नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले दूरगामी भिजनसहितको राजनीतिले मात्रै देश विकास सम्भव हुने बताएका छन्।
सोमबार तेस्रो रामपुर महोत्सबको समापन कार्यक्रमका लागि पाल्पा पुगेका कांग्रेस नेता चौधरीले राजनीतिबाट मात्रै विकास सम्भव भएको बताए। उनले राजनीतिमा दूरदर्शी नेताको खाँचो औंल्याए।
‘राजनीति मात्रै एउटा मात्र यस्तो नीति हो, जसले समग्र परिवर्तन ल्याउनसक्छ। राजनीति विकास केन्द्रीत हुनुपर्छ भन्ने मेरो मान्यता हो,’ उनले भने, ‘दूरगामी सोचलाई कार्यान्वयनमा लैजाने सशक्त टुल भनेकै राजनीति हो। राजनीतिको कुर्सीमा सहि व्यक्ति आयो भने एउटा हस्ताक्षरले ५० वटा बूढानीलकण्ठ स्कुल बन्न सक्छन्, ५० वटा उद्योगग्राम बन्न सक्छन् र ५० वटा शास्वतधाम बन्न सक्छन्।’
उनले ५० वर्षअघि राजपरिवारका सदस्यको अध्ययनका लागि बूढानिलकण्ठ स्कुल खुलेपनि त्यसपछि अर्को बूढानिलकण्ठ स्कुल स्थापना गर्न नसक्नु सरकारको कमजोरी भएको बताए।
‘५० वर्षअघि राजपरिवारका सदस्यलाई पढाउन बूढानिलकण्ठ खोलियो। ५० वर्षमा दोस्रो बूढानिलकण्ठ स्कुल बनाउन सकेनौं। नेपालीले नै सञ्चालन गरेको यो विद्यालयमा आमनेपालीका छोराछोरी पढिरहेका छन्। उनीहरुले अन्तर्राष्टिय जगतमा प्रतिस्पर्धा गरिरहेका छन्,’ उद्योगीसमेत रहेका कांग्रेस नेता चौधरीले प्रश्न गरे, ‘हामीले किन अर्को बूढानीलकण्ठ खोल्न सकेनौंश्? यसमा हाम्रो व्यवस्थापकीय कमजोरी पनि हो।’
राजनीतिमा लामो संघर्ष गरेका र योगदान दिएका व्यक्तिहरुको सम्मान हुनुपर्नेमा उल्लेख गर्दै सांसद चौधरीले भने, ‘तर यसका साथै विकास र समृद्धिका बारेमा बुझेकाहरुलाई राजनीतिमा स्थान दिनुपर्छ। त्यसो भयो भने मात्रै समृद्धि सम्भव छ।’
उनले २०४६ सालमा आफैले उद्योग वाणिज्य संघ तानसेनको भवनको शिलान्यास गरेको प्रसँग उल्लेख गरे। एउटा उद्यमीको प्रयासबाट मात्रै विकास सम्भव नभएकाले आफू राजनीतिमा आएको प्रष्ट पारे।
‘मलाई शास्वतधाम बनाउन २२ वर्ष लाग्यो। नवलपुर उद्योगग्राम बनाउन ३२ वर्ष लाग्यो। तर एउटा उद्यमीले समग्र देशको समग्र विकास र व्यवस्थापनमा परिवर्तन ल्याउन सक्दैन,’ उनले थपे, ‘नेपाल बाहिर जाँदा विश्वभर छरिएर बसेका नेपालीहरुसँग भेट हुन्छ। उहाँहरुले मलाई माया गर्नुहुन्छ। उनीहरुले मलाई मौन एउटा प्रश्न सोधिरहेका हुन्छन्, कि तपाईले आफ्ना लागि त धेरै गर्नुभयो तर देशका लागि के गर्नुभयो? यही प्रश्नले मलाई राजनीतिमा ल्याएको हो।’
चौधरी नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
Shares

प्रतिक्रिया