झलनाथ खनालले देशमा शोषक वर्ग र भ्रष्टाचारीहरुको कमी नभएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
पूर्वप्रधानमन्त्री खनालले नेपालमा दलाल पुँजीपति, शोषकहरु, कमिसन खोरहरु, भ्रष्टाचारी, मुनाफा खोरी र विदेशीहरुका दलालहरु रहेको बताए।
‘अहिले हामीसँग दलाल पुँजीपतिहरु छन्, शोषकहरु छन्, कमिसन खोरहरु छन्, भ्रष्टाचारीहरु छन्, मुनाफा खोरीहरु छन्। विदेशीहरुका दलालहरु छन्। यी हाम्रा शत्रुहरु हुन्’, खनालले भने, ‘यिनीहरुले जे क्रियाकलाप गरिरहेका छन्, यो राष्ट्रलाई विनाश गर्ने, जनतालाई भुलाउने, राष्ट्रलाई लुट्ने काम गरिरहेका छन्। यो उनीहरुको लुटपाटको बिरोध र भण्डाफोर गर्ने काममा हामी सांस्कृतिककर्मीहरु सबैभन्दा अग्रपंक्तिमा उभिनुपर्छ।’
उनले यस्ता व्यक्ति नेपालीहरुका शत्रु रहेको उल्लेख गर्दै यिनीहरुले गरेको क्रियाकलापले राष्ट्रलाई विनाश गर्ने पनि बताए।
जनतालाई भुलाउन र राष्ट्रलाई लुट्ने काम भइरहेको भन्दै उनीहरुको लुटपाटको बिरोध र भण्डाफोर गर्ने काममा लाग्नुपर्ने उनको भनाइ छ।
‘हाम्रा सहयोगी मित्रहरु पनि छन्। यी साथीहरुसँग आलोचना र समर्थनको दृष्टिकोणले हेर्नुपर्छ। नराम्रालाई मैत्रीपूर्ण आलोचना र राम्रालाई समर्थन गर्नुपर्छ’, उनले भने, ‘हामीले समाजवादी संस्कृतिको निर्माण गर्ने सिलसिलामा नयाँ कविता रच्नुपर्छ। नयाँ कथाहरु बनाउनुपर्छ। नयाँ उपन्यास, महाकाव्य लेख्नुपर्छ र सांस्कृतिक आन्दोलन अघि बढाउनुपर्छ।’
पूर्वप्रधानमन्त्री खनालले समाजवादी सांस्कृतिक आन्दोलनलाई अघि बढाएर मात्रै समाजमा भएका विकृति र विसंगतिलाई हटाउन सकिने बताए।
Shares

प्रतिक्रिया