ad ad

राजनीति


के रास्वपा र राप्रपाले एमालेलाई छोडेका हुन्?

के रास्वपा र राप्रपाले एमालेलाई छोडेका हुन्?

सागर न्यौपाने
फागुन १४, २०७९ आइतबार २१:३, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० पुसपछि सबैभन्दा बढी सल्लाह गरेका दुई दल थिए- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिन उनै दुई दलको सहयोग ओलीले लिने गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १३ फागुनमा सार्वजनिक गरिदिए।

सरकारमा सहभागी हुँदा मन्त्रालय भागबन्डामा समेत एमाले अध्यक्ष ओलीले रास्वपा र राप्रपालाई प्राथमिकता दिएका थिए।

उनले आफू नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा पनि दुई दलको पक्ष लिएको गुनासको प्रचण्डको थियो।

नागरिकता प्रकरणमा सांसद पद गुमाएर सत्ता छोड्न बाध्य रास्वपा सभापति रवि लामिछानेलाई गैर सांसदकै रुपमा मन्त्रालय (उपप्रधानमन्त्री एवम् गृहमन्त्री) बनाउन ओलीले प्रचण्डलाई दबाब दिएको उनले बताएका थिए।

त्यस्तै पृथ्वी जयन्तीका दिन बिदा दिने निर्णय गर्न ओलीले प्रचण्डलाई अनुरोध गरेका थिए।

प्रधानमन्त्री प्रचण्डका अनुसार ६१ दिनसम्म ओलीले यिनै दुईवटा दलसँग बालकोटमा छलफल गरेर निर्णय गर्नेगरी बालुवाटार पुग्ने गरेका थिए।

तर, एमालेसँग घनिभूत सम्बन्ध रहेको भनिएका यी दुवै दलले एमाले अलायन्स छोड्ने संकेत गरेका छन्। यद्यपि राष्ट्रपति निर्वाचनमा के गर्ने निर्णय गरिसकेका छैनन्।

तर देश नयाँ राजनीतिक कोर्सतिर अघि बढेपछि रास्वपा र राप्रपा एमाले नेतृत्वको गठबन्धनमा नरहने निष्कर्षमा पुगेको नेताहरू बताउँछन्।

रास्वपा २२ माघमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको थियो।

राप्रपाले १३ फागुनमा सरकार छोडेको छ। जबकी १०  पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने ७ मध्य यी दुबै दल पनि थिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीसंग छलफल गरेर गठबन्धनमा मिसिएका थिए।

प्रचण्डलाई काङ्ग्रेसले प्रधानमन्त्री नदिएपछी ओलीकै योजना अनुसार ७ दल मिलाएर १६९ सांसदको समर्थन जुटाउदै प्रधानमन्त्री बनाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रस्ताव पेश गरिएको हो।

६३ दिनपछि राप्रपाले सरकारबाट बाहिरिदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। रास्वपाले ४२ दिनमा सरकारबाट मन्त्रीमात्र फिर्ता लिएको थियो। 

जबकि एमाले परिस्थिति प्रतिकुल नहुँदासम्म सरकारमै रहने निष्कर्षमा छ।

नागरिकता प्रकरणले सांसद पद गुमाएपछि रास्वपा सभापती रवि लामिछानेले सत्ताबाट बाहिरिने निर्णय लिए। यद्यपि उनको पार्टीले सरकारलाई दिएको समर्थन कायम राखेको छ।

प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टीको (जसपा) समर्थन कायमै छ। यी तीन दल फागुन १२ मा बनेको ८ दलमा सहभागी छन्।

राप्रपा र रास्वपाले एमाले गठबन्धन छोडे?
रास्वपा र राप्रपाले एमाले गठबन्धन छोडेका छन्।

रास्वपाका सभापति रवि लामिछानेले अहिले कुनै दलको गठबन्धन वा सहकार्यमा नरहेको दाबी गरे।

'अहिले हामी कुनै अलायन्समा छैनौँ,' उनले नेपालखबरसँग भने, 'हिजो बनेको संयन्त्रबाट हामी बाहिर निस्किसक्यौँ, कुनै संयन्त्रमा छैनौँ।'

एमालेसँगको गठबन्धन पनि छोडेको हो? भन्ने प्रश्नमा उनले थपे, 'एमाले, माओवादी वा अन्य कुनैसँग पनि छैनौँ , हाम्रो पार्टी अहिले इनडिपेन्ट्ली अघि बढिरहेको छ।'

सभापति लामिछानेले राष्ट्रपतिको चुनाव भएकोले अर्को निर्णय गर्ने बेला नभएको बताए।

नयाँ बनेको गठबन्धनका कुनै दलले पनि कुरा नगरेको भन्दै उनले सरकारलाई दिएको समर्थन कायम रहेको बताए।

नयाँ परिस्थितिबारे सोमबार १५ फागुनमा पार्टीको केन्द्रीय समिति बैठकले निर्णय लिने पनि उनले जानकारी दिए।

'पुरानो ७ दलीय गठबन्धन भत्कियो, नयाँ गठबन्धन र राष्ट्रपति चुनावबारे छलफल गर्दैछौँ, ' लामिछानेले थपे।

उता, एमालेकै योजना र सक्रियतामा गठबन्धनमा सहभागी भएको राप्रपाले पनि पुरानो गठबन्धन छोडेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सल्लाह गरेर १० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गर्दै सरकारमा सहभागी भएको राप्रपा बाहिरिएको छ।

एमालेसँग हरेक विषयमा छलफल गरेर एउटै धारणा बनाउने राप्रपाले १३ फागुनमा सरकार छोड्यो। सरकारलाई दिएको समर्थन समेत फिर्ता लियो।

राष्ट्रपति निर्वाचनको उम्मेदवारी मनोनयन विषयले गठबन्धन तितरबितर भएपछि राप्रपा बाहिरिएको हो।

उसले बागमती प्रदेश सरकारबाटसमेत हात उठाएको छ। तर, प्रदेश १ बाट सरकारमै रहेको छ।

रास्वपा र राप्रपाले सत्ता छोडेसँगै प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन जुटाउने ७ दलीय गठबन्धनमा एमालेमात्रै एक्लो रहेको छ।

राष्ट्रपति उम्मेदवारका विषयमा एमालेसँग कुरा नमिलेपछि माओवादी केन्द्र नयाँ गठबन्धनमा जोडिएको छ।

१२ फागुनदेखि ८ दलको नयाँ गठबन्धन बनेको छ। राष्ट्रपतिमा जसको साझा उम्मेदवार रामचन्द्र पौडेल छन्।

यही कारण देखाएर राप्रपाले सत्ता छोडे पनि उसैलाई गठबन्धनमा ल्याएको एमाले भने २५ गतेसम्म कुर्ने मनस्थितिमा छ।

राप्रपाले सरकार छोड्न किन हतार गरेको? जबकी गठबन्धन बनाउने मुख्य घटक एमाले सरकारमै छ। यसबारेराप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले आफ्नो पार्टी एमालेको भाइ नभएकोले उसले जस्तो गर्न नपर्ने टिप्पणी गरे।

'एमालेले राष्ट्रपति निर्वाचनसम्म सरकारलाई साथ दिने निर्णय गर्दा हामीले त्यही गर्नुपर्छ भन्ने छैन। हामी एमालेको भाइपाटी पनि होइनौँ,' श्रेष्ठले नेपालखबरसँग भने, 'सोचविचार गरेर गरिएको निर्णय भएकाले तल्ला कमिटीले पनि त्यही गर्छन्।'

प्रधानमन्त्री प्रचण्डले राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत आफूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले दबाबमा राख्न खोजेको बताएका थिए।

राप्रपाले एमालेसँगको सम्बन्ध किन तोड्नु पर्‍यो?
'नेपालका अरु राजनीतिक दल र राप्रपाको राजनीतिक चरित्र विल्कुल फरक छ। कांग्रेस र एमालेले जोसँग मिले पनि हुने देखिएको छ। तर राप्रपालाई त्यो छुट छैन,' प्रवक्ता श्रेष्ठले थपे,  'गठबन्धनको मुख्य घटक एमाले र माओवादीले बाटो मोडेपछि हामीले यो निर्णय लिएका हौँ।'

'हामीले केन्द्रदेखि प्रदेशसम्मका सबै सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेका छौँ। यो सोचविचार गरेर गरिएको निर्णय हो। प्रदेश कमिटीहरूले पनि अनुकुल मिलाएर निर्णय लिनेछ।'

एमालेका नेताहरु राष्ट्रपति निर्वाचनसम्म कुनै दलले नछाड्ने बताउँछन्।

' रास्वपा र राप्रपाका नेताहरूसंग अध्यक्षले कुरा गरिराख्नु भएको छ,' उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले नेपालखबरसँग भने, 'राष्ट्रपति चुनावमा उहाँहरु यताउता नजानुहोला।'

'उहाँहरुलाई मिलाएर गठबन्धन बानुनु भएकै अध्यक्षले हो, नयाँ परिस्थिति हुँदैमा छोडेको भन्न मिल्दैन,' उनले थपे।

सरकार छोड्ने कुरा प्रधानमन्त्रीसँगको रिलेसनको आधारले तय गर्ने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .