ग्यास सिलिन्डर लिक हुँदा आगोले जलेर गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई उपचारका लागि भारतको मुम्बई जाने डाक्टरको टिम तय गरिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार क्रिटिकल केयर प्रमुख डा. प्रदीप तिवारी, एनेस्थेसिया क्रिटिकल केयर डा. बृहस्पति, डा. रोशन शर्मा, पारामेडिसियन दिनेश राई, सागर महर्जन र राज तामाङसहितको टोली जान लागेका हुन्।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भण्डारीलाई उपचारका लागि श्री एयरलाइन्सको जहाजबाट बिहीबार मुम्बई लाने तयारी भएको बताएका छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले पनि भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लैजाने तयारी भएको जानकारी दिएका छन्।
बुधबार राति १० बजे बुद्धनगरस्थित घरमा सिलिन्डर लिक भएर आगो लाग्दा भण्डारी र आमा हरिकला गम्भीर घाइते भएका थिए। हरिकलाको उपचारका क्रममा कीर्तिपुरस्थित अस्पतालमा निधन भइसकेको छ।
Shares
प्रतिक्रिया