राजनीति


माओवादीको भविष्य उज्ज्वल छ, फेरि उचाइका साथ अघि बढ्छौं : प्रचण्ड

माओवादीको भविष्य उज्ज्वल छ, फेरि उचाइका साथ अघि बढ्छौं : प्रचण्ड

नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड। तस्बिर: प्रधानमन्त्रीकाे सचिवलाय।


नेपालखबर
माघ २८, २०७९ शनिबार १५:३६, काठमाडौँ

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको भन्दै पार्टीको भविष्य उज्ज्वल भएको दाबी गरेका छन्।

शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। 

‘निर्वाचनपछि हामीले सरकारको नेतृत्व गर्ने अवसर पाएका छौँ। यो हाम्रा लागि चुनौतीपूर्ण अवसर हो। यसको भरपुर सदुपयोग गरेर देश र जनताका निम्ति राम्रो परिणाम दिनैपर्दछ’, उनले भने, ‘एक्लो प्रधानमन्त्रीले मात्रै गरेर सबै चीज हुँदैन, केन्द्र, प्रदेश र स्थानीय तहका सरकार सबैले राम्रो गर्दा देशमा राम्रो परिणाम आउँछ। पार्टीका पनि सबै नेता–कार्यकर्ताले जनताको हितअनुसार काम गरेर देशलाई परिणाम दिनैपर्छ।’

सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको पहिलो प्राथमिकता रहेको प्रधानमन्त्रीको भनाइ छ। 

‘यो लक्ष्य हासिल गर्न सिंगो देशलाई एकतावद्ध बनाएर लैजानुपर्छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘पार्टीको स्थायी समिति बैठकले सरकारलाई प्रभावकारी बनाउन पार्टीको तर्फबाट भूमिका खेल्ने निर्णय गरेको छ। पार्टीको २ महिने संगठनात्मक अभियान चलाउँदैछौँ। जनता र कार्यकर्ताका कुरा सुनेर आउन भनिएको छ। अर्कोतिर पार्टी एकता र समाजवादी मोर्चाको तयारी गरिरहेका छौँ। सम्भव हुने पार्टीहरूसँग तत्काल पार्टी एकता गर्छौं, तत्काल एकता सम्भव नहुने पार्टीहरूसँग समाजवादी मोर्चा बनाएर एकताको आधार तयार पार्छौं।’

अहिले पनि अप्ठ्यारा र चुनौतीहरू रहेको उनको बुझाई छ।

‘अहिले पनि अप्ठ्याराहरू छन्, चुनौतीहरू छन्। ती सबैलाई हामी छिचोल्छौँ र अगाडि बढ्छौँ। अर्को निर्वाचनसम्म जाँदा हाम्रो पार्टी फेरि शक्तिशाली भएर आउँछ। देशको बैकल्पिक शक्ति हामी नै हौँ भन्ने तथ्य परिणामबाट पनि स्थापित हुन्छ। त्यसरी हेर्दा मैले माओवादी पार्टीको भविष्य उज्वल नै देखिरहेको छु, हामी फेरि उचाइका साथ अघि बढ्छौँ।’ उनले भने। 

माओवादी नेतृत्व नै सर्वमान्य नेतृत्व प्रधानमन्त्री प्रचण्डले पुस २६ मा प्रतिनिधिसभाबाट प्राप्त मतले माओवादी आन्दोलनलाई न्याय भएको पनि उनले बताए। 

‘पुस २६ को प्रतिनिधिसभामा जुन विश्वासको मत प्राप्त भयो। त्यो इतिहासकै अभूतपूर्व रह्यो। त्यसले माओवादी आन्दोलनप्रति न्याय भएको छ, यसको नेतृत्वप्रति न्याय भएको छ। त्यो मत प्रधानमन्त्रीलाई प्राप्त मत मात्र होइन, परिवर्तनको नीति र नेतृत्वलाई प्राप्त मत हो। यसले उत्पीडित वर्त, जाति, क्षेत्र, लिंगप्रति पनि न्याय भएको मैले महसुस गरेको छु।‘ प्रधानमनत्री प्रचण्डले भने। 

संसदमा झण्डै शतप्रतिशत मत प्राप्त गर्नु सामान्य नभएको भन्दै यसको ऐतिहासिक महत्व रहेको उनले बताए। 

‘यसको ऐतिहासिक महत्व छ। भोलि कसरी जान्छ अहिल्यै भन्न सकिँदैन। तर, एउटा इतिहास त लेखियो। यसलाई कसैले मेट्न वा उल्टाउन सक्दैन। त्यसले के प्रमाणित गरेको छ भने माओवादी नेतृत्वले मात्र देशलाई एकतावद्ध गर्नसक्छ, सबै दलहरूलाई मिलाएर लैजान सक्छ। माओवादी नेतृत्वले मात्र राष्ट्रिय सहमति कायम गर्न सक्छ। त्यसैले हाम्रो आन्दोलन र नेतृत्व देशको सर्वमान्य भएको छ।’ प्रधानमन्त्री प्रचण्डले भने।

‘उत्पीडितहरू नजागी कसैले दयाले अधिकार दिँदैन’
बैठकलाई सम्वोधन गर्दै प्रचण्डले आफ्नो अधिकार प्राप्तिका लागि उत्पीडितहरू नै अग्रसर हुनुपर्ने बताए। 

‘हिजो ठूलो आन्दोलन र बलिदानी गर्‍यौँ। त्यसको बलमा धेरै अधिकार प्राप्त भएका छन्। त्यो पर्याप्त छैन, तर ती केही पनि होइनन् भन्ने होइन। अहिले फेरि परिवर्तनविरोधी शक्तिहरू जनताका अधिकार कुण्ठित गर्न लागिरहेका छन्। उत्पीडितहरू आफै नजागी, आफै अग्रसर नभइकन दयाले कसैले अधिकार दिँदैन।’ प्रधानमनत्री प्रचण्डले भने।

दलित समुदायको संघर्ष र भूमिकाबिना राजनीतिक परिवर्तन सम्भव नभएको उनले स्मरण गरे। 

‘नेपालको क्रान्तिकारी आन्दोलनमा दलितहरूको महत्वपूर्ण छ’, प्रधानमन्त्रीको भनाई छ, ‘शान्तिप्रक्रियामा आएपछि हाम्रो विचार र संस्कृतिमा स्खलन, हिजोका क्रान्तिकारी निर्णय र संस्कारबाट हामी पछाडि फर्केजस्तो अनुभूति हुन्छ। प्रगतिशील संस्कारहरू मिचिएका छन्। सामन्ती पितृसत्तात्मक सोंच ब्यूतिन खोज्दैछ, पूरानो वर्ग र सत्ता आफू फेरि हावी हुन कोशिस गरिरहेको छ। यसलाई रोक्न उत्पीडितहरू जागरूक हुनैपर्छ। आफ्नो अधिकार प्राप्तिका लागि योगदान गर्ने पार्टी, नीति र नेतृत्वको पक्षमा उभिनुपर्छ।’

बैठकमा प्रधानमन्त्रीले सरकारको नीति, कार्यक्रम र बजेटमा दलितहरूका माग र मुद्दा सम्वोधन गर्न सरकारले उच्च प्राथमिकता दिनेसमेत बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad