षमा बस्ने ठाउँ दिनु भनेर’, उनले भने, ‘आज पनि हामी प्रमुख प्रतिपक्षमा बसिसकेका छौँ। सभामुखको देव्रेतर्फ बसिसक्यौँ। हाम्रो संसद कार्यालयको बोर्डहरु पनि फेरिएको छ। हामी प्रष्ट छौँ, हामी प्रतिपक्षमा बस्छौँ।’
नेम्वाङले प्रचण्डले बीचमै बाटो मोडिसकेकाले अब एमाले प्रतिपक्षी भूमिकामा दह्रोसँग उभिने बताए।
‘प्रतिपक्षको जिम्मेवारी संसदीय मूल्य र मान्यताअनुसार निर्वाह गर्छौँ’, उनले भने, ‘प्रधानमन्त्रीलाई सयमा सय मत आउँछ भन्ने लाग्ला, उहाँ विचित्र निर्णय गर्नुहुन्छ, विचित्र विचित्र बोल्नु हुन्छ।’
उनले पार्टीको निर्णय भइसकेकाले अब संसदीय दलको सोमबारको बैठकले त्यसलाई औपचारिकता दिने बताए।
‘हामीले संसद सचिवालयलाई लेखेर दिएका छौँ। कांग्रेसको औपचारिक निर्णय आइनसकेकाले संसद बैठक सारियो। तर आजदेखि सबै कुरा प्रष्ट भएको छ’, उनले भने, ‘संसदीय दलले निर्णय गर्न मात्रै भोलिलाई बैठक राखिएको हो।’
उनले प्रचण्डलाई विश्वासको मत नदिँदा प्रदेश सरकार पनि गुमाउनु अनौठो नहुने बताए।
‘विश्वासको मत नदिँदा प्रदेश सरकारको पनि कुरा रहला, हामी संविधान र लोकतान्त्रिक मूल्य र मान्यता अनुसार चल्छौँ’, उनले भने, ‘कतातिर मन्त्री घट्ला, सरकार छाड्नुपर्ला भनेर चल्दैनौँ। प्रदेशमा सरकार लड्छ कि के हुन्छ भनेर हामी चल्दैनौँ।’

त्यस्तै नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले नेपालखबरसँग कुरा गर्दै प्रचण्डले कांग्रेसलाई बोकेर कम्युनिष्ट फुटाउन लागेकाले विश्वासको मत दिने प्रसंग नै नहुने बताए।
‘प्रचण्डले कम्युनिष्ट गठबन्धन तोडेर कांग्रेसलाई बोक्दै हिँडे। अब उनलाई विश्वासको मत दिएर सहकार्य गर्ने कुराको अर्थ छैन’, उनले भने, ‘प्रचण्ड अब सुध्रिने अपेक्षा पनि छैन। एमालेले फेरि उनलाई साथ दिए पनि फेरि धोका मिल्छ। त्यसैले हामी विश्वासको मत दिने पक्षमा छैनौँ।’
प्रचण्ड भूराजनीतिक चक्रब्यूहमा फसेको आरोप लगाउँदै बास्कोटाले उनी त्यसबाट निस्किने सम्भावना नरहेको टिप्पणी गरे।
‘प्रचण्ड विदेशी शक्तिको इशारामा चलिरहेका छन्। उनी त्यहाँबाट निस्किने अवस्थामा छैनन्’, उनले भने, ‘एकपछि अर्को धोका पाएका छौँ। उनकै कारण जुटिसकेका कम्युनिष्ट छिन्नभिन्न भएका छन्। अब उनी सुध्रिने विश्वास हामीलाई छैन। त्यसैले अहिले हामी प्रष्ट छौँ, एमाले ढुक्कसँग प्रतिपक्षमा बस्छ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीको पहलमा पुस १० गते बनेको तत्कालीन सात दलीय गठबन्धन पुस २६ गतेदेखि संकटमा परेको थियो।
पुस २६ मा कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन जनाएसँगै एमाले अध्यक्ष ओलीले राष्ट्रपतिको ढोक्सा थापेको भए त्यो पूरा नहुने बताएका थिए।
पुस १० मा भएको समझदारी अनुसार राष्ट्रपति एमालेले पाउने अडान ओलीको थियो। तर प्रचण्डले राष्ट्रिय सहमतिका नाममा फागुन २५ गते भएको राष्ट्रपतिको निर्वाचनमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई साथ दिएर जिताइसकेका छन्।
राष्ट्रपतिमा धोका पाएपछि अब प्रचण्डलाई विश्वासको मत दिने पक्षमा एमाले नरहेको नेताहरुको भनाइ छ।
Shares

प्रतिक्रिया