राजनीति


भारतको धार्मिक विभाजनको बाछिटा नेपालमा पर्दैनः भारतीय विज्ञ

भारतको धार्मिक विभाजनको बाछिटा नेपालमा पर्दैनः भारतीय विज्ञ

चन्द्रलाल गिरी
पुस १६, २०७६ बुधबार ८:४९,

भारतमा सरकारले ल्याएको नागरिकता संशोधन कानुन, त्यसपछि सुरु भएको देशव्यापी आन्दोलन र धार्मिक विभाजनले नेपाललाई कुनै असर नगर्ने सत्तारुढ भारतीय जनता पार्टीनिकट बुद्धिजीवीहरुले बताएका छन्।

नेपाल र एसियाली अनुसन्धान केन्द्र(सिनास)ले ‘नेपाल र भारतमा धर्म निरपेक्षता र राजनीति’ विषयमा आयोजना गरेको दुई दिने गोष्ठीमा भाग लिन आएका भाजपानिकट बुद्धिजीवीहरुले भारतमा देखिएको धार्मिक विभाजनले नेपालमा असर नगर्ने बताएका हुन्।

गत महिना नरेन्द्र मोदीको सरकारले अफगानिस्तान, पाकिस्तान र बंगलादेशबाट भारत आएका मुस्लिमबाहेकका व्यक्तिलाई नागरिकता दिने कानुन पारित गरेपछि भारतमा आन्दोलन सुरु भएको छ। सो क्रममा कम्तीमा २५ जनाको ज्यान गइसकेको छ।

‘नेपालको समाज धार्मिक रुपमा खासै विभक्त छैन। यहाँ हिन्दु धर्मालम्बीको बाहुल्यता छ। अरु धर्म मान्नेहरु एकदमै न्यून छन्। नेपाली समाज भारतको जस्तो जड पनि छैन,’ अटल बिहारी बाजपेयी सिनियर फेलो तथा नेहरु मेमोरिल म्युजियम र लाइब्रेरीका अनुसन्धानकर्ता डा. हिमान्सुप्रसाद रोयले भने, ‘भारतमा ल्याइएको नागरिकता कानुन कुनै धर्मका विरुद्ध होइन, छिमेकी राज्यबाट पीडितहरुको अधिकारका लागि ल्याइएको हो।’

यो कानुनले नेपालीभाषी भारतीयलाई पनि कुनै असर नगर्ने उनले बताए। डा. रोय भारतीय प्रधानमन्त्रीको कार्यलयले गत ७० वर्षको अवधिमा कसरी कार्यसम्पादन ग¥यो भन्ने विषयमा अनुसन्धानरत फेलो हुन्।

सिनासले पुस १२ र १३ मा आफ्नै सभाहल कीर्तिपुरमा धर्म निरपेक्षताले नेपाल र भारतको राजनीतिमा पारेको प्रभावबारे गोष्ठी आयोजना गरेको थियो।

tutu

गोष्ठीमा भाग लिन आएका प्राध्यापक डा. ब्रिजकिशोर कोठियाला र प्रा.डा. सुस्मा यादवले नेपाल धर्म निरपेक्षता मुलुक भएसँगै क्रिश्चियन धर्मको प्रभाव बढेको बताए।

प्रा. डा. कोठियाला हरियाना राज्यको उच्च शिक्षा परिषद्का अध्यक्ष र मखनलाल चतुरवेदी आमसंचार र पत्रकारिता विश्वविद्यालय, भोपालको पूर्व उपकुलपति हुन्। प्रा.डा. यादव बीपीएसएम विश्वविद्यालयकी उपकूलपति हुन्।

सिनासका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीले आफ्नो प्रस्तुतिमा भारतीय आन्तरिक राजनीतिको प्रभावले नेपालको राजनीतिमा बेलाबखत हलचल हुने गरेको तर्क पेस गरे।

‘भारतमा कांग्रेस आईको नेतृत्वमा सरकार हुँदा नेपाल ०६२/०६३ सालमा अन्तरिम संविधानमार्फत धर्म निरपेक्ष र संघीय राज्य बन्यो। त्यही अवधिमा नै नेपाल गणतान्त्रिक मुलुक पनि बन्यो,’ उनले भने, ‘भारतमा भाजपा सत्तामा आएपछि भने पुनः नेपाललाई हिन्दुराज्य बनाउने र पहिलेकै अवस्थामा फर्काउन खोजियो। त्यसैले नेपाल–भारत सम्बन्धमा पनि उतार–चढाव आएको हो।’

नेपालमा भएका कम्युनिस्ट पार्टीहरु समेत भारतीय कम्युनिस्ट आन्दोलन र त्यहाँका पार्टीको प्रभावबाट स्थापित भएको प्रसंग उल्लेख गर्दै कार्कीले चिनियाँ कम्युनिस्ट पार्टीको प्रभाव पनि कलकत्ता हुँदै भारतीय कम्युनिस्ट चरित्रसँग एकाकार भएर मात्र नेपाल प्रवेश गरेको बताए। संस्कार, राजनीतिक प्रणाली एवं प्रविधि सबै कुरा भारत भएर मात्र नेपाल प्रवेश गर्ने भएकोले नेपालको स्थायित्व र विकासमा भारतीय प्रभाव बढी भएको उनको भनाइ थियो।

त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक डा. लीला न्याइच्याइले नेपालमा क्रिस्चियन धर्म तीव्र गतिमा विस्तार भइरहेको तथ्यांक पेस गरिन्। हिन्दु, बौद्ध, इस्लाम, किरात, बोन, शिख, बहाई, जैन, प्रकृतिजस्ता धर्म त्यागेर क्रिश्चियन बन्नेहरुको संख्या उल्लेखनीय भएको उनले बताइन्।

‘नेपाल धर्म निरपेक्ष भएयता क्रिस्चियनको संख्यामा ७८ गुणा विस्तार भएको छ, बौद्ध धर्म मान्नेहरुको संख्या सबैभन्दा घट्दो दरमा छ,’ उनले भनिन्।

हिन्दु धर्म छाड्नेहरु बौद्ध बन्न नसक्ने र बौद्ध छाड्नेहरु पनि हिन्दु बन्न नसक्ने तर अधिकांश धर्मान्तर गर्नेहरु क्रिस्चियन हुने प्रवृत्ति देखिएको तथ्य पनि उनले औँल्याइन्।

यो समस्या समाधान गर्न हिन्दु धर्मभित्र कलंकका रुपमा रहेको जातीय विभाजनलाई सही ढंगले सम्बोधन गर्न आवश्यक रहेको डा. कार्कीको सुझाव छ।

डा. रोयले भने स्वास्थ्य र शिक्षामार्फत क्रिस्चियन धर्मले प्रभाव जमाएको तर्क गरे। ‘विश्व भ्रमणको अवसर पाउने भएकाले म आफैँ झन्डै हिन्दु छोडेर क्रिस्चियन बन्न लागेको थिएँ, बुबाले रोक्नुभयो,’ रोयले भने।

प्रा.डा. कोठियाला, यादव र डा. रोय तीनै जनाले नेपाल र भारत दुवै देशमा क्रिस्चियन धर्मको विस्तार चिन्ताको विषय भएको ठम्याए।

भारतका ७ उत्तर–पूर्वी राज्यहरुमा क्रिस्चियन धर्म तीव्र रुपमा विस्तार भएको बताइन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .