राजनीति


माओवादी नेताहरुको निष्कर्ष-द्वन्द्वकालीन मुद्दा सर्वोच्चले अघि बढाए जस्तोसुकै परिस्थितिका लागि तयार

माओवादी नेताहरुको निष्कर्ष-द्वन्द्वकालीन मुद्दा सर्वोच्चले अघि बढाए जस्तोसुकै परिस्थितिका लागि तयार

बालुवाटारमा जम्मा भएका माओवादीका नेताहरु। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
फागुन २३, २०७९ मंगलबार १२:५४, काठमाडौँ

सर्वोच्च अदालतले प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको मुद्दा दर्ता गर्न आदेश दिएपछि त्यसको परकम्प माओवादी धारमा देखिएको छ। 

विस्तृत शान्ति सम्झौता हुँदै ०६२/०६३ को ऐतिहासिक जनआन्दोलनबाट संसदीय राजनीतिमा प्रवेश गरेयता माओवादीमा कयौँ पटक विभाजन आइसकेको छ। 

प्रचण्डलाई छाडेका नेताहरुमै पनि विभाजन आएर कयौँ टुक्रा भएका छन्। तर प्रचण्डका हिजोका सहयात्रीहरुलाई  १९ फागुनको सर्वोच्चको आदेशले एकै ठाउँ ल्याइदिएको छ। 

प्रचण्डविरुद्धको द्वन्द्वकालीन मुद्दा सबै धारका माओवादीहरुलाई एकै ठाउँ उभिने अवस्था ल्याइदिएको हो। त्यहीअनुसार उनीहरु सोमबार बालुवाटारमा जुटेका हुन्।

उनीहरुले युद्धकालीन मुद्दालाई अगाडि बढाउन नहुने बताउँदै शान्ति सम्झौताअनुसार सबै विषयको निरूपण हुनुपर्ने निर्णय पनि गरेका छन्। 

मंगलबार (२३ फागुन) मा प्रधानमन्त्री निवास बालुवाटारमा तत्कालीन माओवादीमा रहेर अहिले विभिन्न पार्टी गठन गरेका नेताहरु एकैठाउँमा जम्मा भएका हुन्। 

उनीहरुको निष्कर्ष छ, युद्धकालीन मुद्दाहरुको सम्बोधन सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता नागरिक खोजबिन आयोगबाटै टुंगो लगाइनुपर्छ।

यसअघि  माओवादी धारका नेताहरु २१ फागुनमा एउटै मञ्चमा जुटेका थिए। सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले प्रज्ञा भवनमा गरेको अन्तरक्रियामा प्रचण्डसहितका माओवादी धारका नेता जुटेका थिए। 

त्यहाँ पनि उनीहरुले पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डविरुद्ध द्वन्द्वकालीन मुद्दा चलाउन खोजिए उनले यस्तो चेतावनी दिएका हुन्। 

उक्त कार्यक्रममा बोल्ने सबै नेताहरुले युद्धकालीन मुद्दालाई विभिन्न नाममा अदालतको क्षेत्राधिकारभित्र पारेर षडयन्त्र गर्न खोजिए चुप नबस्ने चेतावनी दिएका थिए। कार्यक्रममा नेकपा महासचिव विप्लवले यदि द्वन्द्वकालीन मुद्दा ब्युँताए प्रतिकारमा उत्रिने बताए। 

सर्वोच्च अदालतले दिएको आदेश अनुसार प्रचण्डमाथिको मंगलबार दर्ता भएको छ। 

यदि त्यसो भएको खण्डमा के कार्यक्रम गर्ने? माओवादी धारका नेताहरुले यसैबारे छलफल गरेका हुन्।

नेकपा बहुमत पार्टीका संयोजक धर्मेन्द्र बास्तोलाले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता नागरिक खोजबिन आयोगले काम नगरी ढिलासुस्ती भएको अहिले ती कुरालाई अदालतमा लग्नु गलत भएको बताए।

उनले जस्तोसुकै परिस्थितिका लागि तयार रहेको निष्कर्ष सुनाए।

‘विगतमा संसदवादी पार्टी (७ दल) र माओवादीबीच भएको सहमति (१२ बुँदे), संविधान बनाउँदा भएको सहमति र सोही अनुसार जनयुद्धकालीन मुद्दाहरुको टुंगो लगाउन सत्य निरुपण र मेलमिलाप आयोग, वेपत्ता नागरिक खोजविन आयोगको क्षेत्राधिकार नाघेर अदालतमा लग्ने कुरा स्वीकार गर्न सकिँदैन,’ बास्तोलाले मंगलबारको छलफलको निष्कर्ष सुनाउँदै नेपालखबरसँग भने, ‘हामी माओवादी धारका सबै ८ दल नै एकै ठाउँमा उभिन्छौँ।’

उनका अनुसार मुद्दाहरुको छिटो टुंगो लगाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो।

माओवादीबाट कहिले फुटे यी दल?
जनयुद्धबाट उदाएको एमाओवादीका प्रभावशाली उपाध्यक्ष मोहन वैद्यले ४ असार ०६९ मा रामबहादुर थापा बादल, नेत्रविक्रम चन्द, पम्फा भुसालसमेतलाई लिएर नेकपा–माओवादी गठन गरे।

३ असोज ०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भए लगत्तै १० असोज ०७२ मा उपाध्यक्ष बाबुराम भट्टराईले एकीकृत माओवादीलाई भत्केको घरको संज्ञा दिँदै पार्टी छोडेर नयाँ शक्ति बनाए।

मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी)बाट अलग भएर नेत्रविक्रम चन्दले मंसिर ०७१ मा नेकपा गठन गरे। 

उता रामबहादुर थापा, पम्फा भुसाल र देव गुरुङ लगायत नेताहरु २ जेठ २०७३ मा वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबाट निस्किए।

उनीहरुले ७ जेठ २०७३ मा एमाओवादीसँग एकता गरपछि माओवादी केन्द्र बन्यो।

एकीकृत जनक्रान्तिको नारा लिएर सशस्त्र युद्ध गरेको विप्लव नेतृत्वको नेकपाका प्रभावशाली नेताहरु धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश वली लगायतले २१ वैशाख २०७९ मा नेकपा (बहुमत) गठन गरे। 

३ जेठ २०७५ मा एमाले र माओवादीबीच पार्टी एकताप्रति असन्तुष्टि जनाउँदै अर्का नेता गोपाल किराती पनि बाहिरिएर अहिले बेग्लै समूह चलाइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad