राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको राष्ट्रिय भेला फागुन १३ र १४ गते काठमाडौंमा हुने भएको छ।
भोलि शनिबार राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले काठमाडौंको एसआर बैंक्वेटमा राष्ट्रिय भेलाको उदघाटन गर्ने कार्यक्रम रहेको संयोजित संगठनका प्रमुख, महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिएका छन्। देशका सबै जिल्लाबाट छानिएर आएका ३०० जनाभन्दा बढी प्रतिनिधिले महाधिवेशनको मिति तय गर्ने, महाधिवेशन आयोजक समिति बनाउने, विधानमा संशोधन गर्नेछन्। साथै भेलाले युवाका मुद्दा, राप्रयुसंले उठाउनुपर्ने विषयको पहिचान गरी आवश्यक कार्यदिशा तय गर्ने बताइएको छ।
राप्रपाको हालैमात्र विद्यार्थी संगठनको राष्ट्रिय भेला समेत सम्पन्न भइसकेको छ। राप्रपाले आफ्नो भ्रातृ संगठनको सबलीकरण, पुनःसंरचना र देशभक्त राष्ट्रवादी आन्दोलनमा नयाँ ढंगबाट अघि बढाउने नीति लिएको प्रवक्ता मोहन श्रेष्ठ दाबी गर्छन्।
Shares
प्रतिक्रिया