सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच सभामुख चयनाका लागि भएको छलफल विनानिष्कर्ष टुंगिएको छ।
मंगबार बिहानदिेखि दिउँसोसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल निष्कर्षमा नपुगी टुंगिएको हो।
प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा ‘जुगल’ले दुई अध्यक्षबीचको छलफल निष्कर्षमा नपुगी टुंगिएको बताए।
‘छलफलमा दुबै अध्यक्षले आ–आफ्ना कुरा राख्ने काम भयो’, उनले नेपालखबरसँग भने, ‘तर, कुनै कुरामा सहमति भएको छैन।’ उनले अन्य विषय भने बाहिर नल्याइएको जानकारी दिए।
बलात्कार प्रयास आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महरा पक्राउ परेपछि असोज १४ गतेदेखि यो पद रिक्त छ।
नेकपाले सभामुख चयनका विषयमा अझै निर्णय गर्न सकेको छैन। सभामुख पद पूर्वएमाले वा पूर्वमाओवादी कसले लिने भन्नेमा नेताहरू अझै सहमतिमा पुग्न सकेका छैनन्।
सभामुखमा पूर्वएमाले र पूर्वमाओवादी दुवै पक्षले दाबी गरिरहेका छन्।
प्रधानमन्त्री ओलीले पूर्वसभामुख एवम् नेकपा स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई अगाडि सारेका छन् भने पूर्वमाओवादी पक्षले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई अगाडि सारेका छन्।
पूर्वमाओवादी पक्षधर नेताले सभामुख नछाड्न प्रचण्डलाई दबाब दिइरहेका छन्।

प्रतिक्रिया