नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन भत्किन सक्ने आशंका व्यक्त गरेका छन्।
मंगलवार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धन भत्किनेप्रति आशंका व्यक्त गरेका हुन्।
उनले संसदको बनावट अस्थिरताको कारक हुनेखालको रहेको भन्दै गठबन्धन भत्किनेप्रति शंका व्यक्त गरेका हुन्।
ओलीले देशभित्र र बाहिरका शक्तिहरु देशलाई बर्बाद पार्न लागेका बताए। एमाले देशलाई बर्बाद पार्नबाट रोक्ने गेटपाले भएको भन्दै उनले सबैभन्दा पहिले एमालेलाई प्रहार हुनसक्ने बताए।
उनले देशमा स्थिरता र स्थायित्व हुन नदिका लागि अनेक प्रकारका षड्यन्त्रहरु भइरहेका बताए।
‘अहिले साथीहरु काफी प्रसन्न भएको देख्छु म। हामीले पाँचदलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ। यो सफलताको कुरा हो। तर हाम्रा आमरुपमा पार्टीका साथीहरु प्रसन्न भएको देखिन्छ। प्रसन्न हुनुपर्छ। तर कथम् कदाचित यो स्थिति फेरियो भने? संसदको बनावट नै अस्थिरताको कारक हुने छ। बहुमत कसैको छैन', उनले भने, 'हाम्रो पार्टीसँग बहुमत छैन। हामीसँग बहुमत भन्दा निकै तल सिट छ। अनेक प्रकारका शक्तिहरु देश बर्बाद पार्न क्रियाशील छन्।'
ओलीले सत्ता प्राप्तिका लागि लत्रिएर एमाले कसैसँग नमिल्ने पनि बताएका छन्। ‘सत्ता प्राप्ति र सत्ता टिकाउन राष्ट्रिय हित र गौरवलाई छोडेर लत्रिएर त्यसरी एमाले जाँदैन', उनले भने,'एमाले राष्ट्रियताको साँचो र रक्षक पनि हो।’
Shares

प्रतिक्रिया