ad ad

राजनीति


प्रचण्ड-ओली छलफल : दुवैले छाडेनन् अडान, साझा व्यक्तिमा अड्कियो

एमाले प्रचार विभाग उपप्रमुख भन्छन् : गठबन्धनमै सहमति हुन्छ
प्रचण्ड-ओली छलफल : दुवैले छाडेनन् अडान, साझा व्यक्तिमा अड्कियो

बालुवाटारमा भेटका क्रममा प्रचण्ड र ओली। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
फागुन ४, २०७९ बिहिबार १४:८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानै अडान दोहोर्‍याएपछि राष्ट्रपतिको उम्मेदवारबारे सहमति गर्ने प्रयास असफल भएको छ।

यद्यपि चुनावका लागि उम्मेदवार मनोनयन दर्ता गर्ने समय अझै एक साता  बाँकी रहेकाले सहमति जुटाउने प्रयासमा उनीहरू छन्।

बिहीबार बिहान १० बजेदेखि १२ बजेसम्म प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भएको थियो। 

तर, राष्ट्रपतिमा संसदका सबै दलहरुबीच साझा व्यक्ति अघि सारेर जानुपर्ने अडान प्रचण्डले दोहोर्‍याएपछि सहमति जुट्न नसकेको एक नेताले बताए।

‘दुवै पक्षबीच आ–आफ्नै अडान कायम छ, प्रधानमन्त्रीले कम्तीमा मुख्य दलबीच सहमति हुने नाम अघि सारौँ भन्नुभएको छ,’ ती नेताले नेपालखबरसँग भने, ‘पुरानो सहमतिबाट यताउता गर्नु हुँदैन। हामीले अघि सारेकै व्यक्तिमा सहमति जुटाउन सकिन्छ।’

भोलि फेरि बसेर यसबारे छलफल गर्ने गरी एमाले अध्यक्ष ओली उठेर बालकोटतिर लागेका थिए।

राष्ट्रपतिमा आफूहरुले जोसुकै उठाए पनि सहमति गर्नुपर्ने एमालेको अडान छ।

तर, पछिल्लो राजनीतिक परिस्थितिले कम्तीमा मुख्य दलहरुलाई मान्य हुने पात्र अघि सार्नुपर्ने प्रधानमन्त्रीको प्रस्ताव छ।

एमालेले आफूले अघि सारेको व्यक्तिमा राष्ट्रिय सहमति कायम गराउनुपर्ने बताउँदै आएको छ।

बिहीबारको भेटमा पनि अध्यक्ष ओलीले सहमति कार्यान्वयनबाट पछि नहट्न आग्रह गरेका थिए। फागुन २५ को राष्ट्रपति चुनावको लागि फागुन १३ मा मनोनयन कार्यतालिका छ। 

‘राष्ट्रपतिमा कसलाई बनाउने, कस्ता व्यक्ति अघि सार्ने विषयमै प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज छलफल भएको हो,’ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले नेपालखबरसँग भने, ‘अब फेरि भोलि छलफल हुन्छ। उहाँहरु निरन्तर छलफलमा बस्नुहुन्छ।’

एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले गठबन्धनबाट साझा उम्मेदवार बताए। 'गठबन्धनका सबै दललाई स्वीकार्य हुने साझा उम्मेदवार बन्छ। गठबन्धनकै राष्ट्रपति हुन्छ। यही गठबन्धन रहन्छ', उनले नेपालखबरसँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .