ad ad

राजनीति


प्रचण्डलाई अल्टिमेटम दिएको रास्वपाले बोलायो बैठक, एजेन्डा सरकार

प्रचण्डलाई अल्टिमेटम दिएको रास्वपाले बोलायो बैठक, एजेन्डा सरकार

फाइल तस्बिर


नेपालखबर
माघ १९, २०७९ बिहिबार १२:३९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा रहने-नरहने निर्णय गर्ने प्रस्ताव तयार पारेर केन्द्रीय समितिको बैठक राख्ने तयारी गरेको छ।

महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले बैठक आजै (बिहीबार) साँझ बोलाउने तयारी भइरहेको र सभापति रवि लामिछानेसँग परामर्श भइरहेको जानकारी दिए।

नेपाली नागरिकता प्रमाणपत्र नभएपछि १३ माघमा सर्वोच्च अदालतले रविको सांसद पद खारेज गरेको थियो।

सांसद पद खारेजीसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद्‍मा उपप्रधान एवम् गृहमन्त्री रहेका रविको सबै जिम्मेवारीबाट हटेका थिए।

१५ माघमा नेपाली नागरिकता पुनप्राप्ति गरेपछि रविले आफूलाई गृहमै जिम्मेवारी दिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।

तर, सर्वोच्चको फैसलाको पूर्णपाठ नआएको, रविको दोहोरो राहदानी राखेर दुरुपयोग गरेको मुद्दाको अन्तिम किनारा नलागेकोले रविलाई कुनै हालतमा फेरि मन्त्रालयमा नल्याउन प्रधानमन्त्रीलाई पार्टीभित्रैबाट दबाब छ।

गृहमा फर्काउन प्रधानमन्त्रीले नचाहेको संकेत पाएर रास्वपा सभापति रवि लामिछानेले १७ माघको साझसम्म निर्णय नगरे सरकारबाट बाहिरिने अल्टिमेटम दिएर बालुवाटारबाट निस्किएका थिए।

रविले प्रधानमन्त्रीलाई दिएको अल्टिमेटम ७२ घण्टा भइसकेको छ तर, अहिलेसम्म पनि सरकारबाट बाहिर निस्किएको छैन।

उता प्रधानमन्त्रीले गृहमन्त्रालय आफैँसँग राख्ने बताएका छन्। 

महामन्त्री एवम् प्रवक्ता डा. ढकालले प्रधानमन्त्रीले कुनै जवाफ नपठाएकोले बैठक बसेर निर्णय गर्न लागेको बताए।

‘प्रधानमन्त्रीले गृहमन्त्रीमा अर्को नाम पठाउनु पनि भन्नुभएन, हाम्रो सभापतिलाई पनि पुनः नियुक्त गर्नुभएन,’ ढकालले नेपालखबरसँग भने, ‘अब हामी सरकार छोड्नुपर्ने निष्कर्षमा पुगेर बैठक बोलाउन लागेका हौँ।’

केन्द्रीय समिति बैठकमै छलफल गरेर मात्र यसबारे निर्णय गर्ने उनले दाबी गरे।

‘आगामी राजनीतिक र समसामयिक विषय राखेर सरकारमा रहने कि छोड्ने प्रस्ताव लैजान्छौं,’ उनले थपे, ‘त्यही निर्णय गरेर अघि बढ्छौँ।’

तर, रास्वपाका नेताहरुले सभापति रविको बाहेक अन्य नेताको नाम लिएर प्रधानमन्त्रीसँग छलफल गर्नुपर्ने सुझाव दिएका छन्।

रविकै कारण पार्टीमा समस्या भएको भन्दै केही सांसदहरु पनि फरक सांसदलाई जिम्मेवारी दिनुपर्ने पक्षमा उभिएपछि सभापति रविमाथि दबाब छ।

त्यही भएर उनले बुधबार दिनभर जसो कानुनविद्, अभियन्ता र सम्बन्धित विज्ञसँग छलफल गरेका छन्।

रविले केही सांसदहरुलाई –‘छलफलमै छु, रिजल्ट आउँछ होला,’  भन्ने जवाफ दिएका थिए।

रविलाई गृहमै फर्काउन एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका थिए। 

सत्ता साझेदार दलबाटै भएको दबाबले समेत प्रधानमन्त्री प्रचण्ड रविलाई गृहमा फर्काउन तयार नभएपछि रास्वपाले बैठक राखेर सरकारमा नरहने निर्णय गर्न लागेको हो।

तर, केन्द्रीय समितिको बैठकमा रवि एक्लै पर्ने स्रोतले जनाएको छ।

‘अहिलेको समस्या भनेको रविजीलाई नै गृहमन्त्री बनाउनुपर्ने कुराले निम्त्याएको हो,’ एक सांसदले नेपालखबरसँग भने, ‘रास्वपामा अरु १९ जना सबै मन्त्री बन्न योग्य छन्। एकजना विवादमा परेपछि किन उनैलाई मन्त्री बनाउन दबाब दिनुपर्‍यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .