राजनीति


उपराष्ट्रपतिमा एकै दलका दुईसहित गठबन्धनबाट ३ जनाको उम्मेदवारी दर्ता

उपराष्ट्रपतिमा एकै दलका दुईसहित गठबन्धनबाट ३ जनाको उम्मेदवारी दर्ता

उपराष्ट्रपति पदमा शनिबार उम्मेदवारी दर्ताका क्रममा बायाँबाट क्रमशः जसपाका नेताद्वय रामसहायप्रसाद यादव र प्रमिला यादव तथा जनमत पार्टीबाट ममता झा। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
फागुन २७, २०७९ शनिबार १३:५५, काठमाडौँ

दसदलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार चयन हुन नसक्दा उपराष्ट्रपति पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन्।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहसमेत १० दलका शीर्ष नेताबीच आज बिहान बालुवाटारमा भएको छलफलमा सहमति हुन नसकेपछि जसपाबाटै २ जना र जनमत पार्टीबाट एक जनाले उम्मेदवारी दिएका हुन्। 

जसअनुसार जसपाबाट संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादव तथा जनमत पार्टीबाट केन्द्रीय सदस्य ममता झाले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका हुन्।

आज तीनै जनाले उम्मेदवारी दिए पनि भोलि पुनः छलफल गरेर एक जनाको उम्मेदवारी मात्र कायम राखिने गठबन्धनका नेताहरूको भनाइ छ। 

उपराष्ट्रपतिमा उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म समय तोकिएको थियो। 

अब दर्ता भएका उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो २ बजेदेखि ३ बजेसम्म गरिने, उम्मेदवारको विरोधमा उजुरी दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म दिन सकिने आयोगले जनाएको छ। 

यस्तै मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्न यही फागुन २८ गते १२ बजे, उम्मेदवारको नामावली प्रकाशन गर्ने सोही दिन १२ बजेदेखि १ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिने २८ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने सोही दिन ४ बजेदेखि ५ बजेसम्म गर्ने गरी कार्यक्रम तय भएको छ।

राष्ट्रपतिमा भने नौदलीय गठबन्धनबाट रामचन्द्र पौडेले चयन भइसकेका छन्। उनले आगामी सोमबार शपथ खाई पद सम्हाल्नेछन्। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल भने भोलि फागुन २८ गते सकिँदै छ। 

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
    ad ad