प्रतिनिधिसभाको बैठक आगामी पुस २७ गतेसम्मलाई सारिएको छ।
बुधबारका लागि बोलाइएको बैठक एकदिन अघि नै सूचना टाँस गरेर सारिएको हो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच मंगलबार बालुवाटारमा सभामुखका लागि पार्टीबाट उमेदवार चयन गर्नेबारे मंगलबार छलफल भएको थियो।
दुई अध्यक्षबीचको छलफलमा सहमति नजुटेपछि संसदको बैठक नै सूचना टाँस गरेर सारिएको हो।
बलात्कार प्रयासको आरोप लागेपछि तत्कालिन सभामुख कृष्णबहादुर महराले असोज १४ गते राजिनामा दिएका थिए। महराको राजिनामापछि सभामुख पद रिक्त छ।
"बुधबार दिनको १:०० बजे बस्ने गरी सूचना गरिएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले नेपालको संविधानको धारा ९१ को उपधारा बमोजिम प्रतिनिधि सभाको अध्यक्षता गर्नुहुने माननीय उपसभामुखज्यले प्रतिनिधि सभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अको बैठक मिति २०७६ साल पुस २७ गते आइतबार दिनको १ बजे बस्नेगरी निर्धारण भएको व्यहोरा मा० सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,' संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी सूचनामा भनिएकाे छ।

प्रतिक्रिया