राजनीति


गोंगबु लुटपाट मुद्दाले संसदमा प्रवेश पायो, सरकारको चर्को आलोचना

गोंगबु लुटपाट मुद्दाले संसदमा प्रवेश पायो, सरकारको चर्को आलोचना

फाइल तस्बिर


नेपालखबर
फागुन ३, २०७९ बुधबार १२:३०, काठमाडौँ

प्रतिनिधिसभामा फागनु १ गते काठमाडौंको गंगबुमा भएको लुटपाट घटनाले प्रवेश पाएको छ। 

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी र सत्तापक्ष र दलका सांसदहरुले लुटपाटको घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन्। 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका डा. प्रकाशशरण महत र शंकर भण्डारी तथा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र विराजभक्त श्रेष्ठले गंगबु क्षेत्रमा मजदुरका नाममा भएको आन्दोलनका क्रममा गरिएको लुटपाटको विषय उठाएका हुन्। 

कांग्रेस प्रवक्तासमेत रहेका सांसद महतले व्यवसायीका कयौँ पसल  लुटिँदा सरकार रमिते बनेको बताए। 

‘काठमाडौंको मुटुमै मजदुर या अन्य समूहको नाममा लुट मच्चिएको छ। राजधानीमै सरकारले सुरक्षा दिन सक्दैन भने गाउँका मानिसको हालत के होला?,’ उनले भने, ‘यातायात मजदुरको नाममा दिनदहाडै लुटपाट भएको छ। मजदुर प्रवेश गरेका हुन् कि कुनै शक्तिको आडमा संलग्न भएका छन् कि? त्यसको यथार्थ छानबिन गरेर न्यायिक निरुपण गरिनुपर्छ। सरकारले यी घटनामा संलग्नलाई परिणाम आउने गरी कारबाही गरोस्।’

महतले बसपार्क क्षेत्रको लोत्से मलसहितमा भएको लुटपाटमा संलग्नलाई कारबाही नभएमा देशभर नकारात्मक सन्देश जाने पनि बताए। 

‘यसले देशभर नकारात्मक सन्देश जान्छ। कारबाही नभए देशभर अराजकता फैलिन्छ,’ उनले भने, ‘यदि यातायात मजदुरको जायज माग पनि छन् भने सम्बोधन हुनुपर्छ। तर, यसरी अराजकता फैल्याउने र लुट मच्चाउनेमाथि सरकारले कारबाही गर्नुपर्छ।’

कांग्रेसका अर्का सांसद भण्डारीले सुनियोजित र प्रायोजित रुपमा तोडफोड, आगाजनी तथा व्यवसायीहरुका सरसामान लुट्ने काम भए पनि सरकारले पीडितहरुलाई बोलाएर छलफल नगरेको भन्दै आपत्ति जनाए। 

‘फागुन १ गते गंगबुको नयाँ बसपार्कमा सुनियोजित, प्रायोजित रुपमा जबरजस्त ढंगले तोडफोड, आगाजनी र सम्पूर्ण व्यवसायीहरुका सरसामान लुट्ने काम भएको छ। अहिलेसम्म सरकारले पीडितहरुलाई बोलाएर छलफल गरेको छैन,’ उनले भने, ‘उल्टो जसले त्यो गलत काम, हर्कत गरेको छ उनीहरुकै कुरा सुनेर सरकारले निर्दोषलाई प्रहरी कस्टडीमा राख्ने काम गरेको सुन्नमा आएको छ।’ 

भण्डारीले गंगबु क्षेत्रमा भएको लुटपाटको घटनामा संलग्न जो सुकै भए पनि सरकारले कारबाहीको दायरमा ल्याएर पीडित ब्यपारीलाई क्षतिपूर्ति दिनुपर्नेमा जोड दिए। 

‘तत्काल अपराधीहरु जो सुकै, जनु सुकै तहका किन नहुन, पार्टीसँग जोडिएका किन नहुन् कारबाहीको दायरमा ल्याइ पीडितहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नका लागि हार्दिक आग्रह गर्न चाहन्छु,’ उनले भने। 

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले प्रहरी परिचालन प्रभावकारी नहुँदा क्षति भएको देखिएको बताए। उनले राजनीतिक पूर्वाग्रह नराखी लुटपाटको घटनाका योजनाकार र सहभागीलाई कारबाहीको दायरामा ल्याउन र व्यवसायीलाई क्षतिपूर्ति दिन माग गरे। 

‘सुनियोजित हिसाबले मजदुर आन्दोलनको नाममा गंगबु बसपार्कभित्र रहेको ल्होत्से र कान्तिपुर मलमा तोडफोड गरिएको छ भने अर्बौंको क्षति भएको छ। प्रहरी परिचालन प्रभावकारी नहुँदा नहुनु पर्ने क्षति भएको देखिन्छ,’ खनालले भने, ‘धन्न स्थानीयले नजिकैको पेट्रोल पम्प जलाउन रोकाए। कुनै पनि राजनीतिक आग्रह नराखी यस घटनाका योजनाकार र सहभागीलाई तुरुन्त कारबाहीको दायरमा ल्याइयोस्। व्यवसायीलाई आवश्यक क्षतिपूर्ति र निर्धक्क व्यवसाय गर्न सक्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’ 

रास्वपाका अर्का सांसद श्रेष्ठले असन्तुष्टि व्यक्त गर्न पाइए पनि अराजक हुन नपाइने बताए। उनले लुटपाटका दोषीहरुलाई सीसीटीभी र अन्य रेकर्डेड माध्यम हेरेर भए पनि कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरे। 

‘असन्तुष्टि व्यक्त गर्न पाइन्छ तर, अराजक हुन पाइन्न। व्यापारीहरु त्यसै त आर्थिक मारमा परेर विस्थापित हुँदैछन्। त्यसमाथि अमानवीय लुटपाट,’ श्रेष्ठले भने, ‘दोषीहरुलाई सीसीटीभी र अन्य रेकर्डेड माध्यम हेरेर भए पनि कडाभन्दा कडा कारबाहीको माग गर्दछु।’ 

उनले यातायात मजदुरहरुका जायज मागहरुलाई पनि तत्काल सम्बोधन गर्न जरुरी रहेकोमा पनि जोड दिए। 

‘तत्कालै दोषीहरुलाई कारबाही गर्न जरुरी छ। सँगसँगै यातायात मजदुरहरुको जायज मागहरुलाई पनि तत्काल सम्बोधन गर्न जरुरी छ,’ सांसद श्रेष्ठले भने, ‘कलप्रिट को हुन्, मजदुर को नाउमा गैरमजदुर प्रवेश गरेका हुन् कि उच्छृखल प्रवृति शक्तिको आडमा त्यो क्रियाकलपामा संलग्न भएका छन् कि त्यसको अर्था छानबिन गरेर निष्पक्ष ढंगबाट न्याय निरुपण गर्ने जिम्मेवारी सरकारको हो। तत्कालै परिणाम आउने गरेर त्यो काम सम्पन्न होस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad