ad ad

राजनीति


अप्ठेरो पर्दा अष्टलक्ष्मी, ओलीले किन गरे उपराष्ट्रपति चुनावमा ‘भोट क्रस’ हुने संकेत?

अप्ठेरो पर्दा अष्टलक्ष्मी, ओलीले किन गरे उपराष्ट्रपति चुनावमा ‘भोट क्रस’ हुने संकेत?

फाइल तस्बिर


सागर न्यौपाने
चैत २, २०७९ बिहिबार ६:४१, काठमाडौँ

अष्टलक्ष्मी शाक्य नेकपा एमालेमा सांगठनिक कौशल भएकी उच्च तहकी (उपाध्यक्ष) एकमात्र महिला नेता हुन्।

नेपाली राजनीतिका थोरै संघर्षशीलमध्येका नेतामा पर्छिन उनी। 

पार्टीलाई विधि र प्रक्रियाअनुसार चलाउनुपर्ने पक्षमा वकालत गर्ने उनी संकटका बेला नेतृत्वको अवसरका रुपमा अघि सारिन्छन्। उनको राजनीतिक विगतले त्यही भन्छ। 

अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपतिमा उठाउनुलाई एमालेकै नेताहरुले त्यही रुपमा अथ्र्याएका छन्। 

२०७८ भदौ २ गते उनले बागमती प्रदेशको पहिलो महिला मुख्यमन्त्री बन्ने अवसर पाएकी थिइन्। तर, दुईमहिनामै (२०७८ कात्तिक १०) उनले राजीनामा दिनुपर्‍यो। एमालेलाई सजिलो भएको अवस्थमा उनले त्यो अवसर पाइनन्। अध्यक्ष ओलीले अरुलाई नै त्यो अवसर दिए।

२०७८ असार २८ मा कांग्रेससहित पाँच दलीय गठबन्धनबाट शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि सातै प्रदेशका सरकार हेरफेर भए। 

नयाँ गठबन्धनका कारण शाक्य नेतृत्वको सरकार पनि अल्पमतमा प¥यो र दुई महिनामै बहुमत गुमायो। अफ्ठेरो अवस्थामा मुख्यमन्त्री बनेकी उनले कार्यकाल यादगार बनाउने गरी काम गर्ने समय नै पाइनन्। 

‘सहज अवस्थामा हाम्रो अध्यक्षको रोजाई उहाँकै वरिपरिका कार्यकर्ता हुन्छन्,’ ती पदाधिकारीले नेपालखबरसँग भने, ‘अष्टलक्ष्मीलाई २०७४ मै पहिलो मुख्यमन्त्री नबनाएर केन्द्रीय सदस्य पनि नभएका डोरमणि पौडेलजीलाई अध्यक्षले अवसर दिनु भएको थियो।’

अहिले बागमती प्रदेशको मुख्यमन्त्री हुँदा जस्तै एमालेविरुद्ध १० दल एक ठाउँ भएका बेला उनी उपराष्ट्रपति पदकी उम्मेदवार बनाइएकी छन्। 

अहिलेकै राजनीतिक दृश्य अनुसार अष्टले जित्ने सम्भावना न्यून छ। तर महिलालाई उठाउनैपर्ने चुनौतीपूर्ण अवस्था भएपछि ओलीले उनलाई उम्मेदवार बनाएका हुन्। 

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी लगायतका दलको गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता रामसहायप्रसाद यादव उम्मेदवार छन्। 

उता जनमत पार्टीले समानुपातिक सांसद ममता झालाई उपराष्ट्रपति उम्मेदवार बनाएको छ।

चैत ३ गते हुने उपराष्ट्रपति चुनावमा संघ र प्रदेशका ८ सय ८१ सांसदले मतदान गर्नेछन्। चुनावको लागि बुधबारदेखि (चैत १) मौन अवधि सुरु भइसकेको छ।

एकातिर बलियो गठबन्धन, त्यसमाथि केन्द्रदेखि प्रदेशसम्म एमालेलाई सत्ताबाहिर राख्ने प्रयास भइरहेका बेला किन शाक्यलाई उम्मेदवार बनाइयो त?

‘जित्ने निश्चित लागेको भए नेकपा एमालेबाट उपराष्ट्रपति पदको उम्मेदवार अर्कै हुन्थ्यो,’ ती पदाधिकारीले थपे। 

‘उहाँ (अष्टलक्ष्मी शाक्य) पार्टीभित्र सधैँ प्रतिपक्षी भूमिकामा देखिनुभयो, अझ भनौँ उहाँको विद्रोही छवि छ, विधि र पद्धतिका लागि,’ अर्का पदाधिकारीले नेपालखबरसँग भने, ‘त्यही भएर अफ्ठेरो बेला अध्यक्षले उहाँलाई नै अघि सार्नुभएको छ।’

एमालेले शाक्यको शालीन र नम्र छविको व्यक्तित्वले मत तान्ने विश्वास लिएको छ। 

रास्वपा, राप्रपा र माधवकुमार नेपालका सांसदहरुले पनि मत दिन सक्ने एमालेका कतिपय नेताहरूको आकलन छ।

सायद त्यही छनक पाएर अध्यक्ष ओलीले मंगलबार एक कार्यक्रममा अष्टलक्ष्मीले उपराष्ट्रपति जित्ने केही आधारहरू रहेको भन्दै त्यसको रहस्य अहिले नै खोल्दा परिस्थिति बिग्रन सक्ने बताएका थिए।

राष्ट्रपति निर्वाचनमा एक ठाउँमा परेको सत्ता गठबन्धनको भोट उपराष्ट्रपतिकोमा बाँडिने सम्भावना निकै कम छ। 

‘रास्वपा, राप्रपा र माओवादीभित्र अष्टलक्ष्मी शाक्यलाई माया गर्ने र मनपराउने सांसदहरु छन्। त्यो मत बाँडिन सक्छ,’ अर्का पदाधिकारीले भने, ‘लोसपा, जनमत र नागरिक उन्मुक्तिको मत ममता झाले पाउने देखिन्छ।’

यी तीन दलले फागुन २७ मै कार्यगत एकता गरेर जाने निर्णय गरिसकेका छन्। यस्तोमा ममता यी तीन दलकी साझा उम्मेवार हुने सम्भावना छ।

एमालेभित्र राम्रो नेतालाई नजित्ने उपराष्ट्रपतिमा उठाएर उनको गर्विलो इतिहासमा दाग लगाउन खोजिएकोमा एकथरीको असन्तुष्टि पनि छ। 

‘जो आफ्नो विरोधी छ, तिनैलाई बलियो गठबन्धनका उम्मेदवारसँग भिडाइयो,’ शाक्यको उम्मेदवारीबारे एमालेका एक पदाधिकारीले नेपालखबरसँग टिप्पणी गर्दै भने, ‘नेपालमा वाम राजनीतिको सबैभन्दा अग्लो कद भएकी नेतृको यो सम्मान कि बिदाइ?’

उपराष्ट्रपतिमा उनको नाम सर्वसम्मत सिफारिस गरिएको उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले तर्क गरे। 

शनिबार (२७ फागुन) बसेको सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपति उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको थियो।

‘उहाँले उक्त पदमा उठ्न स्वीकार गर्नुभएको हो, त्यो मुलुकको दोस्रो सम्मानित पद हो, राजनीतिको उत्तरार्द्धमा अवसर पाए गर्छु भन्ने उहाँमा विश्वास थियो,’ उम्मेदवारीबारे उनले भने। 

उपराष्ट्रपतिमा झा विजयी हुँदा अष्टलक्ष्मीलाई ४ मत
शाक्यलाई उपराष्ट्रपतिका रुपमा अघि सारिएको यो पहिलो पटक भने होइन।

२०६५ साउन ४ को चुनावमा पनि उनलाई एमालेले उपराष्ट्रपतिमै अघि सारेको थियो। तर त्यसबेला अन्य दलहरुसँगको सहमतिका नाममा उम्मेदवारी फिर्ता गर्न लगाइयो। 

उपराष्ट्रपतिमा परमानन्द झा विजयी हुँदा अष्टले नाम फिर्ता लिँदा पनि ४ मत पाइन्। त्यसबेला परमानन्दसँग पराजित माओवादीकी शान्ता श्रेष्ठले २४३ मत पाइन्। अष्टको उम्मेदवारी फिर्ता गराएर एमालेले त्यसबेला संविधानसभाको अध्यक्ष पद लिएको थियो। 

उपराष्ट्रपतिबाट पछि हटाइएकी उनी २०७४ मा भएको प्रदेश सभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ८ ‘ख’ बाट विजयी भइन्। एमालेबाट प्रदेश सभा चुनाव लड्ने शाक्य सबैभन्दा वरिष्ठ नेता (उपाध्यक्ष) थिइन्। उनी एमालेको बागमती प्रदेश इन्चार्जसमेत थिइन्।

उम्मेदवारी दिँदै उनलाई अहिलेको बागमती प्रदेशको मुख्यमन्त्रीका रुपमा हेरिएको थियो। मुख्यमन्त्री बन्नैका लागि उनी संघीय चुनाव छोडेर प्रदेश झरेकी थिइन्। तर, उनको योजनामा अध्यक्ष ओलीले नै धक्का दिए।

२०७४ माघ अन्तिम साता बागमती प्रदेश सभा संसदीय दलको नेता छान्न चुनाव भयो। ललितपुरको च्यासलमा भएको चुनावमा पार्टी उपाध्यक्ष शाक्यलाई त्यसबेला नाम नै नसुनिएका डोरमणि पौडेलले हराए। शाक्य हार्नुको मुख्य कारण उनलाई अध्यक्ष ओलीको साथ नमिल्नु थियो। त्यसबेला अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुलाई कर्नरमा पारिदिए। 

पौडेल ३४ मत ल्याएर दलको नेता चुनिँदा शाक्यले जम्मा २४ मत मात्रै पाएकी थिइन्। त्यही घटनापछि एमालेभित्र अध्यक्ष केपी शर्मा ओली पक्ष हावी भएको विश्लेषण भएको थियो।

शाक्यले त्यसबेला आफूलाई मुख्यमन्त्री हुनबाट रोक्न ओलीमात्रै नभएर राष्ट्रपति विद्यादेवी भण्डारी नै सक्रिय भएको खुला प्रतिक्रिया दिएकी थिइन्।

त्यसपछि शाक्य ओलीप्रति झन् बढी आक्रमक भइन्। २०७८ साउन ९ गते एमालेबाट माधवकुमार नेपाल लगायत शक्तिशाली नेताहरुले नयाँ दल बनाए। तर, नेपालनिकट शाक्य एमालेमै बसिन।

एमालेभित्रको विवादले पार्टी विभाजन भएपछि अल्पमतमा परेका बागमतीका मुख्यमन्त्री डोरमणि पौडेलले २०७८ भदौ २ गते राजीनामा दिए। त्यसपछि उनकै प्रस्तावमा दलको नेता शाक्यलाई बनाइयो। पहिलो महिला मुख्यमन्त्री बनेकी उनको कार्यकाल दुई महिनामै टुंगियो। 

शाक्य अहिले ६८ वर्षकी भइन्। पाँच दशक सक्रिय राजनीति गरेकी उनी दस वर्ष भूमिगत भइन्। २०१० सालको दसैँको अष्टमीमा काठमाडौंको नेवार परिवारमा जन्मेकी उनको नाम त्यहीकारण अष्टलक्ष्मी राखिएको हो।

२०२९ सालमा एसएलसी गरेकी अष्टलक्ष्मी २०३६ सालमा घर छोडेर पूर्णकालीन राजनीतिमा लागेकी थिइन्। भूमिगत राजनीति गर्दा शाक्य २०४५ सालमा इलाममा पक्राउ परिन्। 

उनले अखिल नेपाल महिला संघको अध्यक्ष भएर काम पनि गरिन्। २०५६ को प्रतिनिधि सभा र २०७० को संविधान सभा चुनावमा प्रत्यक्ष जितेकी उनी दुईपटक मन्त्री भएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .