नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले आफूहरुले लडेर ल्याएको अहिलेको संघीय र गणतान्त्रिक व्यवस्थाविरुद्ध संसदमै विष बमन हुन थालेको बताएकी छन्।
बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएकी हुन्।
पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले संघीयताविरोधी कुरा संसदमै बोलिरहेका बेला रामकुमारीको यस्तो टिप्पणी आएको हो। रामकुमारी २०६२/६३ मा भएको दोस्रो जनआन्दोलनका क्रममा अग्रमोर्चामा थिइन्।
'संसदमा अहिले जात्रा छ। अनेकौँको बलिदानले ल्याएको व्यवस्थाविरुद्ध विष बमन भइरहेको छ। हामीले लडेर ल्याएको यो व्यवस्थाविरुद्ध जथाभावी बोलिरहेका छन्', उनले भने, 'यो कुरा दलभित्र सही प्रणाली स्थापित नहुँदा आएको हो। त्यहीकारण विक्षिप्त भएको र बहिष्कृत भइसकेको जनमत अहिले स्विङ भएर संसदमा आएको छ।'
उनले यो व्यवस्था ल्याउन आफूहरुले हामीले जेल नेल सबै भोगेको बताइन्। 'हामीलाई मिडियाप्रति विश्वास छ। तर हामीले डेमोक्रेशीलाई अराजकतातिर लग्यौँ कि', उनले भनिन्, 'हामीले यो व्यवस्थालाई सही रुपमा अघि नबढाउने हो भने मनपरी बोल्ने क्रम बढ्छ।'
प्रतिक्रिया